कतार प्रहरीमा म्यान पावरको अवैध धन्दा, दिल्लीको बाटो हुँदै दोहा

डिसी नेपाल
११ माघ २०७७ २०:०७

काठमाडौं। आकर्षक तलब र सेवासुविधा भएको कतार प्रहरी सेवामा भर्तीका लागि नेपाली युवाहरुलाई अवैध रुपमा भारतको दिल्ली हुँदै दोहा पुर्याउने गरिएको खुलासा भएको छ। वैदेशिक रोजगार विभागले विभिन्न म्यान पावर कम्पनीले दिल्ली हुँदै नेपाली युवालाई कतार पुर्याइएको जनाएको छ।

विभागले हालै एसओएस म्यानपावर सर्भिस, डीडी ह्युमन रिसोर्स, होप इन्टरनेसनलमा छापा मारेको थियो।

विभागले श्रमिकलाई वैधानिक तरिकाले विदेश जान प्रोत्साहित गरेसँगै व्यवसायीहरु भने विभिन्न तरिकाले सोझासझा जनतालाई ठगी अवैधानिक तरिकाले भारत हुँदै वैदेशिक रोजगारीमा पठाउने गरेको तथ्य फेला परेको हो।

म्यानपावर कम्पनीले व्यक्तिगत भिसामा कतार प्रहरीमा पठाएको विभागले जनाएको छ।

‘यताका व्यवसायीले व्यक्तिगत भिसा ल्याएर पुलिस, आर्मीमा पठाइराखेका छन्। युवालाई कतार पठाउने तीन वटा म्यानपावरलाई रोकेका थियौं। युवाहरु आठदेखि १२ लाखसम्म खर्च गरेर गइराखेका छन् रे’, वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कतारको दूतावासले गोप्य रुपमा पठाएको भिसाको कागज देखाउँदै भने, ‘यसरी भिसा आउन थाल्यो। कतारमा पुलिसका लागि भनेर लगिराखेका छन्। आखिरी यहाँको मान्छे वा निजी क्षेत्र नमिलीकन त्यो लान सकिराखेको छ र? त्यसैले यसबाट बुझ्नु पर्छ कि भोलि हाम्रो वैदेशिक रोजगारी धरासायीमा जाने स्थिति आउँछ। र, आफ्नै खुट्टामा बञ्चरो व्यवसायीहरुले नै हानिराख्नु भएको छ। अवैधानिक रुपमा कतार पठाइराखेका मान्छेहरुलाई उहाँहरुले समात्नु पर्यो नि। तर, यो सम्बन्धमा उहाँहरु चूप हुनुहुन्छ।’

विभागका महानिर्देशक दाहालले अवैध काम रोक्न आफूले सक्दो प्रयास गरेको बताउँछन्। उनले भने, ‘मैले पटक पटक उहाँहरुलाई भने तपाईंहरुको भित्रबाट गलत भइराखेको छ। त्यसलाई सपार्नुस् म पनि सहयोग गर्छु भन्दाखेरी त्यो चाहिँ नगर्ने?’

विभागमा दिनदिनै फाटेको लुगा लगाएको मान्छे सात÷आठ लाख खायो भनेर उजुरी गर्न आउने गरेको उनले बताए। उनले भने, ‘कसले खायो? भन्दा फलानो म्यानपावरले या म्यानपावरको एजेन्टले खायो भनेर आउँछन्। हो त्यसलाई सपार्न सक्नु पर्यो नि, पैसा मात्रै सबैचिज हो र?’

महानिर्देशक दहालले भने, ‘कतार पुलिसमा एसओएसलगायतलाई रोकेको भिसामा उहाँहरुले इण्डियाको पोर्ट प्रयोग गरेर लाँदै हुनुहुन्छ। नेपालबाट उड्न पाउँदैन यो भिसाले। यस्ता मान्छे हजारौं पठाउँदैछन्, यी मान्छेको कुनै ग्यारेन्टी हुँदैन, यि मान्छे मरे भने कुकुर मरे झै मर्छन्, विदेशमा।’

व्यवसायीहरुको अवैधानिक कार्यलाई कारवाही गरेपछि उनीहरुले इण्डियाको पोर्ट प्रयोग गरेर व्यक्तिगत भिसामा मान्छे लान थालेको विभागका महानिर्देशक दाहालको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *