पहिलो पटक पोर्चुगलको अस्पतालको नर्स बनिन् नेपालीकी चेली

डिसी नेपाल
२२ पुष २०७७ १७:३३

काठमाडौं। पोर्चुगलको एक अस्पतामा पहिलो पटक नेपालकी चेली नर्स बनेकी छन्। पोर्चुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली नर्स काठमाडौंकी इन्दिरा ब्यञ्जन्कार बनेकी हुन्।

नर्सको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकी ब्यञ्जन्कारले बाल्यकालमा आफ्नो आमाले घर छिमेकीमा सामान्य घाउचोट र रुघाखोकीको बिरामीलाई घरमा बोलाई प्राथमिक उपचार गरेको देखेकाले आफूलाई स्वास्थ क्षेत्रमा लाग्ने प्रेरणा मिलेको बताइन्। उनी भारतको राजीव गान्धी विश्व विद्यालयको स्वास्थ र विज्ञानअन्तर्गत रवण क्याम्पसबाट ब्याचलर (स्नातक) डिग्री हासिल गरी नर्सिङ पेशामा आवद्ध भएकी हुन्।

आफ्नो आकांक्षा पूरा गर्न ललितपुर जिल्ला पुल्चोकस्थित निदान अस्पताल तथा नेपाल अर्बुद हस्पिटल तथा अनुसन्धान केन्द्र हरिसिद्धिमा र केही समय स्वयंसेवक रुपमा काम गरेपछि उनलाई नर्सिङ पेशामा कार्य गर्न अस्पताल प्रशासनले सेवा गर्ने अवसर दिएको थियो। जहाँ उनले तीन वर्ष स्वास्थ्य स्वयंसेवीका रूपमा कार्यरत रहिन्।

त्यसलगत्तै उनका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा युरोपेली मुलुक पोर्चुगलमा रहेकोले उनी पनि सन् २०१४ मा पारिवारिक भीसामा पोर्चुगल गएकी हुन्। उनको वैदेशिक यात्रापछि आफ्नो कुशल स्वास्थ्यकर्मी बन्ने इच्छालाई पूर्णविराम लाग्ने हो की भनेर निकै चिन्तित भएको बताउँदै उनले जहाँ ईच्छा त्यहाँ उपाय भन्ने भनाइलाई आत्मसात गरी विदेशमा रहदा आफ्नो रुचिको पेशाका लागि अध्ययनलाई अगाडि बढाउने सोच बनाएको बताइन्।

सुरुका दिनमा नयाँ देश, नयाँ भाषाले गर्दा निकै कठिनाई भोग्नुपरेको थियो । पोर्चुगलमा अङ्ग्रेजी भाषालाई प्राथमिकता नदिने कारण त्यहिको पोर्चुगाली मातृभाषा अनिवार्य भएकाले पटकपटक विश्व विद्यालयबाट भाषा परीक्षामा असफल भए पनि कुनै हार नखाइ निरन्तर लागि परेपछि आफ्नो लक्ष्य पूरा गर्न सफल भएको अनुभव उनले सुनाइन्।

पोर्चुगलमा नर्सको लाइसेन्सका लागि त्यहाँको भाषामा डिप्लोमा गर्नुपर्ने पनि अनिवार्य भएकाले उनी पोर्तुगिज नर्सिङ काउन्सिलको परीक्षामा सहभागी भई आफूलाई नर्सिङ पेशामा आवद्ध हुन लाइसेन्स प्राप्त गर्न सफल भइन्। सन् २०१८ डिसेम्बरदेखि पोर्तो साल्भोमा सञ्चालित नातुरिदाद नर्सिङ होममा आवद्ध भएर काम गरिन्।

त्यसपछि लिस्वन बेलाईस्थित सरकारी अस्पताल एगास मोनिसमा काम गरिन्। नयाँ स्थान, नयाँ परिवेशमा काम गर्दा शुरुवातका दिनमा निकै कठिनाइ भएको बताउने उनले इमान्दारिताका साथ आफ्नो पेशामा लागिपरेको तथा वरिष्ठ चिकित्सक र नर्सको सहयोगमा काम गर्न सहज भएको अनुभव सुनाइन्।

उनी अहिले पोर्चुगलको राजधानी लिस्वनको मुटु मार्तिमुनिज नजिकै रहेको सेन्ट क्रिस्टोफर नामक एक अर्धसरकारी अस्पतालमा स्वास्थ्य सेवामा सक्रिय रुपमा कार्यरत छिन्। लामो समयको मेहनतको फल अनुरुप आफ्नो लक्ष्य प्राप्त गर्न २०१८ पोर्चुगलमा पहिलो नेपाली लाइसेन्स प्राप्त स्वास्थकर्मीको नामबाट चिनिने अवसर प्राप्त भयो। यो सङ्घर्ष, मेहेनत र सफलतासँगैको पेशाले उनी र उनको परिवार मात्रै नभएर पोर्चुगलमा बसोबास गरिरहेका नेपाली पनि निकै खुशी हुने गरेको उनले बताइन्।

आफू कार्यरत अस्पतालमा आफूले गरेको कार्यप्रति सन्तुष्टि रहेको बताउँदै उनले आफूलाई समस्या पर्दा सहयोग गर्ने, कामप्रति निर्वाह गरेको इमानदारीतालाई प्रशासनले सम्मान गरेको जानकारी दिइन्। उनले अरु नेपाली दिदिबहिनीहरु पनि आफ्नो उद्देश्य अनुसार नर्सिङ पेशामा आबद्ध हुन चाहेमा आफ्नो अनुभवको आधारमा जो कोहीलाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *