कोरोना संक्रमणबाट यूकेमा तीन नेपालीको मृत्यु, मृतक नेपालीको संख्या तीनसय ३० पुग्यो
काठमाडौं। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता यूकेमा तीन जनाको संक्रमणका कारण निधन भएको हो।
यो सहित विदेशमा कोरोना संक्रमणका कारण तीन सय ३० जना नेपालीको मृत्यु भइसकेको छ। एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५५ हजार सात सय ९३ जना कोरोनामुक्त भएका छन्।
यो कूल संक्रमितको ९४ प्रतिशत हो। यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।
साक्षरता सम्बन्धी निर्देशिका जारी
एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले खोप साक्षरता सम्बन्धी निर्देशिका जारी गरेको छ। आम नेपालीलाई खोपको बारेमा सचेत र सतर्क बनाउने उद्देश्यका साथ जारी यो निर्देशिका सबैले बुझ्ने गरी सरल नेपाली भाषामा छ।
सो निर्देशिकामा खोप, खोप लगाउँदा, लगाइसकेपछि अपनाउनुपर्ने सावधानी, खोप लगाइसकेपछि देखिनसक्ने सम्भावित असर वा स्वास्थ्य समस्या र त्यसपछिको स्वास्थ्य मापदण्ड लगायतका विषयहरु समेटिएका छन्। यसैबीच स्वास्थ्य समितिले छिट्टै स्वास्थ्य सम्बन्धि एक सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। त्यसको आवश्यक तयारी र लक्षित समूह पहिचानको काम भइरहेको छ।
कोभिड–१९ विरुद्धको खोप लिएको व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने
स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव दिएका छन्। हालसम्म कुनैपनि खोपको प्रभावकारिता शत प्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि संक्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा ग्यारेन्टी नहुने उनको भनाइ छ। खोपको दुबै मात्रा प्राप्त गरेका व्यक्तिलाई पनि पुनः संक्रमण भएको देखिएकाले स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको डा.सापकोटाले बताए।
Facebook Comment