… त्यसपछि प्रधानमन्त्री ओलीले पशुपतिनाथलाई ३० करोड दिने प्रतिवद्धता जनाए

डिसी नेपाल
१६ माघ २०७७ १३:४७

काठमाडौं। धर्ममा विश्वास नगर्ने प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अचानक पशुपतिनाथ मन्दिर पुगे। पशुपति क्षेत्र विकास कोषलाई औपचारिक जानकारी नै नदिइ प्रधानमन्त्री ओली पशुपतिनाथ मन्दिर पुगेका थिए। प्रधानमन्त्री ओलीले त्यहाँ डेढ लाख बत्ती बाले।

संकल्पसहितको पूजा गरे, आफ्नो व्यक्तिगत र राष्ट्र कल्याणको लागि कामना पनि गरे। करिव डेढ घण्टा पशुपतिनाथ मन्दिरमा बिताएका प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरको अवलोकन पनि गरे।

त्यसअघि सामान्यतया मन्दिर नगएका ओली अचानक पशुपतिनाथ मन्दिरमा पुगेर आफ्नो व्यक्तिगत र राष्ट्र कल्याणका लागि संकल्पसहितको पूजा गर्नुलाई धेरैले अर्थपूर्ण रुपमा लिए। कतिपयले ओलीको पशुपतिनाथ दर्शनलाई राजनीतिक उद्देश्यसँग जोडेर व्याख्या र विश्लेषण पनि गरेका छन्। यद्यपी त्यसको प्रभाव अहिले देखिएको छैन।

गणतन्त्र स्थापना भएपछि सरकार प्रमुख कमैमात्र पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएको पाइन्छ। दुई पटकसम्म देशको प्रधानमन्त्री भइसकेका ओलीले पछिल्लो पटक दुई तिहाई बहुमतको सरकार गठन भएको ३ वर्षपछि पशुपतिको पूजा गरेका हुन्।

पशुपति क्षेत्र विकास कोषलाई औपाचारिक जानकारी नगराइ पशुपतिनाथ पुगेका ओलीले मन्दिर दर्शन गर्ने क्रममा पशुपति नाथ मन्दिरमा रहेको चाँदीको झलारी लाहाले टालेको देखेछन्। त्यसपछि प्रधानमन्त्री ओलीले कोषका पदाधिकारीलाई चाँदीको झलारी किन यति फोहोर भनेर प्रश्न गरे।

जवाफमा कोषका पदाधिकारीले कोषले सुनको झलरी राख्ने योजना बनाएको तर आर्थिक अभावमा त्यो पूरा हुन नसकेपछि लाहाले टालेर काम चलाएको बताएका थिए। त्यो सुन्ने वित्तिकै प्रधानमन्त्री ओलीले त्यसका लागि कति खर्च लाग्छ भनेर प्रश्न गरेका थिए।

जवाफमा कोषका पदाधिकारीले ३० करोड भए काम सम्पन्न हुने जनाएका थिए। त्यस लगत्तै प्रधानमन्त्रीले सरकारले सुनको झलरी राख्न ३० करोड दिने प्रतिवद्धता जनाएका थिए।

उक्त झलरी फेर्ने काम शुक्रबारबाट सुरु भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक डा घनश्याम खतिवडाले डिसी नेपाललाई जानकारी दिए। यद्यपी प्रधानमन्त्री ओलीले सरकारले उपलब्ध गराउने भनेको ३० करोड अहिलेसम्म कोषमा उपलब्ध भएको छैन।  तर प्रक्रिया लाग्ने भएकाले उक्त रकम आउन ढिला भएको कोषले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *