व्यंग्य : आफू झलमल, अरु सबै अलमल

डिसी नेपाल
२ माघ २०७७ १२:०६

अहिले सबै दलहरुलाई जनताको सम्झना आएको र जनतालाई प्रभावित पार्न देशैभरी धाएको देखेर जनता दंग पर्दै नेताहरुको कता कुन अंग बिग्रेर यस्तो क्रम भंग भएछ भन्ने बुझ्न नसकेर अलमलमा परेका छन्।

सत्तापक्ष, प्रतिपक्ष, विपक्ष आदि जे भनेपनि कोही आन्दोलनमा,कोही बिरोधमा, कोही प्रतिकारमा, कोही आफ्नो निर्णयको परिक्षणमा आदि गरेर जनतालाई आ–आफ्नो तर्फबाट सफाइ पेश गर्ने र अरुभन्दा आफूले वेश गर्ने कुरा सुनाएर हिँडेका छन्।

सरकारी र विरोधी दुवै तर्फका ठूलादेखि सानासम्मका नेताहरु देशैभरी छरिएर जनतालाई अरु सबै बेठिक आफू र आफ्नो समूहमात्रै ठिक भन्नेमा जोड दिने होडमा लागेका छन्। सरकार प्रधानले भनेजस्तो चुनाव भएको र अरुले भनेजस्तो संसद पुन : स्थापना भएर गएको दुवै अवस्थामा तयार रहनको लागि हरप्रयास गर्न परिहाल्यो अनि केही गरी आफूले भनेजस्तो परिस्थिति झरिहाल्यो भने भोलि को कहाँ पुग्छ कसलाई के थाहा हुन्छ र?

भोलि भाग्यले साथ दिएछ भने लाटाको खुट्टा बाटामा पर्न पनि सक्छ र बाठाको खुट्टा घाटामा पर्न पनि सक्छ। भित्र पुरै चिरा परेको र आफू बाहेक अर्को पक्षको सबै क्रियाकलापमा किरा परेको अनि आफूले गरेका सबै कामहरु हिरा भएको भनेर भट्याएको सुन्दासुन्दा जनताका कान टट्याएको भएपनि जनताले सुनिदिएका छन्।

अस्तिसम्म सँगसँगै सत्ताको मस्ति गरेर ठूलाठूला ठेकेदारहरुको घरमापनि सँगसँगै खानपिन गस्ति गरिरहेका शिर्ष नेताहरु खानपिनको भागबन्डामा कुरा मिल्न नसकेपछि एकअर्काका महान शत्रू भएर एकअर्कालाई पत्रु साबित गर्न न्वारानदेखिको बल निकालेर लागेका छन्। दुवै पक्षले आफूलाई सबैभन्दा राम्रो भनाउन र सबैभन्दा जनसेवी जनाउन गरेको प्रयासलाइ हेर्दा जनता झन् अलमलमा परेका छन्।

पार्टि एकता गर्दा अति सक्षम, अति क्रान्तिकारी, अति जनसेवी, अति जनवादी, अति न्यायप्रेमी, अति अग्रगामी, अति जनपे्रमी, अति राष्ट्रवादी, अति बिकासप्रेमी, अति भ्रष्टाचार बिरोधी, अति सुशासनप्रेमी, अति निश्कलंक, अति उदारवादी, अति गतिशिल, अति बुद्धिमान, अति बिवेकशिल, अति लोकप्रिय आदि आदि भनेर एक अर्काको तारिफ गरेका नेताहरु अहिले एक अर्काको दुर्गुण बाहेक एउटै सद्गुण नदेख्ने भएका देखिन्छन्।

अदालतले पुनर्बहाली गरिदिए संसदमै गएर हालीमुहाली गर्ने र नगरे चुनावमा जानपनि अघि सर्ने उद्देश्यले दुइवटा डुंगामा खुट्टा राखेर हिँड्न पर्दापनि नेताहरु आफै अलमलमा परेका छन्। जनतालाई बताउन लायक एउटै काम नगरेको हुनाले एउटाले अर्कोलाई गाली गरेर ताली बटुल्ने प्रयास गर्दागर्दै आफू नांगिएको र जनताको अगाडि आफ्नै कर्तुतहरु झाँगिएको चाल नपाउँदा ठूलै गाल परिरहेकोतिर पनि बिचार पुर्याउन सके राम्रै होला भन्नेहरुका कुरा सुनेर साध्य हुँदैन।

अहिले एक पक्षले अर्को पक्षलाई संविधान बिरोधी, विधान र नियम बिरोधी, प्रतिक्रान्तिकारी, प्रतिगमनकारी, भ्रष्टाचारी, दुराचारी, फटाहा, जोकर, तानाशाह, सर्वसत्तावादी, जुनथालमा खायो त्यही थालमा थुक्ने र जे मुखमा आयो त्यही भुक्ने आदि आदि भनेर पनि एक अर्काको धज्जी उडाउने र सारै ठूलो स्वार्थले भएको एकतालाइ चुँडाउने काम बाट पनि जनता अलमलमा परेका छन्।

कुर्सीको स्वार्थमा गडबड हुनासाथ जनतालाइ एकअर्काको दुर्गुण र कमजोरी बताउन हडबड गरेको देख्दा मान्छेको चरित्र र आनिबानी आवश्यकता अनुसार चित्रित गर्न पर्ने रहेछ भन्नेपनि जनताले दुवै पक्षका वरिष्ठ नेताहरुबाट सिकेका छन्।

स्वार्थ मिल्दा बास्ना आउने र स्वार्थ बाझ्दा नाकै फुट्ने गरी गनाउने हुनु त मानवीय स्वभाब नै होला। एकअर्कासित गाँड कोराकोर गरेर जति ठूलो झगडा गर्न सक्यो आफूलाई उति तगडा भएको सम्झने मानसिकता भएसम्म उहाँहरुको अबस्था र स्थिति यस्तै रहिरहनेमा कसैले कुनै शंका गरिराख्न पर्ने जरुरी छैन।

सत्ताको ठूलो हिस्सा उपभोग गर्नको लागि जनतालाई अनेक किस्सा सुनाएर आङको छारो उडाएको र आप्mनै औकातलाइ दोबाटोमा गुडाएको देख्दा उहाँहरुलाई भोट दिएर त्यहाँ पठाउने जनता फेरिपनि अलमलमा परेका छन्। फेरिपनि छिटै भोट खसाल्ने मौका पाइने हो कि आफ्ना होनहार प्रतिनिधिहरुलाई अदालतले फेरि आफ्नै सिटमा बसाल्ने हो थाहा हुन निकै लामो समय लागेरपनि जनता अलमलिएका हुन्।

सरकार प्रधानलाइ कुर्सीबाट खसाल्न र आफूलाई त्यसमा बसाल्न गरेको सत्ता पक्षकै नेताहरुको देखिने र नदेखिने प्रयास, प्रमुख प्रतिपक्ष र बिपक्षहरुको निरिहता, सरकार पार्टी र जतासुकै सरकार प्रधानको निरंकुश शैली, उम्मेदवारको क्षमताभन्दा अन्य कुराबाट प्रभावित भएर भोट हाल्ने जनताको बानि आदिको साथै खासगरी भित्रबाहिर तलमाथि जहाँसुकै र जतासुकै सलबलाएको स्वार्थले चलमलाएको परिस्थिति आदिले एक अवधि नपुग्दै संसद विघटन हुनपुग्दा सबै साँसदहरु ढाक्रे भएपछि आफ्नो भबिष्यको बाटो खोज्न र सबैभन्दा फाइदाजनक पाटो रोज्न परिहाल्यो।

कति ठूलाठूला सपना देखेर मुख मिठ्याउँदै बसेका सानाठूला माननीयहरु एकैचोटी सर्वसाधारणमा परिणत भएपछि के गरौँ कसो गरौँ भएर जे मुखमा आयो त्यही फलाक्दै बर्बराउनु र आफ्नै कर्तुतहरुले जनतामा जान डराएर धर्मराउनु स्वाभाबिकै हो।

जनतालाई मान्छे नगन्ने र जनतालाई झुटो कुरा बाहेक अरु केही नभन्ने आफ्नै बानीले यहाँसम्म आएको अनि अहिलेको अबस्था पछि जनताले सबै कुरा थाहा पाएको हुनाले पनि आफू र आफ्नो पक्ष बाहेक अरु सबैजना चोर ठग गफाडी फटाहा जाली निकम्मा असक्षम जनविरोधी जनमारा भ्रष्टाचारी दुराचारी आदि जस्ता जानेसम्मका सबै उपाधिबाट शुसोभित भएका हुनाले नै कुबाटोतिर गएका भनेर जनतालाई बुझाउन सबैले उत्तिकै कसरत गरेको देख्दा हामीले उत्कृष्ट भनेर भोट दिएर जिताएका सबै नेताहरु कति सक्षम रहेछन् भन्ने स्वस्फुर्त रुपमा आयोजना भइरहेको र शानदार रुपमा देशैभरी संचालनमा गइरहेको अहिलेको झट्ट हेर्दा फोहोरी हो कि जस्तो देखिने राजनीतिक दोहोरीले छर्लँग भएको हुनपर्छ।

ठूलो आपद बिपत पर्दा सबैले भगवान र सुरक्षाकर्मीहरुलाई सम्झन्छन्। बिपतको समाधान हुनासाथ भगवानलाइ सबैले बिर्सन्छन् र सुरक्षाकर्मीहरुलाई सबैले बेवास्ता गर्छन् भनेजस्तै राजनैतिक रुपमा बेवारिसे हुने अबस्था आएपछि नेताहरुले जनतालाई सम्झिन्छन् र भोट हाल्ने काम सकिनासाथ जनतालाई बिर्सन्छन् भनेको सही नै हो कि जस्तो देखिन्छ।

संबिधानमा बिघटन गर्ने अधिकार भएपनि र नभएपनि सरकार प्रधानले संसद बिघटन गरेर अलपत्र पारिदिएपछि र माननीयबाट झारिदिएपछि सबैलाई जनताको ज्यादै धेरै सम्झना आएको छ। कोही कोहिले जनतालाई सर्वोच्च अदालतभन्दा ठूलो अदालत हो भन्न भ्याएका छन् र कसैले जनता भनेका भगवान हुन् भन्ने तर्क ल्याएका छन्।

कोही जनताले यस्तो असंबैधानिक कदमलाई टुलुटुलु हेरेर र सरकार प्रधानले जे गरेपनि डराउँदै छेरेर नबस्ने जानकारी गराएका छन्। शीर्ष नेताहरुको स्वार्थ अनुसारको फैसला नआएमा जनताले उहाँहरुको लागि आँधिबेहरी र तुफान ल्याइदिने अनि त्यसैको बलमा आफूले चाहेको कुर्सी भ्याइदिने मनसाय ब्यक्त गरेका र जनताले उहाँहरुको कुर्सी प्राप्तिको आन्दोलनको लागि जस्तोसुकै बलिदानी दिने कुरामा ढुक्क परेका छन्।

पहिले आफ्ना दलका नेता कार्यकर्ता र समर्थक बाहेक अरुलाई जनता नमान्ने र अरुको हित चिताउन आवश्यक नठान्ने नेताहरुले यसपाली चाहिँ अरुलाई पनि जनताको थान्कोमा राखेको हो कि भनेजस्तो देखिन्छ। आफ्नो अन्धभक्ति र अन्ध समर्थन गर्ने बाहेककालाइ पनि जनता सम्झेजस्तो देखेर जनता अलमलमा परेका छन्।

कति ठूलाठूला सपना देखेर मुख मिठ्याउँदै बसेका सानाठूला माननीयहरु एकैचोटी सर्वसाधारणमा परिणत भएपछि के गरौँ कसो गरौँ भएर जे मुखमा आयो त्यही फलाक्दै बर्बराउनु र आफ्नै कर्तुतहरुले जनतामा जान डराएर धर्मराउनु स्वाभाबिकै हो।

यति लामो समयसम्म हुँदै आएका क्रान्ति आन्दोलन प्रदर्शन जुलुश सभा बिरोध धर्ना हडताल आदि आदिमा भरपुर प्रयोग गरेर प्राप्त उपलब्धिहरुमा आफ्नो मात्रै अधिकार भएको जनाउने र सहभागि जनतालाई चाहिँ शहिद घाइते अपांग र कंगाल मात्रै बनाउने गर्दै आएको देखिएकोमा यसपाली नेताहरुको बुद्धि फिरेको हो कि दिमागमा उही पुरानै खुराफात छिरेको हो बुझ्न भने बाँकी नै छ भन्ने उपबुज्रुकहरु पनि नभएका चाहिँ होइनन्। त्यस्ताको पछि लागेर समय बर्बाद गर्नुभन्दा नेताहरु जागेर फेरि एकपटक केही लछारिहाल्छन् कि भनेर सकारात्मक भइदिनु नै ठिक होला।

अदालतले पुनर्बहाली गरिदिए संसदमै गएर हालीमुहाली गर्ने र नगरे चुनावमा जानपनि अघि सर्ने उद्देश्यले दुइवटा डुंगामा खुट्टा राखेर हिँड्न पर्दापनि नेताहरु आफै अलमलमा परेका छन्। जनतालाई बताउन लायक एउटै काम नगरेको हुनाले एउटाले अर्कोलाई गाली गरेर ताली बटुल्ने प्रयास गर्दागर्दै आफू नांगिएको र जनताको अगाडि आफ्नै कर्तुतहरु झाँगिएको चाल नपाउँदा ठूलै गाल परिरहेकोतिर पनि बिचार पुर्याउन सके राम्रै होला भन्नेहरुका कुरा सुनेर साध्य हुँदैन।

त्यसैपनि हाम्रा नेताहरुलाई आफ्ना कुरा सुनाउने बाहेक अरुका कुरा सुन्ने फुर्सद भएको अहिलेसम्म कसैले थाहा पाएको र उहाँहरुको दिमागमा आएको देखिँदैन। मुद्दा दर्ता गर्नासाथ आफूलाई हर्ताकर्ता बनाउने गरी अदालतले फैसला देला र परिस्थितिले आफूले सोचेजस्तै बाटो लेला भन्ने आशा गर्दै अदालतलाई प्रभावमा नपार्ने तर अदालतको सही फैसलाबाट सही निर्णय आउँछ भन्ने कुरा बोलेर भाग्य सपार्ने अनि आफ्नो पक्षमा नबोल्ने न्यायमूर्तिलाई डरत्रास देखाएर झपार्ने काम पनि भित्रभित्र भइरहेको छ रे भन्ने हल्लाको पछाडि कोही लागेका छैनन्।

अदालतमा लेनदेन गरेर,आफ्ना कार्यकर्ताहरुबाट छानेर,नजिकका नातेदार र भाइ भतिजा छानेर न्यायमूर्ति नियूक्ति गर्दाको नतिजा कसकसलाई स्विकार्य हुन्छ भन्ने त फैसलापछि मात्रै थाहा हुन्छ। अहिले यसै भन्न सकिन्न। पैmसला गर्ने कुर्सीमा बसेका न्यायमूर्तिहरुको बास्तविक चित्र र मूर्तिलाइ भित्रसम्म जनताले चिनिसकेका अनि झगडियाहरुले आआप्mनालाई किनिसकेका हुनाले जेपनि हुनसक्छ भन्ने सबैको अड्कल छ।

आफ्नो दानापानी हरिएपछि र छिन्नभिन्न भएर यता र उता छरिएपछि जनताको सम्झना त आउने नै भयो। आमजनता बाहेक पनि निकै पहिलेदेखि बिर्सिइसकेका नागरिक समाज,बुद्धिजिवी,पेशागत संघ संस्थाहरु, पूर्व न्यायमूर्तिहरु, पूर्व प्रशासकहरु लगायतका समूहहरुलाई पनि दल र नेताहरुले आफ्नो आन्दोलनको लागि जाग्न र आफूलाई कुर्सीमा पुर्याउने अत्यन्त पुनित कार्यमा लाग्न अनुरोध समेत गरिसकेका छन्।

अरुले केके गरिरहेका छन् भन्ने थाहा नभएपनि केही पूर्व प्रधान न्यायमूर्तिहरुले विज्ञप्ति निकालेर घुमाउरो पारामा अदालतलाई सिकाउने र आप्mनो विद्वता बिकाउने प्रयास गरेकोमा सरकार प्रधानले निकै घोचपेच गर्दै उनीहरुलाई कठघरामै झिकाउने जस्तो अभिव्यक्ति दिएपछि उनीहरुपनि अलमलमा परेका हुन् कि जस्तो देखिन्छ।

आफ्नो दलको झगडा मिलाउन र आफ्नै नेताहरुलाई भाग दिलाउन नसकेर संसद बिघटन गर्ने सरकार अलमलमा, भविष्य सुनिश्चित गर्न सकिने तरिका खोज्दाखोज्दै सत्ता पक्षका सरकार बिरोधीहरु अलमलमा, चुनावको तयारीमा लाग्ने कि सरकार विरोधी आन्न्दोलनमा जाग्ने टुंगो गर्न नसकेर प्रतिपक्षीहरु अलमलमा, कता लाग्दा फाइदा उठाउन सकिन्छ भनेर बिचौलियाहरु अलमलमा, परिस्थितिले जनतादेखि सबैजना अहिले अलमलमै देखिन्छन्।

समग्रमा भन्नुपर्दा नेताहरुले कदर गर्न पर्ने जनमतको बदर गरेर आफ्नो स्वार्थलाईमात्रै सदर गर्दै आफू र आफ्नाको भाग्य र भविष्यमात्रै झलमल गराउन खोजेको र संधैभरी त्यहि बाटोमात्रै रोजेको हुनाले सबैजना अलमलमा परेको हुनासक्ला। आफू झलमल हुने अनि अरु सबैलाई सधैंभरी अलमलमा राखेर दुनो सोझ्याउने कहिले नफेरिएको तरिकाले यो अबस्था आएको भन्न हिच्किचाउन पर्लाजस्तो लाग्दैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *