सञ्चालनमा आउँदै उपत्यकाका विद्यालय
काठमाडौँ। काठमाडौँ उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक सत्रलाई सदुपयोग गर्ने तयारी गरेअनुसार माघ पहिलो सातादेखि सबै विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो।
भक्तपुरको सूर्यविनायक नगरपालिकाले आइतबारदेखि सबै विद्यालय खोल्ने निर्णय गरेको नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिए। भौतिक संरचना तथा विद्यार्थीको सङ्ख्याका आधारमा विद्यालय सञ्चालनबारे विद्यालयले थप निर्णय गर्ने जनाइएको छ।
ललितपुर जिल्लाका धेरै स्थानीय तहले पनि आइतबारदेखि नै विद्यालय सञ्चालन गर्ने भएका छन्। ललितपुर महानगरपालिकाले गत महिनादेखि कक्षा सञ्चालन गर्न सक्ने गरी विद्यालयलाई बाटो खोलिदिएको छ।
गोदावरी नगरपालिकाका शिक्षा प्रमुख देवीप्रसाद उपाध्यायले नगरपालिकाका विद्यालय आइतबारबाटै सञ्चालनमा आउने जानकारी दिए। स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्दै विद्यालय सञ्चालनमा ल्याउन भनिएको छ।
नगरपालिकाले सामुदायिक विद्यालय सञ्चालनका लागि सहज होस् भनेर माध्यमिक विद्यालयलाई २५ हजार, कक्षा आठसम्म सञ्चालन भएका विद्यालयलाई १५ हजार र कक्षा पाँचसम्म सञ्चालन भएका विद्यालयलाई १० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
काठमाडौँका धेरै स्थानीय तहका विद्यालय पनि माघ पहिलो सातादेखि सञ्चालनमा आउँदै छन्। काठमाडौँ महानगरपालिकाले भने विद्यालय सञ्चालन गर्ने औपचारिक मिति घोषणा गरेको छैन।
आइतरबार यस विषयमा छलफल गर्न बैठक बोलाइएको र त्यसले निर्णय गर्ने जानकारी महानगरपालिकाका सम्बद्ध अधिकारीले दिएका छन्। पहिलो साताभित्रै महानगरका विद्यालय सञ्चालन गर्ने योजना छ। कीर्तिपुर नगरपालिकाले पनि माघको पहिलो सातादेखि विद्यालय सञ्चालनमा ल्याउन निर्देश गरेको नगरका शिक्षा प्रमुख टङ्कलाल गैरेले जानकारी दिए। गाेरखापत्र दैनिकबाट
Facebook Comment