गर्जिन बिर्सेकी बघिनी

डिसी नेपाल
६ माघ २०७७ ११:४६

बाटोभरी उनको त्यो रसिलो आँखा मानसपटलमा घुमिरह्यो । विवाहपछि माइती छोडेर गएसँगै महिलाको जीवनमा एक किसिमको परिवर्तन भइदिन्छ। छोरीबाट बुहारी, भाउजु, काकी, माइजु, सासु यावत नाताहरुमा गाँसिन पुग्छन् उनीहरु। यी र यस्तै नातामाथि न्याय गर्दागर्दै महिलाले आफूलाई बिर्सदा उनीहरु जे थिए त्योभन्दा अलग हुन जान्छन्।

तर मानिस आफू जे हो त्यो भन्दा पृथक रुपमा कतिञ्जेल बाँच्ने ? साँघुरो घेराभित्र एउटा स्वतन्त्र नागरिकलाई कहिलेसम्म बाँधेर राख्ने ? लगाउने लुगादेखि खानेकुरासम्म र हिँड्ने बाटाहरुसम्मको सीमा कहिलेसम्म कायम राख्ने ? महिलाहरुले आफ्नो कर्तव्य र मर्यादालाई नबिर्सी सम्मानसाथ जीवन बाँच्न किन नदिने ?

विवाहपछि माइती छोड्दै गर्दा के उनले उनका सपना, लक्ष्य, प्रतिभा, क्षमता सबै छोड्नु पर्ने ? हाम्रो समाज कहिलेसम्म महिलाप्रति यति अनुत्तरदायी हुन सक्छ ? यस्तै अनेकौ प्रश्नले मनमा अन्तरद्वन्द्व गरिरहे ।

यसपटक भने उनको साथ नछोड्ने र उनको त्यो आखा फेरि चम्किलो देख्ने इच्छा दृढ हुदै गयो र मनमनै अठोट गरेँ अब भने तिमीले केही गर्नै पर्छ अबपनि केही गरिनौ भने तिमी अल्पआयुमै घरभित्रैको चौघेरामा समाप्त हुनेछ्यौ ।

बिहान उठ्नासाथ उनलाई सम्पर्क गरेर भेट्ने इच्छा जताएँ । उनले खुशी हुँदै बोलाइन् बरु छिट्टै आऊ है भन्न छुटाइनन् । म समयभन्दा केही अघि नै पुगे । आज उनी केही फरक थिइन्। क्षमता भएको मान्छे केही नगरी बस्दा केही निराश भए पनि उनमा अब केही गर्नुपर्छ भन्ने हुट्हुटी सुरु भैसकेको थियो। उनले कफी बनाएर ल्याइन्।

मीठो कफीको चुस्कीसँगै उनले भनिन् ‘अब भने मैले काम सुरु गर्नुपर्छ । अहिलेसम्म त जीवन निराश छ तर अब पनि केही नगरे चारैतिर अन्धकारले बास गर्नेछ । उसो त उज्यालो पो कति नै छ र ? तर यसैगरी बसे अन्धकारमा म चलमलाउन पनि सक्दिन । निराशा र अन्धकारलाई मैले राम्रोसँग बुझेकी छु।

व्यस्तताको जीवन भागदौडको जीवन फेरि हामी केही समय भेट्न सकिरहेका थिएनौं तर पनि उनीप्रतिको चिन्ता र चासो त्यतिकै थियो । उनी छिन् नै त्यस्तै निश्छल, इमान्दार, भावुक, प्रेमिल। अहिले पनि उनीसँग भेट्दा एउटा सत्यताको नजिक पुगेको जस्तो निस्वार्थतासँगको साक्षात्कार जस्तो भइरहन्छ। उनले गरेका कामहरु साना साना छन् तर त्यसभित्रका आत्मसन्तुष्टी ठूला ठूला छन्।

कुनै समय मसँग एउटा कलम र कापी हुन्थ्यो । त्यो बेला मसँग लेख्ने कुरा धेरै हुन्थे । म कापीका पाना सकिने हुन् कि भन्दै जोगाउँदै लेख्थेँ । उबेलाको चाइनिज पेन हराउँछ कि भनी निकै जतन गर्थें।

आज मसँग दर्जन कापी र कलम त छन् तर लेख्ने कुरा नभएर म विचलित छु। अब म यी कापीहरुमा मेरा सपनाका रंगहरु भर्नेछु । जीवनलाई एउटा गति र दिशा दिएर एउटा स्वतन्त्र उडान भर्नेछु ।’

उनको यति कुरा सुनेपछि मलाई पनि के खोज्छस् कानो आँखो भनेझैं भयो । मैले पनि उनको होस्टेमा हैंसे थपिहालें ‘हो अब तिमीले सुरुवात गर्नुपर्छ । तिमीभित्र भएको क्षमतालाई निकाल्नुपर्छ। सबैसँग केही न केही क्षमता हुन्छ नै।

यसलाई प्रयोग गर्ने भेउ भने पाउनै पर्छ । यसै खेर जान नदेउ आफ्नो प्रतिभालाई ।’ तनमनले भन्यो उनलाई हौसला चाहिएको थियो त्यो मैले दिए। यसपटक उनी चम्किलो हुँदै गइन्। उनका निरस आँखाहरुमा सपनाको रंग भरिन थाल्यो  उनका लागि यतिका वर्षपछि बाहिर निस्केर काम गर्नु चुनौती पूर्ण त थियो तर असम्भव थिएन।

केही समयको अन्तरालमा उनको र मेरो भेट घरको कौसीमा होइन एउटा रेष्टुरेन्टमा भयो। यसपटक उनी केही फरक देखिएकी थिइन् । यसअघि सधैं अरुका लागि बाँचेकी उनी अब भने आफ्ना लागि पनि सोचिरहेकी थिइन्। उनी भन्दै थिइन् ‘निराशा र अन्धकारलाई चिर्दै म अघि बढिरहेकी छु।

यतिका वर्षपछि फेरि सुरु गर्नु सजिलो थिएन तर पनि काम गर्ने इच्छाशक्ति जोश र जाँगरले सहज बनाइरहेको छ । हामी महिलाहरु केही अपवादलाई छोडेर कोमल, भावुक, त्यागी, संवेदनशील हुन्छौं, हामी प्रेममा सबै समर्पण गर्छौं, भोलिको लागि पनि सोच्दैनौं र समय बितिसकेपछि पछुताउँछौं।

जिन्दगीको यो दौडमा पछि नपर्न हामी आफैं सजग हुन जति जरुरी छ त्यति नै जरुरी परिवारको प्रेरणा र हौसलाको छ । जसरी सफल पुरुषको पछाडि महिलाको हात हुन्छ त्यसैगरी सफल महिलाको पछाडि पुरुष र परिवारको हात हुन्छ ।’

‘समाज पहिलाको जस्तो रहेन । पहिला महिला पढदैन थिए त्यसैले पुरुष मात्र सफल भए पुग्थ्यो । अबका महिला पुरुषजत्तिकै पढछन्। त्यसैले पुरुष जत्तिकै सफल हुने सपना पनि बोक्छन । सफलतामाथि जति पुरुषको अधिकार छ त्यति नै महिलाको पनि छ।

अब महिलालाई पनि त्यो वातावरण घरपरिवारले बनाइदिन ढिला गर्नुहुन्न। अन्यथा घर भित्रै महिला र पुरुषबीच असन्तुष्टिको एउटा पर्खाल खडा हुनेछ जसले विभाजन ल्याउनेछ।  यस्तो विभाजन ल्याउने काम समयमै बन्द गर्नु हामी सबैको दायित्व हो । त्यो विभाजन व्यक्तिको मात्रै होइन।

यसको असर व्यक्ति, परिवार र समाज हुँदै देशमा नै हुनेछ । जीवन बग्नको लागि रहेछ जम्नको लागि होइन। जसरी जमेको पानी गन्हाउँछ त्यसैगरी जीवन नबगे रोग लाग्छ । यो बगाइलाई कतिको वेग दिने र कहिले नियन्त्रण गर्ने त्यो भने आफ्नो हातमा राख्नुपर्छ ।’

म उनलाई सुनेर नाजवाफ भैरहेको थिए। जीवनको भोगाइले उनलाई कति परिपक्व बनाइसक्यो, लाग्छ उनी सिंगो किताब हुन् र म उनलाई पढिरहेको छु । यो पटक उनी आत्मविश्वासी र दृढ थिइन्। कपको तातो कफी सक्दै उनले भनिन् ‘ल अब जाउँ नभए ढिलो हुन्छ, घर पनि त समयमा पुग्नुपर्छ । छोराछोरी आइसक्छन् उनीहरुलाई तातोपानी, चिया खाजा पनि दिनुपर्छ ।’

आमाको मन न हो । उसो त आजकलका बाहरु पनि छोराछोरीलाई उसैगरी समय दिन्छन् । जमाना पहिलाजस्तो रहेन पनि । छोराछोरीप्रतिको कर्तव्य निभाउन केहीलाई छोडेर आमाहरु चार कदम अघि हुन्छन् लाग्छ मलाई ।

माया र प्रेममा सारा त्याग गरी पहाड उचाल्न सक्ने सामथ्र्य कसैमा छ भने त्यो नारीमा नै छ । उनी टाउकोमा कर्तव्य र जिम्मेवारीको ठूलो भारी बोकेर दौडिन खोजिरहेकी छिन् । म उनको यो दौडलाई केही सजिलो बनाइदिने प्रयासमा छु ।

उनी अघि अघि लागिन् म पछिपछि । आज उनको कार्यक्रम एकजना बिरामी भेट्न जाने रहेछ । बिरामी उनको आफन्त पनि होइन सारै चिनेजानेको पनि होइन । आफन्त बिरामी भएको बेला हस्पिटल जाँदा आउँदा चिनजान भएको बिरामीको आर्थिक अवस्था नाजुक भएको बुझेपछि उनले सकेको सहयोग गरिरहेकी रहिछन् ।

उनको प्रवेशसँगै बिरामीको अनुहार उज्यालो भयो । सारै खुशी हुँदै घरको पुरानो खाटको पुरानो तन्ना मिलाउँदै उनले बस्नको लागि आग्र्रह गरे । केहीबेरको बसाइ र हालचाल सोधेपछि आफूले उनको लागि लगेको एक महिनाको औषधि दिएर एक महिना पछि आउँछु भन्दै उठिन् ।

उनी सेवामा तल्लीन छिन् तर यसलाई देखावटी र बिकाउ ठान्दिनन् । प्रचार गर्नु उचित पनि मान्दिनन् । उनलाई त बिरामीको हाँसोसँग प्रेम छ । त्यो हाँसो करोडौंमा किन्न पाइन्न भन्दै मुस्काइन् उनी । उनको यो मुस्कान पनि त्यतिकै महंगो थियो जति महंगो त्यो बिरामीको लागि त्यो औषधि थियो ।

धेरै समय पछि उनी आफूमाथि गर्व गर्दैथिइन । जीवन बाँच्दा आफूमाथि गर्व गर्दै बाँच्न पाउनुको आनन्द नै छुट्टै हुन्छ, उनी आफूलाई त्यही आनन्दभित्र डुबाउन खोजिरहेकी थिइन् ।

व्यस्तताको जीवन भागदौडको जीवन फेरि हामी केही समय भेट्न सकिरहेका थिएनौं तर पनि उनीप्रतिको चिन्ता र चासो त्यतिकै थियो । उनी छिन् नै त्यस्तै निश्छल, इमान्दार, भावुक, प्रेमिल ।

अहिले पनि उनीसँग भेट्दा एउटा सत्यताको नजिक पुगेको जस्तो निस्वार्थतासँगको साक्षात्कार जस्तो भइरहन्छ । उनले गरेका कामहरु साना साना छन् तर त्यसभित्रका आत्मसन्तुष्टी ठूला ठूला छन् । उनी ती कामहरुमा यति रमाउँछिन कि उनका गुमेका आत्मविश्वासहरु फर्किरहेको महसुस गर्छिन् ।

आज उनी निकै खुशी र आनन्दित देखिएकी छन् । टाढाको क्षितिजलाई नियाल्दै सोचमग्न हुँदै उनले भनिन् जीवन प्रतिस्पर्धा होइन रहेछ, आनन्द, अवसर र संगीत रहेछ । आनन्दमा झुम्न सक्ने, अवसरलाई खुशीमा परिणत गर्न सक्ने र संगीतमा नाच्न सक्ने आफ्नै क्षमता हो ।

मानिसहरु सफलताको पछि लागेर दुखी भइरहेका हुन्छन तर खुशी हुँदै काम गरे सफलता पछिपछि आउँछ भन्ने बिर्सन्छन् । यति बुझ्न मलाई यतिका वर्ष लाग्यो । यतिका वर्ष लगाएर बुझेका कुराहरु यसै खेर जान दिने छैन ।

ढिलै भएपनि सुरु गरेका कामहरु खुशीसाथ सम्पन्न गर्नेछु । हाम्रो समाजमा आजसम्म पनि महिला अघि बढे, महिलाले बोले, काम गरे पोथी बासेको राम्रो हुँदैन भन्दै कुरा काट्ने र हतोत्साही गर्ने प्रवृति छ कहीं कतै छ ।

यस्ता विकृत मानसिकता भएका सबैलाई म भन्छु ‘हो म पोथी हुँ, तर मलाइ बास्न आउँछ र बास्न मनपर्छ । जसलाई पोथी बासेको मन पर्दैन कान थुनेर बस्नुहोला त्यो समस्या मेरो होइन तपाइको हो ।’

उनी ऊर्जाशील भएर बोलिरहेकी थिइन म केहीवर्ष अघि भेटेकी उनी र अहिलेकी उनीमा तुलना गर्दै थिएँ । उनी बघिनी नै थिइन् केही समय गर्जन बिर्सेकी मात्र थिइन् । अब उनको गर्जन फर्किन थालेको छ । म त्यो गर्जन सुनेर आनन्दित भैरहेको छु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *