नेकपाका जिल्लास्थित कार्यालय कब्जाको होड चलेपछि प्रहरी परिचालन

डिसी नेपाल
१४ पुष २०७७ २०:१६

काठमाडौं। सत्तारुढ दल नेकपा विभाजनसँगै नेता कार्यकर्ताहरू पार्टी कार्यालय कब्जाको रणनीतिमा अघि बढेपछि देशभरका पार्टी कार्यालय सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। गृहमन्त्रालयको निर्दैशनमा संभावित भिडन्तलाई रोक्न पार्टी कार्यालयहरुको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो।

पार्टी विभाजनको शुरूआतमै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ताला लगाएर प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली पक्षले सुरक्षाका लागि प्रहरी खटाएको थियो। पुस ५ गतेबाटै देशभरका पार्टी कार्यालयहरु कब्जा गर्ने रणनीति दुवै पक्षले लिएपछि कतिपय स्थानमा सामान्य झडप समेत भएको छ। झडपछि सम्बन्धित जिल्लाका प्रहरीहरुले पार्टी कार्यालयको सुरक्षामा ध्यान दिइरहको प्रहरी प्रधानकार्यालय समेत जनाएको छ।

युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतले तत्कालिन एमालेका कार्यालयमा आँखा नलाउन चेतावनी दिए लगत्तै विभाजित नेकपाका नेताहरु मदननगर बल्खु पुगेर पूरानो एमालेको पार्टी कार्यालय रहेको जग्गा अवलोकनसँग दुवै पक्षले पार्टीको सम्पत्तिमा आँखा लगाउदा भिडन्तको अवस्था आएको हो।

संसद विघठनपछि पार्टी विभाजन भएको र त्यसपछि प्रचण्ड माधव नोपल समूह र प्रधानमन्त्री ओली समूहले बेग्ला बेग्लै कार्यक्रमहरु गर्दै आएका छन्। प्रचण्ड नेपाल समूहले जनवर्गीय संगठनहरुको बैठक भेला पार्टी कार्यालय पेरिसडाँडामा गरिरहेका छन्। ओली पक्षले भने विभन्न पार्टी प्यालेस र वालुवाटारमा गरिरहेका छन्। जिल्ला जिल्लामा भने पार्टी कार्यालयहरु ताला लगाएर बाहिर नै भेला बैठक र जुलुशहरु गरिरहेका छन्।

दुवै पक्षले अलग अलग बैठक, भेला र प्रशिक्षण चलाइरहेका बेला पार्टीको विवाद निर्वाचन आयोगमा प्रवेश गरेको छ। त्यस्तै संसद् विघटनको मुद्दा अदालतमा पुगिसकेको छ। दुवै समूहले आफूलाई आधिकारिक नेकपा बताइरहेका बेला केन्द्र र जिल्ला–जिल्लामा पार्टी कार्यालय कब्जाको होडबाजी नै चलेको छ। पूर्व माओवादी समूहका कार्यालय प्रचण्ड नेपाल पक्ष र पूर्व एमालेको कार्यालय ओली पक्षले कब्जा गरिरहका छन्।

अहिलेसम्म विभिन्न दुई दर्जन जिल्ला कार्यालयमा ताला लगाइएको छ। धेरै जसो कार्यालयहरुमा ओली पक्षले ताला लगाएका छन् भने केही कार्यालयहरु कब्जा गर्न जाँदा दुवै पक्षबीच झडप समेत भएको छ। केही जिल्लामा जिल्ला अध्यक्ष लगायतका पदाधिकारीहरुलाई अपमानजनक ढंगले निकालिएको छ। कञ्चनपुर, लम्जुङ, काभ्रे लगायतका जिल्लामा ओली पक्षले कब्जा गरिसकेका छन्।

आइतवार ओली र प्रचण्ड नेपाल दुवै पक्षका जिल्लाका नेता कार्यकर्ताले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित पार्टी कार्यालय दाबी गर्दा सामान्य झडप भएको थियो। यसअघि सो पार्टी कार्यालयको ढोकामा ओली पक्षले तालाबन्दी गरेको थियो। त्यहाँ अप्रिय स्थितिसमेत पैदा हुने अवस्थमा प्रहरी पुगेको थियो। प्रहरीले एकले अर्कालाई सम्झाउने प्रयास गरे पनि दुवै पक्षबीच भिडन्तको अवस्था आएको थियो। एक साताअघि लमजुङको जिल्ला पार्टी कार्यालयमा पनि ओली पक्षले ताला लगाएको थियो।

बेंसीसहरस्थित नेकपाको पार्टी कार्यालय मदन–आश्रित स्मृति भवनमा ओलीनिकट राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताले ताला लगाएका थिए। अध्यक्ष मधुमाया अधिकारीलाई उनीहरूले दुई घण्टा कार्यकक्षमै थुने।

त्यस्तै काभ्रेस्थित नेकपाको जिल्ला कार्यालयमा पनि ओली पक्षले ताला लगाएको छ। तत्कालीन एमालेले बनाएको दाबी गरिएको बनेपास्थित कार्यालयमा नयाँ ताला किनेर लगाइएको हो। अहिलेसम्म उक्त ताला खोलिएको छैन। गत मंगलवार पश्चिम नवलपरासीको पार्टी कार्यालयमा ओली पक्षले ताला लगाएको थियो।ओलीनिकट केही युवाहरूले मंगलबार दिउँसो परासीमा रहेको जिल्ला कार्यालयमा तालाबन्दी गरेका थिए।

यसरी एकपछि अर्को गर्दै पार्टी कार्यालयहरु कब्जा गर्ने अवस्थमा भिडन्त हुने आशंका सहित सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो। ‘पार्टी कार्यालयको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको भन्नेचाहि होइन तर भिडन्त हुन नदिन र त्यसबाट क्षति हुन नदिनेतर्फ नेपाल प्रहरी सजग रहेको छ’, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले भने।

उनका अनुसार सकेसम्म क्षति हुन नदिने र दुवै पक्षलाई झडपबाट रोक्न प्रहरीले सजगता अपनाएको छ। ‘हामीले कुन पार्टी र कसको सम्पत्ति हो भन्ने कुरा जान्ने विषय होइन प्रहरीको काम शान्ति सुरक्षा कायम गर्ने हो त्यही अनुसार परिचालन हुन्छ’, प्रवक्ता कुँवरले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *