वायु प्रदुषण खतराको विन्दुमा, बालबालिका तथा जेष्ठ नागरिकलाई बाहिर ननिस्कन अपील
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेसँगै वातावरण विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई घरबाट बाहिर ननिस्कन आह्वान गरेको छ ।
सोमबारदेखि मौसम धुम्मिएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले बालबालिका, वृद्धवृद्धा, दम–खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी र मुटुका बिरामी जोखिममा रहेकाले सकेसम्म घरबाट बाहिर ननिस्कन विभागले आग्रह गरेको हो ।
विभागले मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेको पाइएको छ । यसबाट तपाईं हाम्रो स्वास्थ्यमा नकरात्मक असर पर्न सक्दछ । बिरामीहरू बढी प्रभावित हुने भएकाले उहाँहरूलाई सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन आग्रह गर्दछौं।’
काठमाडौं उपत्यकाबाहेक तराई क्षेत्र र नेपालगञ्ज, विराटनगर लगायतका शहरहरूमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएकोले त्यहाँका नागरिकहरूलाई पनि सावधानी अपनाउन अनुरोध गरेको छ ।
सोमबार विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको थियो। काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन अपिल गरेको छ ।
Facebook Comment