कोभिडले बढायो मोबाइलको माग

डिसी नेपाल
१४ पुष २०७७ ६:२०

काठमाडौं। कोभिड–१९ का कारण समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव परे पनि मोबाइलको बजार भने उकासिएको छ । कोभिडका कारण प्रभावित अन्य कतिपय व्यवसाय अझै सामान्य अवस्थामा फर्किसकेका छैनन् । तर महामारीकै बीच मोबाइलको माग तथा व्यापार बढ्दै गएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष ९आव०को पहिलो ५ महीनामा साढे १७ अर्ब रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ । सो अवधिमा रू। १७ अर्ब ६४ करोडको मोबाइल फोन आयात भएको विभागको तथ्यांक छ, जुन गत आवको यही अवधिको तुलनामा साढे ७ अर्बले बढी हो । गत आवको मङ्सिर मसान्तसम्ममा १० अर्ब ६७ करोड रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको थियो।

सरकारले कोरोना नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि देशभर बन्दाबन्दी लगाएपछि मोबाइल बजार पनि प्रभावित भएको थियो । असारदेखि बन्दाबन्दी खुकुलो भएपछि भने मोबाइल ग्याजेटको माग एक्कासि बढ्न थाल्यो । यद्यपि असारमा बन्दाबन्दी पूर्ण खुकुलो भइनसकेको र भदौ शुरूदेखि तेस्रो सातासम्म निषेधाज्ञा लागू भएकाले मागअनुसार मोबाइल आयात गर्न नसकिएको व्यवसायी बताउँछन् । त्यसयता मागअनुसार मोबाइल फोन आयात भइरहेको नेपाल मोबाइल फोन आपूर्ति संघका अध्यक्ष दीपक मल्होत्राले बताए ।

मल्होत्राका अनुसार कोभिड–१९ पछि बन्दाबन्दीका कारण घरमै बन्द हुनुपर्दा साधारण फिचर फोन चलाउनेले पनि समय कटाउन स्मार्ट फोन खरीद गर्न थाले । यस्तै भर्चुअल छलफलका लागि पनि स्मार्टफोनको माग बढेको हो । अवैध आयात बन्द भएकाले पनि बजारमा मोबाइल फोनको माग बढेको उनको भनाइ छ ।

२ वर्षअघि सरकारले मोबाइल सेट आयातमा भ्याट फिर्ताको सुविधा खारेज गरेपछि यो व्यवसाय प्रभावित भएको थियो, जसकारण आर्थिक वर्ष २०७४र७५ को तुलनामा २०७५र७६ मा मोबाइल फोनको आयात घटेको थियो । आर्थिक अभियान दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *