राष्ट्रिय वाणिज्य बैंकको दोश्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७७/७८को दोश्रो त्रैमासिकसम्मको वित्तीय विवरणहरु सार्वजनिक गरेको छ ।
बैंकले यस अवधिमा रु. १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । यस्तै बैंकको कुल समग्र आम्दानी रु. २ अर्ब ४४ करोड, वितरणयोग्य मुनाफा रु. १ अर्ब ८० करोड, खुद ब्याज आम्दानी रु. ३ अर्ब ९१ करोड, कुल संचालन आम्दानी रु ४ अर्ब ६५ करोड तथा खुद संचालन आम्दानी रु ४ अर्ब ५० करोड, शेयरधनी कोष रु. २५ अर्ब ४७ करोड, लगानी रु. ७४ अर्ब ५८ करोड पुगेको छ ।
गत आर्थिक वर्षको सोहि अवधिको बैंकको खुद मुनाफा २ अर्ब २१ करोड रुपैंया रहेको थियो । पुष मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ४१ अर्ब र ग्राहकहरुलाई प्रवाह भएको खुद कर्जा तथा सापटी रु. १ खर्ब ६२ अर्ब पुगेको वाणिज्य बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोहि मितिको तुलनामा बैंकको निक्षेपमा २३.९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले सन्तुलित बृद्धि भएको छ । पुस मसान्तसम्ममा पुँजीकोष अनुपात १२.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ६५.४० प्रतिशत, आधार दर ५.६१ प्रतिशत, स्प्रेड दर ४.०९ प्रतिशत, कोषको लागत दर ३.२९ प्रतिशत तथा वार्षिकृत प्रतिशेयर आम्दानी रु.३८.८४ रहेको छ ।
Facebook Comment