कांग्रेस चुनावबाट भाग्न चाहँदैनः नेता थापा

डिसी नेपाल
१३ पुष २०७७ २२:४३

नेपालगञ्ज । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन्।

प्रतिनिधिसभा विघटनको विरुद्धमा सोमबार नेपालगञ्जमा भएको कांग्रेसको विरोधसभामा उनले भने, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर गरिने कुनै पनि निर्णयलाई मान्न सकिँदैन ।”

प्रदेशसभा सदस्य मोहम्मद याकुब अंसारी, बाँके कांग्रेसका अध्यक्ष किरण कोइराला, नगर समिति अध्यक्ष प्रशान्त विष्ट र रमेश गुप्ताले मुलुकको वर्तमान राजनीतिको विविध पक्षमाथि प्रकाश पारे ।

संसद् विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ। काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरमा विरोधसभालाई सम्बोधन गरे भने वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा विरोधसभालाई सम्बोधन गरे।

नेकपाको आन्तरिक विवादका कारण केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ मा संसद् विघटन गरेर वैशाखमा मध्यावधि चुनावको घोषणा गरेपछि संसद् विघटनलाई असंवैधानिक भन्दै काँग्रेसलगायत दलहरुले विरोध गरिरहेका छन्। संसद् विघटनको विरोध गर्ने अन्य दलहरुले संसद् पुनःस्थापनाको माग गरे पनि काँग्रेसले भने त्यस्तो भनेको छैन।

यसैगरी सोमबारै बाँकेको क्षेत्र नं १ को कोहलपुरमा र ३ को खजुरामा पनि कांग्रेसले विरोधमा प्रदर्शन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *