आयातित सामग्रीको परिमाण बढाइदिन आग्रह
काठमाडाैं। रसुवागढी नाकाबाट कारोवार हुने चिनियाँ माल सामग्रीको आयात परिमाण बढाई दिन आग्रह गरिएको छ। नाकाबाट आयात अत्यन्तै न्यून भएपछि व्यापारी व्यवसायीलाई परेको मर्का र राजस्वमा आएको कमीलाई ध्यानदिँदै सामग्रीको परिमाण बढाइदिन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो।
नाकामा चालक तथा सामान लाने भरियासमेत क्वारेन्टिनमा राखी पूर्ण सुरक्षाको व्यवस्थापन गरिएका कारण माल सामग्री आयातमा कमी आएको बताइएको छ। आयात बढाउने व्यवस्थापन मिलाइदिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। कोभिड–१९ का कारण मानिसको आउजाउ पूर्णरूपले बन्द भए पनि गत असारदेखि दैनिक तीन कन्टेनर मात्र सामग्री आयात भइरहेको छ।
कोरोनाको जोखिम अगाडि सामान लिन केरूङ गएका दर्जनौँ सवारी साधन चिनियाँ भूभागमै छोेड्नुपर्दा यहाँका व्यवसायीलाई मर्का परेका बताइएको छ। चिनियाँ भूभागमा रोकिएका सवारी साधनको लागत तयारका प्रक्रियामा रहेको नेपाल चेम्बर अफ कमर्स अध्यक्ष सञ्जीव अमात्यले बताए। थोरै परिमाणमा आयात भएका सामग्रीमा रेडिमेट कपडा, जुत्ता, चप्पल, रोलकपडा, ससाना सवारी साधन र विद्युत् उत्पादनका उपकरणजस्ता सामग्री रहेको भन्सार कार्यालय रसुवाका प्रवक्ता नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए।
चालु आवको साउनदेखि हालसम्म एक हजार २ सय २३ वटा मालबाहक कन्टेनर भन्सार हाताबाट बाहिरिएको र भन्सार शुल्कबापतको एक अर्ब ८१ करोड ६२ लाख रूपैयाँ, ६४ हजार ३सय ३४ राजस्व सङ्कलन भएकोे उनले बताए। गत वर्ष कोरोनाको समस्याबाहेक अन्य अवधिमा कूल आठ अर्ब २७ लाख ७७ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ। रासस
Facebook Comment