माघे सङ्क्रान्ति देशभर मनाइँदै, आजदेखि दिनभन्दा रात छोटा हुँदै जाने

डिसी नेपाल
१ माघ २०७७ ८:११

काठमाडौं। प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे ९मकर० सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे९मकर० सङ्क्रान्ति भनिन्छ। माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्।

कोरोनाका कारण भौतिक दूरी कायम गर्नु पर्ने भएकाले पनि यो वर्ष मेला महोत्सव भने हुने छैनन्। नेपालमा भौगोलिक, जातीय र सांस्कृतिक विविधता भएकाले एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन रही आएको छ।

यस्तै प्रचलनको एउटा हो माघे संक्रान्ति पर्व। ज्योतिष सुरेशचन्द्र रिजालका अनुसार माघे संक्रान्ति भनेको सूर्य धनु राशीबाट मकर राशीमा जाने दिन हो। यो दिनबाट सूर्य उत्तरायण पनि हुने गर्छन्। यसो हुँदा दिन लामो र रात छोटा हुन्छन्।

उनले भने, ‘कात्तिक स्नान गरेर जाडो सुरु हुन्छ भने माघस्नान गरेर तातो सुरु हुन्छ।’ नेपालका सबै भू–भागमा यसलाई फरक फरक तरिकाले मनाइन्छ। माघीमा चितवनको देवघाटमा विषेश मेला लाग्ने गर्दछ। मकर नुहाउने उक्त मेलामा देशभरबाट हजारौं भक्तजनहरु पुग्ने गर्छन्।

यद्यपी यो वर्ष भने मेला नलाग्ने देवघाट क्षेत्र विकास समितिले जानकारी दिएको छ। देशको पूर्वमा पर्ने इलाम जिल्लाको माइबेनीमा आजको दिन मेला लाग्छ। सदरमुकामबाट तीन किलोमिटर पूर्वमा रहेको माईखोला र जोगमाई खोलाको दोभानमा लाग्ने उक्त मेलामा हजारौं भक्तजनको घुँइचो हुने गर्छ।

यस्तै, झापा जिल्लाको प्रसिद्ध धार्मिक नदी कन्काईमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन्। कन्काई नदीलाई भगवती माईदेवीका रूपमा मान्ने गरिएको हुँदा आफ्नो मनोकांक्षा पूरा गर्न भाकल गर्ने नेपालको पूर्वी क्षेत्र तथा भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रका नेपालीभाषी भारतीय पनि कन्काई नदीमा आएर मकर स्नान गरी पूजाआजा गर्ने, परेवा उडाउने र बत्ती बाल्ने गर्छन्।

सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रमा माघे सक्रान्तिका दिन बिहानैदेखि हजारौं हिन्दू धर्मावलम्बीले स्नान गरी भगवान विष्णुको पूजा आराधना गर्छन्। माघे संक्रान्तिलाई तराईका जिल्लाहरूमा मैथिलीले तिला संक्रान्ति पर्वका रूपमा मनाउँछन्।

यस पर्वमा परिवारका अग्रज र आमा–बाबुले आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने बचन लिने गर्छन्। तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ।

यी परिकार पूजापाठ गरी सर्वप्रथम घरका देवदेवीलाई चढाइन्छ। माघे संक्रान्तिलाई नुवाकोटको तारूकामा गोरु जुधाएर मनाइने गरिन्छ। प्रत्येक वर्ष माघ १ गते तारुका गाउँपालिकाको वडा नं. ५ चन्दनी गाउँ रहेको एक बारीको ठूलो पाटोमा गोरूहरू जुधाउने गरिन्छ। दैलेखमा पनि माघे संक्रान्ति मनाइन्छ। त्यहाँ माघे संक्रान्तिलाई चेलीत्यार भनिन्छ ।

चेलित्यार भन्नाले चेलीको तिहार भन्ने बुझिन्छ। यस क्षेत्रमा पुस मसान्तका दिनमा तरुल खनेर ल्याइन्छ । पुस मसान्तको राति तरूल, बाबर (सेलरोटी), पकाएर पहिले कागको लागि छुट्याएर पछि घरपरिवारले खाने गरिन्छ।

राति पानीको मुहान अथवा पँधेरो नजिकै मुढाहरूको थुप्रो बनाएर आगो लगाइन्छ। गाउँका बुढा बुढी तन्नेरी तरुनीहरू मुढाको आगो ताप्न भेला हुन्छन्। मुढा ताप्ने थलामा रात भर कसैले देउडा लगायत विभिन्न नाचगान गर्छन् भने कसैले गाउँ खाने कथा, दन्तेकथा गरेर रात काट्छन्।

बिहान भएपछि नुहाएर सबै भन्दा पहिले कागलाई बोलाएर खाना दिने चलन छ। कागलाई बोलाउँदा केटाकेटीहरू ‘कौवा का का, बाबर खा खा’ भनेर बोलाउँछन्। त्यस पछि दिनमा सेल रोटी र तरुलका पोका बनाएर चेलीहरूलाई बाँड्ने चलन छ। माइतमा बसेका चेलीहरूलाई गाउँमै पोका बाँडेर पोइल गइसकेका चेलीहरूलाई पनि पोका पुगाउन जाने चलन छ।

माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ। दाङ–देउखुरीमा पर्ने धार्मिकस्थल रिहार थारू समुदायको परम्परागत देवथानको रूपमा रहेको छ, त्यहाँको तातो कुण्डमा स्नान गर्न माघीको दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ। त्यहाँ भारतबाट समेत ठूलो संख्यामा तीर्थालुहरू आउँछन्।

त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने धार्मिक विश्वास छ। यसरी नेपालमा एउटै पर्वलाई पनि अलग अलग नाम र रीतिरिवाजका साथ मनाइएको पाइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *