कोरोनाले प्रभावित काँग्रेस महाधिवेशन, संसद् विघटनले थप संकटमा

खेमराज थापा
२० पुष २०७७ २०:४९

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि हालसम्म तोकिएको मिति हो २०७७ फागुन ७ देखि १७ सम्म। स्थान हो काठमाडौं। स्थानकाका विषयमा विवाद छैन, समस्या पनि छैन। तर, मितिमा भने अन्यौल नै अन्यौल छ।

महाधिवेशन हुने दिन अब दुई महिनामात्र बाँकी रहँदा कुनै तयारी पनि भएको छैन र नयाँ मिति पनि तोकिएको छैन। महाधिवेशनका लागि सबैभन्दा जटिल र अत्यावश्यक विषय क्रियाशली सदस्यता वितरण र नवीकरण हो, त्यो पनि भएको छैन। कांग्रेस केन्द्रीय समितिको २०७६ साल माघ १३ गते बसेको बैठकले सर्वसम्मत रुपमा पार्टीको १४ औं महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्यो। र स्थानीय तहदेखि जिल्ला अधिवेशन हुँदै महाधिवेशनसम्मको कार्यतालिका बनायो।

सो कार्य तालिकाअनुसार यति बेला जिल्ला अधिवेशन भइरहेको हुनुपर्ने थियो। तर, हालसम्म क्रियाशील सदस्यताको विषय नै टुंगिएको छैन। आगामी माघ मशान्तसम्म क्रियाशील सदस्यता वितरण तथा नवीकरण जिल्लाबाट केन्द्रमा पठाइसक्नु पर्ने नयाँ समयसीमा तोकिएको छ। देशकै सबैभन्दा पुरानो पार्टीको महाधिवेशन यसरी प्रभावित हुनुमा कोरोना महामारी हो। कोरोना महामारीका कारण चैत ११ देखि साउन ६ सम्म देशव्यापी लकडाउन भयो। जसका कारण महाधिवेशनको कार्यतालिका प्रभावित भयो। साउनमा बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति यथावत राख्दै अन्य कार्यतालिका परिवर्तन गर्यो। तर सो कार्यतालिकाअनुसार पनि काम भएन। बरु पार्टीमा फागुनमा महाधिवेशन नहुने बहस शुरु भयो।

पुस ५ मा सरकारले संसद् विघटन गरिदिएपछि त फागुनमा महाधिवेशन नहुने निश्चित प्रायः भएको छ। तर, काँग्रेस नेताहरु फागुनमा महाधिवेशन नहुनेमा ढुक्क भए पनि केही निर्णय भने भएको छैन। कोरोनाले प्रभावित काँग्रेस महाधिवेशन संसद् विघटन भएर चुनाव घोषणा भएपछि थप समस्या परेको छ।

महाधिवेशनको मितिका विषयमा डिसी नेपालले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग राखेको जिज्ञाशामा उनले भने, ‘पहिला क्रियाशील सदस्यता टुंग्याउ अनि अरु काम गरौंला भन्ने भएको छ।’ उनले माघ मशान्तमा जिल्लाबाट क्रियाशील सदस्यता आएपछि महाधिवेशनको मितिबारे निर्णय हुने बताए। उनले भने, ‘जिल्ला अधिवेशन शुरु भए पनि महाधिवेशन शुरु भएकै मान्नुपर्छ। त्यसैले पहिला क्रियाशील सदस्यता टुंगिनु पर्यो।’

उता काँग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले फागुनमा महाधिवेशन नहुने निश्चित भए पनि नयाँ मितिबारे निर्णय नभएको बताए। उनले भने, ‘क्रियाशील सदस्यता टुंगिएपछि जेठसम्म महाधिवेशन हुन सक्छ।’ उनले संसद् विघटनले महाधिवेशनलाई कुनै समस्या नभएको बताए। उनले भने, ‘संसद् पुनःस्थापना भयो भने त कुनै कुरा नै भएन। यदि देश चुनाव तिर गयो र वैशाखमा चुनाव भयो भने पनि जेठमा महाधिवेशन हुन सक्छ।’

काँग्रेस संसद् विघटन असंवैधानिक भन्दै आन्दोलनमा छ। आइतबारमात्र काँग्रेसले केन्द्रदेखि वडासम्मको आन्दोलनका कार्यक्रम तय गरेको छ। यस्तो अवस्थामा महाधिवेशनको तयारी कसरी हुन्छ? भन्ने प्रश्न उठेको छ। तर वरिष्ठ नेता पौडेल भने महाधिवेशनको काम र आन्दोलनसँगै जाने बताउँछन्। उनले भने, ‘महाविधेशनको तयारी र आन्दोलनसँगै गर्छौ।’

सभापति शेरबहादुर देउवाको ४ वर्षे कार्यकाल गत वर्ष फागुनमै सकिएको हो। महाधिवेशन गर्न नसकिएको भन्दै पार्टीको विधानअनुसार एक वर्ष कार्यकाल थपेर २०७७ फागुनमा महाधिवेशन गर्ने मिति तोकिएको थियो। अब थपिएको कार्यकालमा पनि महाधिवेशन असम्भव भएपछि काँग्रेसका लागि नयाँ वैधानिक संकट निम्तिएको छ। अब काँग्रेसले राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्थाअनुसार ६ महिनाको कार्यकाल थप गर्न पाउँछ। र त्यो छ भने महिना भनेको आगामी भदौसम्म हो। काँग्रेसले कुनै पनि हालतमा भदौसम्म महाधिवेशन गर्नुपर्ने कानूनी बाध्यता छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *