प्रतिनिधिसभा विघटनविरुद्ध ७५३ स्थानीय तहमा काँग्रेसको विरोधसभा

डिसी नेपाल
३ माघ २०७७ १९:३३

काठमाडौं । सरकारले अकस्मात प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेको विरोधमा आन्दोलनरत प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार देशभरका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ।

काँग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक भनेको छ भने केपी शर्मा ओली नेतृत्वको सरकार सर्वसत्तावादतर्फ उन्नमुख भएको बताएको छ। काँग्रेसले शनिबार देशभर विरोध प्रदर्शन गर्दा प्रतिनिधिसभा विघटनलाईं असंवैधानिक भनेको छ भने ओली सरकारको विरोधसमेत गरेको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै शनिबार देशभरका ७५३ स्थानीय तहमा व्यापक सहभागितामा विरोध प्रदर्शन भएको बताएका छन्। उनले विरोध प्रदर्शनमा सहभागीलाई धन्यावादसमेत दिँदै यही माघ ८ गते देशभरका ६ हजार ७ ४३ वडामा हुने कार्यक्रममा पनि सहभागिताका लागि अपील गरेका छन्।

सभापति देउवाले शनिबार देशभरको विरोध सभामा देखिएको सहभागिताले नेपाली जनताको भावना अभिव्यक्त गरेको उल्लेख गर्दै ओली सरकारको कुशासन, भ्रष्टाचार, अलोकतान्त्रिक कदमप्रति जनताले विरोध प्रकट गरेको बताएका छन्।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिका चितवनमा प्रदर्शनलाई सम्बोधन गर्दै निर्वाचन गर्न ओलीले संसद विघटन नगरेको भन्दै यो राष्ट्रविरोधी कदम भएको बताए । सत्ताका लागि मात्रै काँग्रेसले राजनीति नगरेको र लोभलालचमा फस्न नहुने उनले बताए।

‘चुनाव आइहाल्यो भनेर काँग्रेस दौडिएर जाँदैन। लोकतन्त्रको जिम्मेवारी काँधमा बोकेको पार्टी हो। हामीले पहिले लोकतन्त्र जोगाउँछौं,’ उनले भने, ‘पहिले यो संविधानलाई जोगाउँछौ। यो संविधान जोगाएर संविधानमा टेकेर मात्रै चुनावको कुरा गर्नुपर्छ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई खुलमखुला दबाब दिइरहेको भन्दै आपत्ति जनाए।

कार्यक्रममा कांग्रेस नेतृ डीला सङ्ग्रौलाले र चितवनका सभापति जीतनारायण श्रेष्ठले विगतका निर्वाचनमा अरुलाई भोट दिएर ठूलो गल्ती गरेको बताए । उनले आगामी चुनावमा कांग्रेसले अन्य चुनाव चिह्नमा भोट नहाल्ने बताए ।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश आचार्यले संसद् विघटन हुनुमा प्रधानमन्त्रीसँगै प्रचण्ड र माधव नेपाल पनि दोषी रहेको बताए । संसद् विघटनको दोष सिंगो नेकपाले लिनुपर्ने भन्दै उनले प्रम मात्र यसको भागिदार नभएको बताए । उनले संसद् पुनःस्थापना नभएसम्म सङ्घर्ष जारी राख्ने बताए।

काँग्रेस मध्यपुरथिमी नगर कार्यसमितिको विरोधसभामा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालततिर फर्केर दबाबको भाषा नबोल्न आग्रह गरे।

यस्तै कांग्रेस नेता गगन थापाले राजधानीमा आयोजित विरोध सभामा सम्बोधन गर्दै केपी ओली अब कीर्तेप्रसाद ओली भएको बताए।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गरेको पत्र नै नक्कली तयार गरेको भन्दै नेता थापाले ओलीले कीर्ते काम गरेको आरोप लगाएका हुन्।

यस्तै, कांग्रेस केन्द्रिय सदस्य मिनेन्द्र रिजालले बाँके, सहमहामन्त्री डा प्रकाशशरण महतले ललितपूर, डा शेखर कोईराला बिराटनगर लगायत ७५३ वटै स्थानीय तहमा आयोजित विरोध सभामा बिभिन्न तहका नेताहरुले सम्बोधन गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *