परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान, सीमा विवादका विषयमा छलफल हुने

डिसी नेपाल
१ माघ २०७७ १०:४२

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिवसीय औचापरिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। मन्त्री ज्ञवाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

भारत जानुपूर्व परराष्ट्रमन्त्री ज्ञवालीले डिसी नेपालसँग लामो कुरा गरेका छन्। मन्त्री ज्ञवालीले आफ्नो भारत भ्रमणका क्रममा विभिन्न ४० वटा एजेण्डामा छलफल हुने जानकारी दिए।

‘नेपाल–भारतबीच विभिन्न संयन्त्रमार्फत छलफल हुन्छ। ती मध्ये सबैभन्दा माथिल्लो लेभवको संयन्त्र भनेको नेपाल–भारत संयुक्त आयोग हो,’ मन्त्री ज्ञवालीले भने, ‘यो भ्रमणमा राजनीतिक, सीमाका प्रश्न, विकास परियोजना र समग्र सम्बन्धका आयामका विषयमा समीक्षा हुन्छ।’ बैठकमा हाल केही विषयमा रहेको समस्याको बाटो खोल्ने र आगामी मार्गचित्र कोर्ने उनको भनाइ थियो।

मन्त्री ज्ञवालीले आफ्नो भ्रमणका क्रममा सीमा समस्याका विषयमा पनि छलफल हुने जानकारी दिए। ऐतिहासिक तथ्य प्रमाण र सन्धिका आधारमा सीमा समस्या समाधान गर्ने विषयमा छलफल हुने बताए।

साथै १९५० सन्धी पुनरावलोकन, नेपाल भारत प्रभुत्व व्यक्ति समूह (ईपीजी) नेपाल–भारत विकासका परियोजना र कोभिड–१९ पछि उत्पन्न परिस्थितिका विषयमा पनि छलफल हुने मन्त्री ज्ञवालीले बताए। मन्त्री ज्ञवालीले भारतसँग कोभिड १९ विरुद्धको भ्याक्सिन खरिदका विषयमा पनि कुरा हुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सार्वजनिक कार्यक्रममै लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको जमिन भएकाले त्यसलाई फिर्ता ल्याउने बताएका थिए। शुक्रवार हुने संयुक्त आयोगको बैठकको अध्यक्ष परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गर्नेछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *