चिनियाँ टोली ढिला आइपुग्दा नेकपा विभाजन

डिसी नेपाल
१६ पुष २०७७ ११:३१

काठमाडौं। कानूनी औपचारिकता नपाएपनि सत्तारुढ दल नेकपा दुई गुटमा विभाजित भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहका विभाजित भएको हाे।

अहिले दुवै समूह एकअर्कामाथि आरोप प्रत्यारोप लगाउन व्यस्त छन्। प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपा अहिले सडक आन्दोलनमा छ। झण्डै दुई तिहाइ बहुमतका साथ सरकार संचालन गरिरहेको नेकपा विभाजन हुँदा उत्तरी छिमेकी चीन सबैभन्दा बढी चिन्तित देखियो।

नेकपामा विवाद हुँदा काठमाडौंस्थित राजदूत होउ यान्छीले विवाद समाधान गर्ने प्रयास गरेकी थिइन्। तर, उनको तहबाटमात्र नेकपाको विवाद समाधान भएन। अन्ततः नेकपा विभाजित भयो।

आफ्नो तहबाट राजदूत यान्छीले नेकपाको विवाद समाधान गर्न नसकेपछि उनले चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डललाई काठमाडौं उतारिन्। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को विदेश विभागका उपमन्त्री गुओ यैचौ नेतृत्वको ४ सदस्यीय प्रतिनिधिमण्डल नेपालको तीन दिने भ्रमण गरेर बुधबार स्वदेश फर्किएको छ।

चिनियाँहरु राष्ट्रपतिकोमा हस्ताक्षर बुझाउनु भन्दा पहिला र ओलीले संसद विघटन गर्नु अघि आएका भएपनि तत्काललाई विभाजन गर्न सक्थ्यो। तर चिनियाँहरु ढिला आउँदा नेकपालाई विभाजनबाट जोगाउन सकेनन्

४ दिनका लागि भन्दै काठमाडौं आइपुगेको चिनियाँ टोली तीन दिनमै फर्किनुले उसको मिशन असफल भएको विश्लेषण गर्न थालिएको छ। विभाजित भइसकेको नेकपालाई फेरि एकजुट बनाउने मिशनका साथ नेपाल आएको चिनियाँ टोलीले नेकपाका दुबै गुटका अध्यक्षहरु, विपक्षी दलका नेता र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको थियो।

नेकपाका दुई गुटका अध्यक्षहरु तथा राष्ट्रपतिसँगको भेटमा चिनियाँ टोलीले नेकपाको विभाजनलाई रोकेर फेरि एकता गर्ने विषयमा छलफल गरेको स्रोतको दावी छ। कान्तिपुरको फायरसाइड कार्यक्रममा नेकपा (प्रचण्ड–माधव)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ टोलीले कम्युनिष्ट पार्टीको एकतामा जोड दिएको बताएका थिए। उनको भनाइले पनि चिनियाँ टोली नेकपाको एकता गर्न आएको पुष्टि हुन्छ।

तर, हालको अवस्था हेर्दा नेकपा फेरि एकजुट हुने सम्भावना देखिएको छैन। र चिनियाँ टोली असफल भएर फर्किएको चर्चा छ। तर, चिनियाँ टोलीले गरेको भेटवार्ताका परिणाम देखिन केही समय लाग्न सक्छ। तर नेकपालाई एकजुट बनाउन चीनले आफ्नो सम्पूर्ण शक्ति लगाएको भने पुष्टि भए।

नेकपा विभाजनबाट रोक्न चीनले आफ्नो शक्ति लगाएपनि तत्कालका लागि भने त्यो संभव देखिएन।  ‘चीन नेपालका कम्युनष्टि पार्टी एकताबद्ध भएको हेर्न चाहन्छ, त्यसका लागि उसले आफ्नो शक्ति लगाएकै हो,’ एक जना राजनीतिक विश्लेषकले डिसी नेपालसँग भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कमिटी र दलमा पनि अन्य नेताहरुलाई विश्वासमा नलिँदा नेकपा बैशाखमा नेकपा झण्डै विभाजित भएको थियो। त्यो बेला चिनियाँ राजदूतको सक्रियाताले  विभाजन रोकिएको थियो।  यहाँ त कम्युनिष्टका नाममा धेरै गुट भएका कारण बेला बेलामा समस्या हुने गरेको हो।’

पछिल्लो समय ओलीले चीनलाई भन्दापनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई धेरै भर गरेको र उनले राष्ट्रपति भण्डारीको आढमा एकपछि अर्को गर्दै कदम चाल्दै गएको जानकारहरु बताउँछन्।

‘मलाइ भित्रैकै मान्छेले के भनेका थिए भने असोजमा चिनियाँ राजदूतले प्रधानमन्त्रीलाई भेटेर पार्टीलाई एकतावद्ध बनाउन एक पद छोडेर भएपनि पार्टी जोगाउनुपर्छ भनेर सुझाव दिएकी थिइन्,’ नाम उल्लेख नगर्ने शर्तमा ती विश्लेषकले भने, ‘तर ओलीले उनको सुझावलाई गम्भीरतापूर्वक लिएनन्। अब अहिले चिनियाँहरु पार्टी विभाजन हुनबाट जोगाउन नेपाल त आए तर, लगनपछिको पोतेजस्तो भयो।’

‘चिनियाँहरु राष्ट्रपतिकोमा हस्ताक्षर बुझाउनु भन्दा पहिला र ओलीले संसद विघटन गर्नु अघि आएका भएपनि तत्काललाई विभाजन गर्न सक्थ्यो। तर चिनियाँहरु ढिला आउँदा नेकपालाई विभाजनबाट जोगाउन सकेनन्,’ उनले भने।

‘अब नेकपा फेरि एकतावद्ध हुनलाई कि ओलीले आत्मशमपर्ण गर्नु पर्यो कि प्रचण्डले। अहिले दुवै पक्ष आत्मशमर्पण गर्ने पक्षमा देखिँदैनन्। ओलीले संसद पुर्नस्थापना गरेभने आफूमाथि अविश्वासको प्रस्ताव दर्ता हुने अवस्था हुन्छ,’ उनले भने, ‘ किनभने संसदीय दल केन्द्रीय कमिटी दुवैमा ओली अल्पमतमा छन्। फेरि अब ओलीले चाहँदैमा मात्रै पनि संसद पुर्नस्थापना हुने अवस्था छैन, किनभने १२ विटा रिट त अरुले नै दर्ता गराएका छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *