गृह कार्य नपुगेको भन्दै काँग्रेस बैठक सर्‍यो

डिसी नेपाल
५ माघ २०७७ १७:३८

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको मंगलबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा सरेको छ। सोमबार अपराह्न सूचना जारी गर्दै पार्टी कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले बैठक सरेको जानकारी दिएका छन्।

अब बैठक यही माघ १३ गते बस्ने जनाइएको छ। पौडेलले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ माघ ६ गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ माघ १३ गते मंगलबार दिनको १ बजे बस्ने भएको छ। सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।’

महाधिवेशनको मिति तोक्नका लागि बोलाइएको केन्द्रीय कार्यसमिति पटक पटक सर्नुको मुख्य कारण आन्तरिक सहमति जुट्नु नरहेको बताइएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल निकट एक नेताले महाधिवेशनको मितिबारे ठोस सहमति हुन नसकेको बताए। दुई महामन्त्री रहेको कार्यदलको सोमबार बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि केन्द्रीय कार्यसमितिको बैठक सारिएको हो।

सहमहामन्त्री डा.प्रकाशसरण महतले गृहकार्य नपुगेकाले बैठक सरेको बताए। उनले डिसी नेपालसँग भने, ‘गृहकार्य नपुगेकाले बैठक सारिएको हो। केही प्राविधक कुरा मिलाउन बाँकी छ। निर्णय गर्ने कुराको तयारी नभई बैठक शुरु गर्ने कुरा भएन। यही महाधिवेशनबारे नै प्राविधिक तयारी पुगेको छैन।’

आगामी फागुन ७ देखि १० सम्म पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गत वर्षके माघमै भएको थियो। हालसम्म सो निर्णयमा कुनै परिवर्तन भएको छैन। तर, फागुनमा महाधिवेशन नहुने पक्का भइसकेको छ। अब नयाँ मिति तोक्नेबारे पार्टीमा छलफल चलिरहेको छ। सभापति शेरबहादुर देउवा पक्ष कम्तिमा जेठमा महाधिवेशन गर्नेपुर्ने पक्षमा छ भने वरिष्ठ नेता पौडेल माघ मशान्तमा क्रियाशील सदस्यताको विषय टुंग्याएपछि स्थानीय तहबाट अधिवेशन शुरु गरिहाल्नुपर्ने पक्षमा छन्।

संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्म महाधिवेशन गर्नुपर्ने बाध्यतामा काँग्रेस छ। तर यही बेला संसद विघटन भएर चुनाव घेषणा गरिएकाले संसद् पुनःस्थापना नभए काँग्रेस महाधिवेशन झन प्रभावित बन्ने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *