चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा सक्रिय, नेकपा फुटबाट जोगिएला ?

डिसी नेपाल
१३ पुष २०७७ १३:४२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गेओ यझाउबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहका डा. राजन भट्टराईले जानकारी दिए।

प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गेओले राष्ट्रपति सि जिनपिङले नयाँ वर्ष २०२१ को अवसरमा पठाएको शुभकामना सन्देश सुनाएका थिए। सन्देशमा राष्ट्रपतिले पछिल्लो समय नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध गहिरो र फराकिलो भएकोमा खुशी व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमि चीन विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका थिए। प्रधानमन्त्री ओलीले चीनबाट उच्चस्तरीय भ्रमण हुनुबाट दुई देशबीचको सम्बन्ध झन प्रगाढ बन्ने प्रधानमन्त्री ओलीले विश्वास गरेका थिए।

कम्युनिष्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गेओ यझाउ चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार काठमाडौं आएका थिए। उनले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेका छन् भने सोमबार विहानै प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

सत्तारुढ दल नेकपा दुई समूहका विभाजित भएपछि चीनले नेकपा विभाजनबाट रोक्ने चीनले अन्तिम कसरत गर्दै आएको छ।  अहिले नेकपा दुई गुटमा विभाजन भएको छ। दुबै गुटले ‘विभाजन’ शब्दको उच्चारण नगरे पनि दुबै गुटका नेकपाले छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बोलाउनेदेखि वडा तहसम्म प्रशिक्षण कार्यक्रमहरु गरिरहेका छन्।

नेकपाको एक गुटको नेतृत्व प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले गरेका छन् भने अर्को गुटको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरेका छन्।

पार्टीको आन्तरिक विवादलाई कारण देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि प्रचण्ड–माधव समूहले ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको थियो। त्यसपछि ओली नेतृत्वको नेकपाले पनि प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षबाट हटाएको थियो।

नेकपा विभाज भएपछि काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्ड, माधवकुमार नेपाल र कृष्णबहादुर महरालाई समेत भेटेक थिइन्। तर, उनको यो भेटले सफलता नपाएपछि आकस्मिकरुपमा चिनियाँ उच्च अधिकारी काठमाडौं आइपुगेका हुन्। राजदूत यान्छी आफूले नेकपाको विभाजन रोक्न सफलता नपाएपछि उच्च चिनियाँ अधिकारीलाई बोलाएको चर्चा छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *