काँग्रेसको द्विविधाः चुनावको तयारी गर्ने कि संसद् पुनःस्थापनाको दबाब दिने ?

डिसी नेपाल
१२ पुष २०७७ २१:१०

काठमाडौं। संसद् विघटनपछि प्रमुख प्रतिपक्षी दल काँग्रेस संसद् विघटनलाई हेर्ने दृष्टिकोणबारे द्विविधामै रहेर सडक प्रदर्शन गर्ने अवस्थामा पुगेको छ। सोमबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसले संसद् विघटनको विरोधमा प्रदर्शन गर्दै छ। यसका लागि नेताहरु खटिसकेका छन्। स्वयम पार्टी सभापति शेरबहादुर देउवा भक्तपुरको विरोधसभामा सहभागी हुँदैछन्।

ओली सरकारले संसद् विघटन गरेपछि पुस ५ मै पदाधिकारी बैठक बसेर संसद् विघटनलाई असंवैधानिक कदम भनियो। त्यसपछि पुस ७ मा शुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा भने काँग्रेसमा संसद् विघटनबारे लिने नीति र रणनीतिमा काँग्रेस प्रष्टरुपमा दुई भागमा विभाजित भयो।
सभापति शेरबहादुर देउवा संसद विघटनलाई असंवैधानिक भन्ने तर, पुनःस्थापना र सडक प्रदर्शन नजाने दोहोरो नीतिमा अडिग रहे। असंवैधानिक भनिसकेपछि सडक प्रदर्शनमा गएर पुनःस्थापानाका लागि दबाब दिनुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल देखिए।

सभापति देउवाको अन्यौलपूर्ण नीतिकाबीच पार्टीको बैठकले १३ पुसमा सडक प्रदर्शन गर्ने निर्णय गर्यो। सभापति देउवाले बाध्य भएर यो निर्णय गरेका थिए। किनकी पदाधिकारी बैठकमै उनले संसद् विघटनलाई असंवैधानिक भनेर निर्णय गराइसकेका थिए।

असंवैधानिक कदमको सडकमा प्रदर्शन गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइमा दम थियो। पदाधिकारी बैठकबाट फसिसकेका देउवाले पौडेललाई चित्तबुझ्ने गरी सडक प्रदर्शन गर्नुनपर्ने जवाफ दिन सकिने स्थिति बनेन्। र यसमा गगन थापाहरुको सडक प्रदर्शनमा जानुपर्छ भन्ने जबरजस्त अडा रह्यो। थापा त पुस ५ मै सडकमा पुगेर विरोध जनाइसकेका थिए।

विरोधाभासकाबीच सोमबार हुन लागेको काँग्रेसको प्रदर्शनमा नेताहरुको भाषणमा एकरुपता नपाउने अवस्था बनेको छ। किनकी सभापति देउवा बाध्यताले प्रदर्शनको निर्णय गर्न पुगेका हुन् भने पौडेलको चाहाना अनुसार नै प्रदर्शनको निर्णय भएको हो।

त्यसैले काँग्रेस सडकमा त ओर्लिँदै छ तर, कुन माग लिएर ? यसको जवाफ काँग्रेसका कुनै पनि नेतासँग छैन। तर, पार्टी केन्द्रीय सदस्य गुरुराज घिमिरे भन्छन्, ‘सोमबार काँग्रेसले विरोध प्रदर्शन गर्ने हो, आन्दोलन गर्ने होइन। त्यसैले यो माग भन्ने हुने कुरा भएन। संसद् विघटन असंवैधानिक हो, त्यसैको विरोधमात्र हुन्छ।’

सभापति देउवाको लोभ

संसद् विघटनबारे काँग्रेसले प्रष्ट धारणा सार्वजनिक नगर्नुको पछाडि सभापति देउवाको लोभले काम गरेको छ। अहिले सातवटै प्रदेश र संसदमा काँग्रेसको कमजोर उपस्थिति छ। तत्कालिन एमाले र माओवादीबीच गठबन्धन हुँदा २०७४ को आम निर्वाचनमा काँग्रेसले ठूलो क्षति व्यहोरेको थियो। त्यसैले वर्तमान संसदप्रति देउवालाई कुनै मोह छैन। अर्कोतर्फ अहिले नेकपा विभाजित बनेको छ।

स्वयम प्रधानमन्त्री केपी शर्मा ओलीको पनि लोकप्रियताको ग्राफ घट्दो अवस्थामा छ। त्यसैले यस्तो अवस्था काँग्रेसका लागि चुनावमा जानु अनुकुल हुने देउवाको बुझाई छ। वैशाख १७ र २७ का लागि तोकिएके आम निर्वाचनमा काँग्रेसले जित हात पार्ने उनको आकलन छ। त्यसैले सभापति देउवा संसद पुनःस्थापनाको मागसँग भन्दा चुनावको तयारीमा लाग्न कस्सिएका छन्। तर, पौडेलहरुको जबरजस्त अडानका अगाडि देउवा बाध्य भएर सडकमा जाँदैछन्।

चुनाव नै नहुने आशंका

सभापति देउवाले चुनाव हुने र काँग्रेसले जित्ने आकलन गरिरहँदा वरिष्ठ नेता पौडेल र गगन थापाहरु भने यो सरकारे वैशाखमा चुनाव गराउनेमै विश्वस्थ छैनन्। आइतबार साँझ समाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै गगन थापाले यो सरकारले चुनाव नगारउने र चुनाव नभए यो संविधान नै कोल्याप्स हुने अवस्था आउने भन्दै काँग्रेसले चुनावका लागि लोभिनुभन्दा लोकतन्त्रको रक्षाका लागि सडकमा आर्लिनु परेको बताएका छन्।

वरिष्ठ नेता पौडेलले शनिबार सोमबारको प्रदर्शनमा सहभागी हुन अपील जारी गर्दै असंवैधानिक कदमबाट संसद विघटन भएको भन्दै संसद् पुनःस्थापनाका लागि दबाब दिनुपर्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *