अन्तर्राष्ट्रिय शक्ति राष्ट्रको खेल मैदान बन्दै नेपाल

डिसी नेपाल
१४ पुष २०७७ १२:३०

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपालमा उत्तरी छिमेकी चीनको चासो बढेको छ।

नेपालका लागि चिनियाँ राजदूत हो यान्छीले सक्रियतापछि आइतबार चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभागका उपप्रमुख क्वो यचौको नेतृत्वमा आएको चार सदस्यीय प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव नेपालसहित झलनाथ खनालसँग भेट गरिसकेको छ। नेकपा राजनीतिक रूपमा विभाजित भएको बेला नेपाल आएको चिनियाँ प्रतिनिधि मण्डलले अन्य नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएको छ।

सत्तारुढ दल नेकपा विभाजन र मिलनबिन्दुको खोजीमा चिनियाँ प्रतिनिधिमण्डलले सबै भेटमा चासो राखेको छ। राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म र प्रचण्डदेखि झलनाथ खनालसँगको भेटमा पनि चिनियाँ प्रतिनिधिमण्डलले नेकपा विभाजनको मिलनबिन्दू के हुन सक्छ भनेर चासो राखेको छ।

२०७४ सालको संसदीय निर्वाचनपछि केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नेकपाको सरकारपछि नेपालमा चिनियाँ उपस्थिति देखिने गरी हुन थालेको छ।

चिनियाँहरूको यो भ्रमणले नेकपा विभाजनलाई टार्न सक्ने हो वा होइन त्यो त आगामी घटनाक्रमले पुष्टि गर्दै लानेछ। तर, यतिबेला चिनियाँ टोलीको काठमाडौं दौडधुप भने अर्थपूर्ण रूपमा लिइएको छ। चीनका रक्षामन्त्री वेई फेंगेले नेपाल भ्रमण गरेको महिना दिन नबित्दै चीनका नेताहरूको पछिल्लो नेपाल भ्रमण र चासोलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भारतीय हस्तक्षेपबाट आजित भएका नेपालीले चिनियाँ उपस्थितिलाई सुरुमा स्वभाविक रुपमा लिएपनि पछिल्लो समयको चिनियाँ चासोलाई भने अस्वाभाविक मान्न थालेका छन्। अहिले चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमणलाई लिएर पनि सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेको छ।

मंगलबार विहान राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीटरमा ट्विट गर्दै लेखेका छन्, ‘मैले नबुझेको हो वा बढी बुझेको हो,थाहा छैन चिनियाँ कम्युनिष्ट पार्टीले झै अन्तरराष्ट्रिय भाईचारा भन्दै भारतीय कंग्रेसले नेपाली कंग्रेस र भाजपाले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दवाव,प्रभाव,हस्तक्षेप दिनथाले नेपालको स्वाभिमानरसार्वभौमिकतारजनताको निर्णायकत्वको के हाल होला?’

राजनीतिक विश्लेषक श्याम बस्नेत नेपालमा अहिले जनवादी र बहुदलबादीबीचको संघर्ष चलिरहेको बताउँछन्। ‘अहिलेको नेपालको राजनीतिमा चीन एकतारित छ, भारत र अमेरिका अर्को तिर छ, यो सबैलाई जगजाहेर भएको विषय हो,’ बस्नेतले डिसी नेपालसँग भने, ‘यी मध्ये चीन, पाकिस्तान र टर्की एकातर्फ देखिन्छ। जबसम्म जनवाद र बहुदलबाद भन्ने विषयमा भारत, चीन र अमेरिकाबीच एक प्रकारको सहमति भएपछि मात्रै अहिलेको समस्या समाधान हुन्छ।’ नेपालमा चीनले जनवाद चाहेको र त्यो तत्काल संभव नभएको उनको भनाइ छ।

पछिल्लो समय नेपालको आन्तारिक मामिलामा छिमेकी दुवै देशबाट चासोका साथै हस्तक्षेप बढ्दै गएको छ। प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नुपूर्व भारतीय कूटनीतिक तहका कर्मचारी र सत्तारूढ भारतीय जनता पार्टीको नेताको भ्रमण भएको थियो भने नेकपा विभाजनको औपचारिक विघटनको संघारमा रहेका बेला चिनियाँ नेताहरूको धौडधुप चलेको छ।

नेकपामा विवाद आएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि आफ्नो सक्रियता बढाएकी थिइन्। गत वैशाखमै नेकपा फुट्को नजिक रहँदा यान्छीको सक्रियताले काम गरेको भए पनि पुसमा भने उनको सक्रियताले काम गर्न नसकेको राजनीतिका जानकारहरू बताउँछन्।

नेपालमा विकसित राजनीतिक घटनाक्रमका बेला यति ठूलो चिनियाँ प्रतिनिधिमण्डलको टोली नेपाल आउनुमा नेपालमाथि बढ्दो खतरा देखेरै हुनसक्ने राजनीतिक विश्लेषकहरू बताउँछन्। पछिल्लो घटनाक्रमपछि चीनले आफ्नै सुरक्षा चासोलाई बढी जोड दिएका कारण यो भ्रमण भएको हुन सक्ने पनि केही विश्लेषकहरू बताउँछन्।

चिनियाँहरूको यो भ्रमणले नेकपा विभाजनलाई टार्न सक्ने हो वा होइन त्यो त आगामी घटनाक्रमले पुष्टि गर्दै लानेछ। तर, यतिबेला चिनियाँ टोलीको काठमाडौं दौडधुप भने अर्थपूर्ण रूपमा लिइएको छ। चीनका रक्षामन्त्री वेई फेंगेले नेपाल भ्रमण गरेको महिना दिन नबित्दै चीनका नेताहरूको पछिल्लो नेपाल भ्रमण र चासोलाई अर्थपूर्ण रूपमा हेरिएको छ। चीनको यो भ्रमणलाई केहीले नेकपाको फुट जोगाउन चीनको अन्तिम कसरत पनि भनेका छन्।

यसैबीच, चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति आफू प्रतिबद्ध रहेको बताएको छ। चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले स्वायत्तता, पूर्ण समानता, पारस्परिक विश्वास र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति दृढ रहेको छ। चीनले नेपालका सबै राजनीतिक दलहरूसँग नजिकको र मित्रवत सम्बन्ध बनाएको छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *