महिला लिगमा सावित्राको ह्याट्रिक
काठमाडौं । राष्ट्रिय महिला लिग अन्तर्गत विभागीय टिम एपीएफले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित निकालेको छ । बिहिबार एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले चन्द्रपुरलाई ६–० ले हरायो । एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन । यस्तै कप्तान अनिता बस्नेत, अन्जली कुमारी योन्जन र प्रिती राईले एक एक गोल थपिन् ।
एपीएफले सुरुवात देखि नै चन्द्रपुरलाई दबावमा राखेको थियो । खेलको १४ औं मिनेटमा एपीएफकी सावित्रा भण्डारीले डिबक्स भित्रबाट सहज रुपमा गोल गर्दै टिमलाई अग्रता दिलाइन ।
त्यसपछि २२ औं मिनेटमा एपीएफले खेलमा दोस्रो गोल गर्यो । यसपटक कर्नरबाट आएको बललाई अञ्जलीले डिबक्स भित्रबाट गोल गरिन । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र एपीएफ दुई शुन्यले अगाडी रह्यो । दोस्रो हाफमा एपीएफले ६१ औं मिनेटमा तेस्रो गोल गर्यो । यसपटक सावित्राले नै ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन ।
त्यसको दुई मिनेटमा एपीएफकी अनिता बस्नेतले गोल गर्न सफल भइन । ७१ औं मिनेटमा एपीएफले पाँचौ गोल थप्यो । सावित्राले ब्यक्तिगत ह्याट्रिक पुरा गरेर टिमलाई पाँच शुन्यले अगाडी राखिन । त्यसपछि ८९ औं मिनेटमा एपीएफले छैटौं गोल गर्यो । यसपटक एपीएफका लागि प्रिति राईले उत्कृष्ट गोल गर्न सफल भइन ।
Facebook Comment