हेटौँडामा एक महिने मकर मेला शुरु

रासस
१ माघ २०७७ १७:०९

वाग्मती । मकवानपुरको हेटौँडामा आजदेखि एक महिने मकर मेला शुरु भएको छ ।

यहाँको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकसित हेटौँडाको कुष्माण्ड सरोवर त्रिवेणीधाममा हरेक वर्ष माघे सङ्क्रान्तीबाट मेला शुरु हुन्छ । हेटौँडा उपमहानगरपालिका–९ स्थित त्रिवेणीधाममा लाग्ने मकर मेलामा जिल्लाभित्र र नजिकैका जिल्लाबाट श्रद्धालु भक्तजन पूजा गर्न आउने गर्दछन् । विसं २०६६ बाट शुरु भएको यो मेला पछिल्ला वर्षमा निकै लोकप्रिय बन्दै गइरहेको छ ।

कर्रा, राप्ती र कुलेखानीखोला अर्थात तीन नदीको सङ्गमस्थल त्रिवेणीधाममा लाग्ने मेलामा यस वर्ष एक महिनासम्म देवीभागवत् कथा प्रवचन हुने कुष्माण्ड सरोवर त्रिवेणीधाम क्षेत्र विकास समितिले जनाएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै यस वर्ष अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर (माक्स र सेनिटाइजरको प्रयोग गरी) मात्र भक्तजनलाई मन्दिरभित्र प्रवेश गराइने बताइएको छ ।

किम्बदन्ती अनुसार माघ १ सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले मकर मेला मनाउन थालिएको हो । मकर मेला माघ महिनाभर लाग्ने मेला हो । पौराणिक मान्यताअनुसार रत्नावती राप्ती, कर्णावती कर्रा र कौशबाही कुखरेनी नदीको सङ्गमस्थललाई स्कन्दपुराणमा नवदुर्गामध्येकी कुष्माण्ड भगवतीको सिद्धिक्षेत्र तथा क्रिडास्थलका रूपमा वर्णन गरिएकाले यो क्षेत्रको ऐतिहासिक धार्मिक महत्व रहेको छ ।

साढे सात बिघा जमिनमा फैलिएको धार्मिकस्थलमा कुष्माण्ड भगवतीको मन्दिर, गणेश मन्दिर, ब्रह्मकुण्ड, विष्णुपादुका, १०८ गौमुखीधारा, कुष्माण्ड भगवतीबीचमा रहेको सरोवर, शिवालय, राधाकृष्ण मन्दिर, हवन कुण्डलगायत सुन्दर बगैँचा एवं मठमन्दिर छन् । साथै सरोवरको मध्यभागमा स्थित कुष्माण्ड भगवतीको पूजा गर्न दुई वटा डुङ्गा सञ्चालन भएपछि यस क्षेत्रको आकर्षण झनै बढदै गएको छ ।

माघे सङ्क्रान्ति र कुष्माण्ड नवमीका दिन नुहाएर कुभिण्डो दान गर्न यहाँ भीड लाग्ने गर्दछ । त्रिवेणीधामको रूपमा परिचित यो धार्मिक क्षेत्रमा गौमुखीधारामा नुहाउन, कुष्माण्ड सरोवरमा डुङ्गा चढ्न र पूजाआजासहित अवलोकन गर्न आउने विश्वास लिइएको छ । मेलामा एक महिनासम्म निरन्तर दिउँसोको समयमा हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिकाको कलाकारहरुले सङ्गीतमय भजन प्रस्तुति गरिने छ ।

कुशको जराबाट उत्पति भएर उत्तरतिर बगिरहेको कैशावाही नदी, नवदुर्गाको चौथोस्वरुप कुष्माण्ड भगवतीले तपस्या गरेर सिद्ध प्राप्त पुण्यभूमि यहाँको प्रमुख विशेषता हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *