आरोपपत्र फिर्ता लिएर निर्वाचनमा जान तयार भए अझै पार्टी एकता सम्भव छः उपप्रधानमन्त्री पोखरेल

डिसी नेपाल
२० पुष २०७७ २२:४९

लाहान । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानु सरकारको बाध्यात्मक कदम भएको बताएका छन् । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) सिरहाले आज सिरहाको चोहर्वामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पोखरेलले निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने र मुलुकलाई गम्भीर सङ्कटमा धकेल्ने षड्यन्त्र भइरहेकाले त्यसलाई चिर्न सरकारले बाध्यात्मक रुपमा संसद् विघटन गरी जनतामा जाने निर्णय गरेको बताए ।

निर्वाचित प्रधानमन्त्रीलाई जनादेश अनुसार पाँच वर्ष काम गर्न नदिएपछि ताजा जनादेशमा जाने अधिकार रहेको दाबी गर्दै उनले निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने भएकाले निर्वाचनबाट कोही भाग्न नहुने बताए । नेकपाका सचिवालय सदस्य समेत रहेका उनले प्रधानमन्त्रीविरुद्ध पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको आरोपपत्र फिर्ता लिएर ताजा जनादेशका लागि निर्वाचनमा जान तयार भए अझै पार्टी एकता कायम रहने सम्भावना रहेको उल्लेख गरे।

पार्टीभित्र देखिएको समस्या छिट्टै समाधान हुने उल्लेख गर्दै उनले अब पार्टीबाट गलत प्रवृत्ति भएका व्यक्ति बाहिरिएपछि पार्टी अझ मजबुत भई एकढिक्का भएर अगाडि बढ्ने बताए । भौतिक पूर्वाधारको विकास बिना मुलुकको विकास सम्भव नभएकाले हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम रेलमार्गलगायत भौतिक पूर्वाधार निर्माणको कामलाई जोडदार रुपमा अघि बढाएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले यही सरकारको पालामा ती कार्य पूरा हुने दाबी गरे।

सो अवसरमा शहरी विकासमन्त्री प्रभु साहले प्रधानमन्त्रीले बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउँदै आगामी वैशाखमा हुने निर्वाचनले नै मुलुकलाई निकास दिने बताए । संसद् विघटन गर्नु प्रधानमन्त्रीको रहर नभई बाध्यता भएकाले यसले मुलुक ठूलो दुर्घटनाबाट जोगिएको दाबी गर्दै उनले छलछाम र दलाली गरेर सत्तामा पुग्ने नेताहरुको सपना पूरा नभएकाले सरकार र प्रधानमन्त्रीविरुद्ध भ्रम फैलाउने काम भइरहेको टिप्पणी गरे । ‘‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरी जनताको बीचमा जाने निर्णय आफैँमा लोकतान्त्रिक पद्धति भएकाले निर्वाचनबाट कोही डराउनुपर्ने अवस्था छैन’’, उनले भने ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले वर्तमान सरकारले गरेको लोकप्रिय कामबाट हतोत्साहित बनेका नेता देशीविदेशी शक्तिको इसारामा प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गरेका कारण यस्तो स्थिति आएको बताए । उनले पछाडि परेको तराई मधेशको विकासलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै सरकारले लिएको ‘सम्बृद्ध नेपाल र सुखी नेपालीको सपना’ यही सरकारको पालामा पूरा हुने दाबी गरे । भेलामा नेकपाका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठ, नेकपाकी नेतृ तथा प्रदेशसभा सदस्य ज्वालाकुमारी साह, नेकपाका केन्द्रीय सदस्य रामशङ्कर यादवले पनि समसामयिक राजनीतिक विषयमा बोलेका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *