प्रधानमन्त्रीले दिनदिनै आइजा भन्नु हुन्छ, त्यहाँ काम छैन त्यसैले म जान्न : वामदेव

डिसी नेपाल
१७ पुष २०७७ १८:०९

काठमाडौं। सत्तारढ दल विभाजन हुँदा नेकपा उपाध्यक्ष वामदेव गौतम हालसम्म कुनै कित्तामा उभिएका छैनन्। उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले आ आफूतिर तान्ने प्रयास भने गरिरहेका छन्। त्यसैले वामदेवले अब के गर्छन् भन्ने चासो सबैतिर छ।

वामदेव राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएपछि शुक्रबार पहिलोपटक राष्ट्रिय सभा बैठकमा सहभागी भए। बैठक सकिएपछि संसद भवनमा उनले पत्रकारहरुसँग छोटो प्रतिक्रिया पनि दिए। सो क्रममा उनले प्रधानमन्त्री ओलीले आफूतर्फ तान्न फकाइरहेको खुलासासमेत गरे। उनले भने, ‘प्रधानमन्त्रीले दिनदिनै बोलाइरहनु भएको छ। तर, त्यहाँ केही काम छैन। त्यसैले म त्यहाँ जान्न।’

त्यसो त नेकपा (प्रचण्ड–माधव)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारमात्र वामदेवसँग भेटेर आफ्नो पक्षमा लाग्न आग्रह गरेका थिए। वामदेवले प्रचण्डसँगको भेटबारे भने, ‘हामीतर्फ आउनुहोस भन्नु भयो, तर मैले आउन सक्दिन भनेँ।’ त्यसपछि प्रण्चण्डले ‘पार्टी एकता भन्नु हुन्छ, त्यो गर्नुहोस न त’ भनेको वामदेवले बताए। उनले भने, ‘त्यसपछि मैले नेकपा एकताका लागि आफू सक्रिय हुने बताएँ।’

बामदेवले अहिले आफ्नो तीन नम्बर कित्ता भएकोसमेत बताए। दुबैतर्फ नलागेकाले तीन नम्बर कित्ता भएको बताए। उनले नेकपा एकता अभियानमा आफू लागिरहेको र त्यसका लागि संगठितरुपमै अब सक्रिय हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *