नेपाली चलचित्रमा लगानी गर्नु बालुमा पानी खनाए जस्तै !

डिसी नेपाल
१५ कार्तिक २०७५ १३:४९

काठमाडौं। भनिन्छ ‘नेपाली चलचित्रमा लगानी गर्नु बालुमा पानी खनाए जस्तै हो।’ हुन पनि त्यस्तै छ। चलचित्र बनाउनु भन्दा चलचित्र चलाउन धेरै समस्या छ। ठूलो व्यानर र स्टारडम भएका कलाकार चलचित्रमा नभए सोलो रिलिज पाउन गाह्रो छ। अहिले नेपाली चलचित्र ‘मालिका’, ‘चङ्गा चेट’ र ‘बियोन्ड द क्लाउड्स’लाई यस्तै समस्या परेको छ।

घटस्थापना र फूलपातीबाट प्रदर्शनमा आएका चलचित्र ‘छक्का पञ्जा ३’ र ‘जय भोले’को व्यापारको गती उस्तै नै भइरहेका बेला फेरि शुक्रबारबाट नेपाली सिनेमा घरहरुमा यी तीनवटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउने भएका छन्। बुधबारबाटै यी चलचित्रको एड्भान्स बुकिङ् पनि सुरु भएको छ। चलचित्र विश्लेषकहरुका अनुसार यी चलचित्रबीच निकै प्रतिस्पर्धा हुने देखिएको छ।

‘मालिका’ रेखा थापाको व्यानरमा बनेको चलचित्र हो। नायिका रेखा थापा निर्देशित तथा अभिनित यो चलचित्र बाल विवाहको कथामा आधारति छ। यो चलचित्रबाट कर्णालीकी कमला वली डेब्यू गर्दै छिन्। रामशरण उप्रेतीको छायांकन रहेको यो चलचित्रमा शिवम अधिकारीको पटकथा रहेको छ। चलचित्रको कथा नरबहादुर कार्कीले लेखेका हुन्। कार्की चलचित्रका कार्यकारी निर्मातासमेत हुन् भने निर्माताको रुपमा रेखाकी आमा सरस्वती थापा छिन्।

त्यस्तै शुक्रबाटै प्रदर्शनमा आउने नेपाली चलचित्र ‘चङ्गा चेट’ कमेडीमा आधारित छ। चलचित्रमा समाजभित्रको यथार्थ घटनालाई हाँस्यरस मार्फत प्रस्तुत गर्न खोजिएको छ। दीपेन्द्र के. खनालले निर्देशन गरेको यो चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। निरक कँडेलको छायांकन रहेको यस चलचित्रको ‘गोजीमा दाम छैन’ बोलको गीत हिट भइसकेको छ।

चलचित्रमा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रबिन्द्र झा, प्रियंका कार्की, परमिता राणा, सुरक्षा पन्त मुख्य भुमिकामा रहेका छन्। त्यस्तै शुक्रबारबाटै प्रदर्शनमा आउने तयारीमा रहेको अर्को चलचित्र ‘बियोन्ड द क्लाउड्स’ अस्कर अवार्डमा मनोनीत नेपाली चलचित्र ‘क्याराभान’का निर्देशक एरीक भ्यालीको नेपाली चलचित्र हो। तर यस चलचित्रको त्यति प्रचार भने गरिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *