सरकार र आन्दोलनरत उखु किसानबीच वार्ता हुँदै
काठमाडौं। सरकार र आन्दोलनरत उखु किसानबीच आज (सोमबार) वार्ता हुने भएको छ। विगत १६ दिनदेखि उखुको बक्यौता भुक्तानीको माग राखी आन्दोलनरत उखु किसानसँग वार्ता हुन लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले जानकारी दिए।
प्रवक्ता रेग्मीले किसानहरुलाई छलफलका लागि बोलाइएको र उनीहरुको मागप्रति सरकार सकारात्मक रहेको बताए। उद्योगीले भुक्तानी गरिरहेकोले निर्णायक वार्ता हुन सक्ने उनको भनाइ छ।
सरकारले विभिन्न चरणमा वार्ता गरेपनि उखु किसानसँग सहमति भने हुन सकेको छैन्। विभिन्न समयमा भुक्तानीकालागि सहमति र सम्झौता भएको तर आफुले भुक्तानी पाउन नसकेको भन्दै यो पटक उखु किसानले निर्णायक आन्दोलन गर्ने बताउँदै आएका छन्। सबै भुक्तानी तत्काल पाउनु पर्ने उनीहरुको बटमलाइन छ।
उद्योग मन्त्रालयले वार्ताका लागि बोलाएको र आफूहरुको मागप्रति सकारात्मक सङ्केतसमेत आएकाले दिउँसो तीन बजेपछि वार्तामा जाने उखु किसान सङ्घर्ष समितिका संयोजक राकेश मिश्रले बताए।
उद्योगीले दिएको भुक्तानीको सबै विवरण मन्त्रालय र किसानलाई दिनुपर्ने उनीहरुको माग छ। विवरणमा किसानको नाम, बुझाएको परिमाण, दररेट, भुक्तानी भएको रकम स्पष्ट खुलाउन माग गरेका छन्। विवादित रकमको लागि भने छानबिन समिति गठन गर्नुपर्ने उनीहरुले बताएका छन्।
सरकारले उखु किसानलाई ६५ करोड भुक्तानी दिने बताएको छ तर किसानले भने ९० करोडभन्दा बढी भुक्तानी बाँकी रहेको बताउँदै आएका छन्।
Facebook Comment