लोडसेडिङ अब इतिहासमात्रैः ऊर्जा मन्त्रालय
काठमाडौं। सरकारले नेपालमा विद्युतभार कटौती इतिहास भइसकेको उल्लेख गर्दै कुनै पनि हालतमा त्यसबारेमा सोच्न नसकिने स्पष्ट पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा सङ्कट निवारण गर्ने उद्देश्यका साथ २०७२ सालमा अगाडि सारिएको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकको अवधारणाअनुसार नै काम भएकोसमेत उल्लेख गरेको छ।
पछिल्ला दिनमा प्राविधिक कारणले भइरहेको विद्युत् कटौतीको विषयलाई लिएर अनावश्यक प्रचार भएपछि मुख खोल्दै ऊर्जा मन्त्रालयले विभिन्न नीति, रणनीतिलाई प्रभावकारी कार्यान्वयन गरिरहेको स्पष्ट पारेको छ। नेपाल विद्युत् प्राधिकरणले यही पुस १७ गते नै विद्युत्भार कटौती नहुने स्पष्ट पारिसकेको दोहोर्याउँदै इतिहास भइसकेको विषयमा अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेको छ। मन्त्रालयले भनेको छ, “लोडसेडिङ भन्ने विषय इतिहासमा अध्ययनका विषयमा रुपान्तरित भइसकेको छ।”
निकट भविष्यमा उत्पादित विद्युत् वितरण, उपभोग, निर्यातका लागि विद्यमान प्रसारण लाइनको अपर्याप्तता रहेको स्पष्ट पार्दै मन्त्रालयले ऊर्जा खेर जाने अवस्थालाई समेत सम्बोधन गर्नेतर्फ ध्यान दिइएको जनाएको छ। विद्युत् वितरण प्रणालीलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउन भूमिगत वितरण प्रणालीलाई शहरी सौन्दर्यकरण एवं भूमिगत प्रसारण लाइन बनाउँदा पूर्ण व्यवस्थित, मितव्ययी, दिगो बनाउने लक्ष्य राखिएको छ। विद्युत्, टेलिफोन, इन्टरनेट, सिसिक्यामेरालगायत संरचना रहने गरी अगाडि बढाउँदा सान्दर्भिक र लाभदायक हुन्छ भन्ने साझा सोच रहेको मन्त्रालयको भनाइ छ।
Facebook Comment