पृथ्वी जयन्तीलाई उपयोग गर्दै ‘राष्ट्रवादी शक्ति’

डिसी नेपाल
२१ पुष २०७७ १८:५१

काठमाडौं। पृथ्वी जयन्तीलाई अवसरका रुपमा प्रयोग गर्दै कम्युनिष्ट नेतादेखि राजावादीहरु एकजुट हुन थालेका छन्। संसद् विघटनपछि तरल बनेको नेपाली राजनीतिमा पृथ्वी जयन्तीलाई लिएर सुरक्षा अंगका पूर्व प्रमुखदेखि बलिउड अभिनेत्रीसमेत मंगलबार एउटै मञ्चमा देखिनुलाई चासोका साथ हेरिएको छ।

अभिनेत्री मनिषा कोइरालादेखि पूर्वप्रधानसेनापति रुक्मांगद कट्वाल, पूर्व डीआईजी रमेश खरेल, नेकपा माले महासचिब सीपी मैनाली लगायत राष्ट्रिय एकता दिवसलाई भब्य रुपमा मनाउने तयारीमा जुटेका छन्।

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउनेबारे मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वक्ताहरुले विभिन्न समयमा अहिलेका शासकले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सिएर इतिहासलाई अपमान गरेको आरोप लगाए।

कार्यक्रममा बोल्दै वीपी कोइरालाकी नातिनी बलिउड अभिनेत्री मनिषा कोइरालाले सबै राष्ट्रवादी नेपालीलाई एकताबद्ध हुन आह्वान गरिन्। इतिहास र संस्कृतिलाई बिर्सिएको भन्दै उनले पुस २७ गते २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन सबैलाई आग्रह गरिन्।

उनले पृथ्वीनारायण शाह राष्ट्र निर्माता भएको कारण नेपालीको पहिचान जोगिएको भन्दै शाहको आदर्शलाई ख्याल गर्न नेपाली नागरिकलाई आग्रह पनि गरिन्।

नेपाली राजनीतिमा तथस्ट बन्दै आएकी कोइराला पछिल्ला दिनहरुमा राजनीतिमा सक्रिय हुने संकेत गरेकी छन्।  पृथ्वी जयन्ती मनाउन आयोजित पत्रकार सम्मेलनमा उनको उपस्थितिलाई महत्वका साथ हेरिएको छ।

मनिषाले पछिल्लो समय कालापानी र लिम्पियाधुरा नेपाली भूभाग भएको भन्दै अभिव्यक्ति दिएकी थिइन्। उक्त अभिव्यक्तिको विरोधमा भारतीय मिडिया उनीविरुद्ध उत्रिएको बारे सोधिएको प्रश्नमा मनिषा मौन रहिन्।

कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्मांगद कटुवालले पृथ्वी नारायण शाह नेपालको एकताको प्रतिक भएको बताएका छन्।

‘विश्वका सन्दर्भमा नै प्रजातान्त्रिक व्यवस्थाको सुरुवात पृथ्वी नारायण शाहले नै गरेका हुन्।’ कटुवालले भने, ‘त्यो बेलामा कुनै पनि देशमा प्रजातान्त्रिक पद्धति थिएन। नेपालमा प्रजातान्त्रिक पद्धतिको सुरुवात उहाँले गर्नुभएको हो।’

‘जो मान्छे जुन कामका लागि योग्य छ। त्यो मान्छेलाई त्यही काम लगाइदिनु’ भन्ने पृथ्वी नारायण शाहको दिव्याेपदेशको उदाहरण दिँदै कटुवाले प्रश्न गरे, ‘यो भन्दा बढी प्रजातान्त्रिक पद्धति के हुन सक्छ ?’

नेपालको एकतामा हमला गर्नका लागि धर्म, संस्कृति, भाषा र इतिहासमाथि प्रहार भएको जिकिर गर्दै उनले पृथ्वी नारायण शाहलाई सम्झनु भनेको आफ्नो पितालाई सम्झनु जस्तै भएको बताए।

यस्तै नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले देशलाई विदेशीहरुले नभई देशभित्रैका ‘ब्वाँसा’हरुले खोक्रो बनाएको बताए।
पृथ्वी नारायण शाहको सालिक तोडफोड गरेर देशको स्वाभिमानको अवमूल्यन भएको भन्दै अब जनताले नसहने समेत उनले बताए।

पृथ्वी नारायण शाहले देशमा विदेशी ब्वाँसा पस्न नदिऊँ भनेको कुरा सम्झँदै उनले अहिले देशलाइ िभत्रैका ब्वाँसाहरुले सिध्याउन लागेका बताएका छन्।

‘पृथ्वीनारायण शाहले देशमा विदेशी ब्वाँसा पस्न नदिऊँ भन्नु भएको थियो। अब विदेशी हैन देशभित्रकै ब्वाँसाले सिध्याए’, उनले भने, ‘अहिले देशको राष्ट्रियता र मौलिकतामा प्रश्न उठ्यो।’

नेकपा मालेका महासचिव सीपी मैनालीले इतिहास र संस्कृतिमाथि आक्रमण भएको भन्दै आफ्नो पार्टी नेकपा माले पृथ्वी जयन्ती मनाउने सन्दर्भमा एक भएको बताए।

गत जेठ १५ गते नेपालमा २०४ बर्षे शाहवंशीय राजतन्त्र फालेर गणतन्त्र आएको १४ वर्ष पूरा भएको छ। उनै शाहवंशीय राजा पृथ्वीनारायण शाह जसले नेपाललाई एकीकरण गरेर नेपाल बनाएका थिए।  राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जयन्ति भब्यताका साथ मनाउन आयोजकले आग्रह गरेको छ।

पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा दिन समेत आयोजकले माग गरेको छ। कुनै राजनीतिक दलको झण्डाको साटो नेपालको राष्ट्रिय झण्डा बोकेर युवाहरु सडकमा आउन पनि आयोजकले आग्रह गरेको छ।

आगामी पुस २७ गत्ते पृथ्वीनारायण शाहको २९९ अाैं जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ। उक्त दिन राजा र राजसंस्थासँग आस्था राख्नेहरुले देशभर विविध कार्यक्रम गर्दैछन्। राजाको नै एजेण्डा बोकेको पार्टी राप्रपाका अध्यक्ष कमल थापाले त्यस दिन गोरखामा पुगेर सम्बोधन गर्ने भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *