संसद् विघटनविरुद्ध सँयुक्त आन्दोलन गर्ने प्रचण्ड–माधव समूहको तयारी

डिसी नेपाल
१५ पुष २०७७ १९:५७

काठमाडौं। सरकारले संसद विघटन गरेपछि आन्दोलनमा होमिएको नेकपाको प्रचण्ड–माधव समूहले एक्लैभन्दा पनि सँयुक्त रुपमा आन्दोलनमा जानुपर्ने निष्कर्ष निकालेको छ। समूहको आन्दोलन समाजोन समितिको बुधबार बसेको बैठकमा सँयुक्त आन्दोलन गर्नेबारे छलफल भएको छ।

नेकपा (प्रचण्ड–माधव) समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले बुधबारको बैठकमा भावी दिनमा आन्दोलन कसरी गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘हिजोको आन्दोलनको समीक्षा भयो। आगामी दिनमा कसरी आन्दोलन गर्ने भन्ने विषयमा छलफल भयो। तर, आन्दोलनका कार्यक्रम घोषणा भने गरिएन। अन्य दलहरुसँग पनि मिलेर आन्दोलन गर्ने भन्ने विषयमा छलफल भएकाले अरु दलसँग छलफल गरेपछि आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ।’

संसद् विघटनपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा (प्रचण्ड–माधव) समूह, जनता समाजवादी पार्टी र विवेकशील साझाले छुट्टा छुट्टै प्रदर्शन गरिरहेका छन्। यी सबै दलहरुबीच सँयुक्त आन्दोलनका लागि पहल गर्ने नेकपा (प्रचण्ड–माधव) समूहले निर्णय गरेको हो। पन्तले भने, ‘काँग्रेस लगायत सबै दलहरुसँग सँयुक्त आन्दोलनबारे छलफल गर्छौं।’

नेकपाको एक समूहले सँयुक्त आन्दोलन गर्ने भने पनि यो आन्दोलनमा काँग्रेस मिसिने सम्भावना भने निकै कम छ। संसद् विघटन भएकै दिन पुस ५ मा काँग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले संसद् विघटनलाई असंवैधानिक त भन्यो तर, आन्दोलनबारे निर्णय लिएन। त्यसपछि पुस ६ मा काँग्रेस केन्द्रीय कार्यालयमा विपक्षी दलहरुको बैठक बस्यो तर सँयुक्त आन्दोलनबारे निर्णय भएन। आ आफ्नो दलको केन्द्रीय कमिटी बैठकबाट निर्णय गरेपछिमात्र आन्दोलनबारे निर्णय गरिने सहमति भयो।

यी दुबै बैठकमा सहभागी नेकपाको प्रचण्ड–माधव समूह र जसपा आन्दोलनका लागि तयार भइसकेका थिए। र आन्दोलन पनि गरिरहेका छन्। तर पनि सँयुक्त आन्दोलनबारे निर्णय भएन। किनकी काँग्रेस यसमा अन्इच्छुक देखियो। काँग्रेसको पुस ७ र ८ मा बसेको बैठकले १३ पुसमा एकल रुपमा विरोध प्रदर्शन गर्ने निर्णय गर्यो तर, आन्दोलन गर्नेबो कुनै निर्णय लिएन।

काँग्रेस सभापति शेरबहादुर देउवा संसद् पुनःस्थापनाका लागि भन्दै हुने आन्दोलन नगर्ने लाइनमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल आन्दोलन गर्नुपर्ने पक्षमा छन्। तर, काँग्रेसमा अन्य दलहरुसँग मिलेर आन्दलोलन गर्ने भन्दा पनि एकल रुपमा आन्दोलन गर्नुपर्ने धारणा राख्नेहरुको बाहुल्यता छ। त्यसैले नेकपासँग मिसिएर काँग्रेसले आन्दोलन गर्ने सम्भावना कम रहेको एक काँग्रेस नेताले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *