बागमती प्रदेशलाई पराजित गर्दै सुदुरपश्चिम प्रदेश सेमिफाइनलमा
काठमाडौं । महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई पराजित गर्दे सुदुरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । दाङको लमहीमा संचालित प्रतियोगिता अन्तर्गत बिहीवार भएको खेलमा सुदुरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २८ रनले पराजित गरेको हो । खराब मौसमका कारण मात्र ११ ओभर छोटयाईएको खेलमा सुदुरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्यो । निर्धारित ११ ओभरको खेलमा सुदुरपश्चिमले ४ विकेट गुमाउदै ७६ रन बनायो । सुदुरपश्चिमका लागि ओपनर कविता कुवरले अविजित १९ र कविता जोशीले १२ रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंक छुन सकेनन । बलिङमा बागमतीका लागि आरती बिराडीले ३ र निशा तामाङले एक विकेट लिईन ।
७७ रनको लक्ष्य पछ्याएको बागमती टोली ११ ओभरमा ९ विकेट गुमाउदै मात्र ४८ रन बनायो । बागमतीका लागि सुमन खतिवडाले सर्बाधिक २७ रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंक छुन सकेनन । बागमतीलाई सस्तोमै समेटन सुदुरपश्चिमकी कविता जोशीले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा १० रन दिएर ५ विकेट लिईन । सुदुरपश्चिमलाई सहज जित दिलाउन कविता जोशीले ह्याट्रिक विकेट लिइन् । जितसँगै सुदुरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । समुह ‘ए’ बाट विभागीय टिम एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरिसकेका छन् । एपीएफ समुह विजेता तथा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । समुह बीको विजेताले लुम्बिनी र उपविजेताले एपीएफसंग सेमिफाइनल खेल्ने छन् । समुह ए मा एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । प्रदेश २ र कर्णाली प्रदेश भने प्रतियोगिताबाट बाहिरिएका छन् । यस्तै, समुह बीमा सुदुरपश्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका छन् ।
Facebook Comment