नयाँ साथीहरुलाई स्वर्गमा स्वागत
भौगोलिक विविधताको रहस्यमय सौन्दर्यता। विचित्रको प्रकृतिक छटाले भरपूर सौन्दर्यता। जैविक विविधता, वनस्पति विविधता, सांस्कृतिक विविधताको अध्ययन, अवलोकन, अनुसन्धान र विश्लेषणको अपूर्व अवसर। विशुद्ध पवित्र सेवाको अवसर। प्रकृतिको सेवा। धार्मिक सेवा। त्यो हो निकुञ्ज आरक्ष तथा वन्यजन्तु संरक्षण सेवाको अवसर।
एउटा साधकको दृष्टिमा निकुञ्ज आरक्ष भनेको पृथ्वीको सजीव स्वर्ग हो । तसर्थ, त्यो स्वर्गको सेवामा आउने नेपाली सेनाको नया“ संरक्षणकर्मीहरुलाई हार्दिक स्वागत छ।
कसरी स्वर्ग
हिन्दू, बुद्धिस्ट, ईस्लाम, क्रिस्चियन, जैन जुनसुकै धर्म होस् ≤ ईश्वरहरुले ध्यान र ज्ञान प्राप्त गरेको निकुञ्ज र आरक्षबाट हो। तसर्थ, निकुञ्ज आरक्ष ध्यान भूमि, ज्ञान भूमि, शान्ति भूमि हुन्। ईश्वर प्रसन्न भएर बास गर्ने ठाउँ हुन्। आजका बौद्ध बिहारहरु निकुञ्जका रेप्लिका हुन्। त्यसैले पशुपतिनाथ मन्दिर शिवपुरी राष्ट्रिय निकुञ्जबाट उत्पन्न वागमती नदी किनारमा अवस्थित छ ।
मुक्तिनाथ मन्दिर अन्नपूर्ण संरक्षण क्षेत्रको पवित्र हिमालको काखमा अवस्थित छ । जानकी मन्दिर र मायादेवी मन्दिर ४ कोसे अनकण्टार जङ्गल बीच अवस्थित थिए उहिले । कैलाश, सागरनाथ, ऋषिकेश, हरिद्वार लगायतका सबै तिर्थस्थलहरु प्रकृतिका काखमा छन्। फेवाताल बीचको बाराही मन्दिर जस्तै। त्यसैले संसारका मन्दिर, चर्च, स्तुपा, मस्जिदहरु सुन्दर शान्त प्रकृतिका काखमा अवस्थित छन्।
हरेक वनस्पतिमा ईश्वरको बास छ। हरेक वन्यजन्तु ईश्वरका वाहन हुन् । पंक्षी जलचर थलचर सबैमा ईश्वरको आत्मा हुन्छ भनिएको छ शास्त्रमा। व्यवहारमा आफूले अनुभव गरेको सत्य र स्वीकारोक्ती।
स्वर्गको उदाहरण
पंक्तिकारसँग लाईबेरिया कि फरेष्ट रेञ्जरको साक्षात्कार भेट भयो चितवन राष्ट्रिय निकुञ्जमा। उनी मेरा असल मित्रकी छोरी थिइन्। भेटमा ती रेञ्जरले अपार खुशी र सुख पोखिन्। असीमित खुसी जुन शब्दमा वर्णन गर्न कठिन छ। उनले भनिन्– मेरो पिता र तिमीले सेवा गरेको मान्छे हेगमा कैदी जीवन बिताइरहेको छ।
स्वर्गको सेवामा असल आचरण, मिजास र मित्रभाव प्रदर्शन गरेर सबैको मन मश्तिष्क जित्ने संरक्षणकर्मी कानूनमा कडा थिए। शून्य सम्झौता र सहनशीलतामा काम गर्ने उनीहरुको दृढ संकल्प देखेर कसैले उनीहरुको स्वर्गमा अवैध घुसपैठ, चोरिशिकार र तस्करी गर्ने हिम्मत परै जावस् कल्पना समेत गर्दैन थिए। त्यो निकुञ्ज स्वर्गभन्दा सुन्दर एउटा रामराज्य जस्तो थियो।
तर मैले सेवा गरेको वनस्पति र वन्यजन्तुले मलाई हरेक सेकेण्ड आशिष दिइरहेको छ। मैले मेरो त्यो पवित्र सेवा मिस् गरिरहेकी छु। मेरो निकुञ्जले अहिले मलाई मिस गरिरहेको छ। गत वर्ष ७ दिनको लागि विश्व रेञ्जर्स सम्मेलनमा सहभागी हुन नेपाल आएकी रेञ्जरको प्रकृतिमोह र गर्व देखेर मेरा आ“खा रसाए।
उनको पिता र मैले सेवा दिएर राष्ट्रपति बनाएका चाल्र्स टेलर हेगमा थिए। तर प्रृकृति सेवामा एकाग्र उनको पवित्र त्यागले उनलाई स्वर्गीय आनन्दको सुखद् अनुभूति प्राप्त भएको थियो। र, उनी कोही बैगुनी अथवा अपराधी होइन ईश्वरको भाग्यमानी सेवक भनिरहेकी थिइन् आफूलाई।
आफ्नो अनुभव
त्यो टाढाको कुरा भयो। आफ्नो स्वअनुभव जस्ताको तस्तै राख्न चाहन्छु। राजाको सेवा गरें राजा रहेनन्। पञ्चायतको सेवा गरें पञ्चायत फ्याँकियो। बुहदलीय प्रजातन्त्रको बाजागाजा स्वागत र सेवामा हाजिर भएँ। त्यसलाई झन् बन्दूक र गोला बारुदको बलले छिनभर टिक्न दिइएन।
त्यसलाई निलेर पुनः स्थापित लोकतान्त्रिक गणतन्त्रको स्वागत र सेवामा लतारिए। जुन घरको न घाटको घाँडो र पासो भएर कोमामा गएको छ अहिले। न रहे शासन पद्धति न रहे शासक। कोही स्वर्गबास गए, कोही जेल। कोही भूमिगत, कोही योगी र सन्यासी।
तर मैले सेवा भरेको बाघ लगायतका वन्यजन्तु र वनस्पति स्वर्गमा आसिन छन्। प्रकृति र प्राणीको जीवनचक्र धानिदिरहेका छन्। कति अपूर्व सेवाको अवसर पाएको रहेछु मैले। मेरा सहकर्मी र सहयात्रीहरुलाई शासक शासन पद्धतिले कहिले हायर गरे कहिले फायर।
अनि एउटा समय र विन्दूमा ती शासक आफै फायर भए र हराए। तर म आजसम्म मेरो स्वर्गको वनस्पति र वन्यजन्तुको असीम माया, गुण र आशीर्वाद प्राप्त गरिरहेको छु। संस्था र समय (उमेर) ले मलाई विश्राम दिएको छ।
तर म स्वर्गको सेवामा बिलिन भएर आनन्द लिइरहेको छु। उहिले प्रत्यक्ष फिजिकल सेवा। अहिले अप्रत्यक्ष भावनात्मक सेवा। त्यही सेवाको उपज हो यो आलेख। ३४ वर्षको सेवामा निकुञ्जको सेवा यति धेरै पवित्र रहेछ त्यसले बाँकी जीवनलाई सफल,सार्थक र खुशी बनाइदियो। सैनिक जीवनमा आफूले कमाएको धर्म दुईवटा। पहिलो प्रकृति सेवा र दोश्रो उद्धार सेवा। आफूलाई खुशी र सुखी राख्ने परम सन्तुष्टी। पवित्र सेवाको गौरव गर्ने ठाउँ।
अनि गहिरो पश्चाताप सिर्फ एउटा। द्वन्द्व र द्वन्द्व नामको नाटकमा सक्रिय सहभागिता। समयको बर्बादी। धनको नास। पसिना र रगतको खोलो। मातृभूमिमाथि अन्तरघात। स्वर्ग (निकुञ्ज) लाई नर्क बनाउने र पश्चातापको डढेलोले मुटु पोलिरहने त्यस्तो द्वन्द्वको नाटक फेरि नरचियोस् र मञ्चन नगरियोस यो पवित्र शान्ति क्षेत्र मेरो स्वर्गमा।
किन स्वर्ग ?
यी हरफ लेख्दै गर्दा काठमाण्डौं उपत्यकाको एयर क्वालिटी ईण्डिकेटर (एक्युआई) ४८७ थियो। जब कि मेरा स्वर्गहरु तराई निकुञ्जमा १०० हाराहारी र पहाडी निकुञ्जमा ५० भन्दा कमको ए.क्यु.आई. मा स्वच्छ हावाको स्वास प्रश्वास गर्न पाइन्छ।
राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री मन्त्रीगण उपस्थित हुने समारोह, समारोहस्थलको सुरक्षा, भ्रमण सुरक्षा, बाटोको सुरक्षा, निवास सुरक्षा, हाईपोइण्ट डिउटी, गन्धे पुलमुनिको डिउटीले हायलकायल आफू जब बर्दिया राष्ट्रिय निकुञ्जमा टेक्न पाए“ मैले चारैतिर स्वर्ग नै स्वर्ग देखें । कहाँको गन्धे डिउटी कहाँको स्वर्गको सेवा। दुवै जागिर तर सेवा अतुलनीय।
सानो कम्पाउण्ड भित्रको व्यस्त जीवन। पुराना राजा ( मोहन सम्शेर) को जीर्ण दरबार भित्रको बन्दी जस्तो जीवन। ९६८ वर्ग कि.मि. निकुञ्जभित्र निर्वाध स्वतन्त्र हर्कत र सेवा गर्न पाउने अवसरले मलाई सत्य स्वर्ग प्राप्त भएको अनुभूत भयो।
कहिले पुगिसक्नु, घुमिसक्नु, बुझिसक्नु र जानिसक्नुको जिज्ञाशा पलायो। त्यही जिज्ञाशाले मलाई स्वर्गमा २४ घण्टा घडिको सुईजस्तो चल्न सिकायो। पंखा जस्तो घुम्न सिकायो। स्वर्गको चप्पा चप्पा कुना कुनामा पैदल पुगेर रमाउन उर्जा भरिरह्यो। मन खुशीले सधैं उद्वेलित भईरह्यो।
अर्ध सैनिक जीवन, नयाँ रुटिन, नयाँ कर्म, नयाँ नयाँ ज्ञान, शिक्षा र अनुभवले प्रकृतिप्रेमको गहराईमा पुर्यायो। साहस चुलियो । आत्मविश्वास बढेर गयो र परिपक्वता टल्कियो। जीवनमा नयाँ ढोका नयाँ आयाम नव सोच जागृत भयो र स्वर्ग जाने मार्ग प्रशस्त भएको अनुभूत भयो।
आज लाग्दछ, त्यो अवसर प्राप्त नभएको भए म कुवाको भ्यागुतो अथवा भेडिगोठको बलवान भेडो मात्र हुने थिएँ। अहिले प्रकृतिको साधक हुन पाएको छु। खुल्ला आकाशमुनि खुल्ला सोच भएको स्वर्गको साधना गर्ने ईमान्दार पुजारी। धन्य मेरो स्वर्ग। टीम निर्माणको अवसर।
टीमवर्कको अभ्यास। विविध संस्कृतिको सम्मान गर्ने अपूर्व मौका। सिभिल सुप्रिमेसी सम्मानको अवसर। जनहित र राष्ट्रहितको काम। तठस्थ डिउटी। अन्तर्राष्ट्रिय वातावरण सुरक्षामा योगदान। नया“ ज्ञानपुञ्ज। नयाँ र रोचक नेटवर्किङ। जीवन कै एउटा नयाँ अध्याय।
पहलताको पाठशाला। निर्णय क्षमता बढाउने प्राकृतिक अभ्यास ईलाका। नेतृत्व विकास गर्ने सजीव शिक्षालय। स्वाभिमान र आत्मनिर्भरताको पाठ सिक्ने आधारईलाका। स्वास्थ्यलाभ गर्ने योगालय।पृथ्वीको वास्तविक स्वर्ग ।
मूल्यवान् भूमिमा प्राप्त अमूल्य अवसर
द्वन्द्व पछि फिल्ड मार्शल जोन सर च्याप्पल चेपाङ्गबाट गुठी आउनुभयो। हामी बबईबाट गुठी गयौं। गुठी बबई नदी बीच रमाईलो लिङअप भयो। उहाँको टीमको २ जना बेलायती संरक्षणविद्हरुले बबई नदीको त्यो किनारामा क्याम्पिङ गर्न पाए जति दस्तुर तिर्न पनि तयार रहेको बताइरहन्दा मैले स्वर्गको सौन्दर्यता र मूल्य आंकलन गरिरहेको थिएँ।
जहाँ मैले साच्चिकै पटकपटक क्याम्पिङ गरेर सफा दहमा गैंडाको जलक्रिडा हेरेर रात बिताएको थिए“। कर्णालीको टापूमा क्यम्पिङ गरेर बाघलाई नजिकबाट हेरेको थिएँ। निवास र बिलासी खाटमा जो पनि सुतेको हुन्छ भनेर मैले एउटा म्याट्रेस र मण्डीका साथ धेरै रातहरु वन्यजन्तु माझका टावरहरुमा बिताएँ।
अहिले थाहा पाएँ ती सबै धन्य मूल्यवान् स्वर्गमा गर्न पाएका अमूल्य अवसरहरु रहेछन्। जुन सम्झना गर्दा आज स्वर्गीय आनन्द प्राप्त हुन्छ। नगरेको भए पापले कति भुट्भुटिने थिएँ होला म। जबकि त्यही साहसिक रमाईलो गर्न पर्यटकहरु र प्रकृतिप्रेमीहरु हुरुक्क हुन्छन्। जति दस्तुर तिर्न पनि तयार हुन्छन् तर कानूनले बर्जित् गरेकोले पाउदैनन्।
यी अपूर्व अवसरहरु संरक्षणकर्मीहरुलाई निःशुल्क प्राप्त छन्। ‘ती अवसरहरुको भरपूर उपयोग गर’ भनेर प्रकृतिले उत्प्रेरित गरिरहेकी छिन्। साहसिक र सानदार एवं सफल संरक्षणको मनोकामना (मिशन) तबमात्र पूरा हुन्छ भन्ने मेरो बुझाई छ। सेफ्टी र सेक्युरिटीलाई मध्यनजर राखेर नव आगन्तुक संरक्षणकर्मीहरुले स्वर्गका यी निःशुल्क अवसरहरुको भरपूर उपयोग गरुन्, शुभकामना छ।
कर्म धर्म
स्वर्गको सेवा सकरात्मक सोच विकासको अवसर हो। यसलाई स्वास्थ्य लाभ गर्ने, स्वास्थ्य बर्धकता बढाउने, शारीरिक सुगठन बढाउने, बि.एम.आई. फिट राख्ने अपूर्व अवसर हो। जंगलमा अल्छी, कामचोर र विलासी जीवनको कल्पना तथा आशा गर्नु सरासर पाप लाग्ने कुरा हो। पशुश्राप, वनस्पतिश्राप लागेर जीवनभरि तड्पिने त्यस्तो पाप भूलबस् पनि गर्नुहुँदैन।
एकजना योगी स्वभावका गणपतिले निकुञ्जको गणलाई मदिरारहित, धुम्रपानरहित र सुर्तीजन्य वस्तु (खैनी–कुड्का) रहित राखेको देखेर मैले ठूलो पाठ सिक्न पाएको थिएँ। मेरा जुनियर ती गणपतिलाई आजसम्म र आजीवन म सम्मान गर्दछु।
किनभने उनले आफ्नो भावना भक्ति र व्यवहारबाट स्वर्गको सेवा गरेको देखेर आफू नतमस्तक भएको थिएँ। सैनिक ऐन र मौखिक रुखो आदेशको आडमा होईन आफू नमूना साधक भएर आफ्नो भावना र भक्तिले उनले ८५० मान्छेको मन जितेका थिए।
८५० श्रीमतीहरुको श्रीमानहरुलाई असल नागरिक बनाईदिएका थिए। १७०० पितामातालाई गुन लगाएका थिए । त्यति नै बालबच्चाहरुलाई गुन लगाएका थिए। असल संरक्षणकर्मीहरुको असल बानी व्यहोराले स्थानीयवासीहरुलाई गुन लाग्ने नै भयो।
संयुक्त जिम्मेवारी मिलिजुली बहन गर्ने संरक्षण साझेदार संघ संस्था र टीमलाई झन् गहिरो गुन लागेको थियो। अझ ठूलो गुन वन्यजन्तु र वनस्पतिलाई लागिरहेको थियो कि उनीहरुले सत्कर्म, सधर्म मात्र गर्ने सद्गुणी संरक्षणकर्मीको सेवा ग्रहण गर्न पाए।
स्वर्गको सेवामा असल आचरण, मिजास र मित्रभाव प्रदर्शन गरेर सबैको मन मश्तिष्क जित्ने संरक्षणकर्मी कानूनमा कडा थिए। शून्य सम्झौता र सहनशीलतामा काम गर्ने उनीहरुको दृढ संकल्प देखेर कसैले उनीहरुको स्वर्गमा अवैध घुसपैठ, चोरिशिकार र तस्करी गर्ने हिम्मत परै जावस् कल्पना समेत गर्दैन थिए। त्यो निकुञ्ज स्वर्गभन्दा सुन्दर एउटा रामराज्य जस्तो थियो।
आजपनि चाहिएको निकुञ्ज त्यस्तै रामराज्य हो। सबै प्रकारका हानी नोक्सानीबाट स्वर्गलाई सुरक्षित र सफा राख्ने काम अरु कसैको होइन केवल ‘ल ईन्फोर्समेण्ट एजेन्सी’ को हो। मायाले संरक्षण हुँदैन।
नम्र बोली, हँसमुख, नैतिकवान चरित्र र स्वभाव तर कानूनमा कडा संरक्षणकर्मीहरुको विशेषता हुनुपर्दछ। मुखमा रामराम संरक्षणमा कडाई व्यवहारले मात्र संरक्षणको उद्देश्य हासिल हुन्छ। यो आफ्नो जप्, स्तुति, अभ्यास र अनुभव हो। जसको औचित्य सायद अझै समाप्त भएको छैन कि?
प्रकृति संरक्षण जिम्मेवारी नै ठूलो धर्म हो। यस्तो पवित्र जिम्मेवारी जो कोहीलाई प्राप्त हुंदैन। तपाईँहरु आफूमात्र स्वास्थ्य लाभ र खुशी प्राप्त गरिरहनुभएको छैन। आफ्नो अक्सिजन कारखानाबाट मातापिता परिवार र सम्पूर्ण प्राणी जातिलाई स्वच्छ हावा आपूर्ति गराइरहनुभएको छ। निःशुल्क भएर मात्र त्यसको मूल्य र महिमा थाहा नभएको हो।
यो धार्मिक जिम्मेवारीसँग उद्धार कर्म जोडिएको हुन्छ। हात्तीले स्थानीय जनताको घर नभत्कावस उद्धार हो। आफूले संरक्षण दिएको बाघले मान्छे माथि आक्रमण नगरोस झन् ठूलो उद्धार हो। आफ्ना वन्यजन्तुहरुले स्थानीयको गहुँबाली नोक्सान नगरोस् अर्को उद्धार हो।
विद्युत पासो, नहर, खाडल, विषादीले वन्यजन्तुको ज्यान नजावस त्यो पनि उद्धार हो। जाडोमा हिमालमा, गर्मीयाम तथा वर्षामा तराईमा स्थानीयवासीहरुलाई प्राकृतिक विपद्ले सताउदछ र त्यहाँ फष्ट रेस्पोण्डर भएर काँध थाप्न पुग्नु झन् ठूलो उद्धार हो। यी दुई पवित्र जिम्मेवारीले हामीलाई परम सन्तुष्टी, सुख र खुशी दिने छ तत्काललाई। तर त्यो सन्तुष्टीको ब्याजले आजीवन हामीलाई सुखी र खुशी राख्ने छ।
तसर्थ, जागिरले सुखद् कर्म र कर्मले धर्म कमाउन सक्ने अपूर्व जिम्मेवारी हो निकुञ्ज सेवा। चुनौती धेरै छन्। जोखिम धेरै छ । तर तिनलाई जितेर सफलता हात लगाउने काम फिल्ड कमाण्डरको कला हो। निकुञ्जलाई स्वर्ग देख्ने आँखा हुनुपर्यो हरेक फिल्ड कमाण्डरको । फौज भनेको शक्तिका खानी हुन्। जति खर्च ग-यो उति बढ्दै जाने शक्ति हो हाम्रो फौज भनेको। त्यो भनेको जति धेरै गस्ती ग-यो उति बलियो र शक्तिशाली हुँदै जाने सरल सुत्र ।
शुभकामना
विश्व महामारीले चुनौती चुलियो । हाम्रो शक्ति र क्षमता सीमित भयो। यद्यपि, आन्तरिक महामारी र बाह्य चोरी शिकार समस्यास“ग जुधेर पवित्र तर कदरयोग्य काम पूरा गरि जाने फौजलाई हार्दिक शुभकामना।
हमेसा मनन होस्- ‘एकपटकको संरक्षणकर्मी आजीवन संरक्षणकर्मी।’ चुनौती र जोखिमको पहाडस“ग जुध्न र ईमान्दार योगदान एवं त्याग गरेर किर्ती राख्न दृढसंकल्प लिई आएको फौजलाई सफलताको हार्दिक शुभकामना।
(निकुञ्ज आरक्षमा जारी अदली बदली फौजलाई शुभकामना दिन लेखकको ‘स्वर्गको सेवा’ पुस्तकबाट सम्पादित अंश)
Facebook Comment