प्रतिनिधिसभा विघटन मुद्दाः रिट निवेदकतर्फको बहस सकियो, सरकारी पक्षको बहस सोमबारदेखि

डिसी नेपाल
१८ माघ २०७७ १६:१७

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामा १३ वटै रिटमाथिको निवेदकका तर्फबाट बहस सकिएसँगै सरकारका तर्फबाट सोमबारदेखि बहस हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए । इजलासमा न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्लप्रधान र तेजबहादुर केसी पनि रहेका छन् ।

आइतबार रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले बहस गरेका थिए । यस्तै, अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली, कलमबहादुर खत्री र मणिराम उपाध्यायले आइतबार नै बहस सकेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनहरुमाथि संवैधानिक इजलासमा पुस २२ देखि निरन्तर सुनुवाई हुँदै आएको छ । रिट निवेदकका तर्फबाट तीन सयभन्दा बढी कानुन व्यवसायीले वकालतनामा पेश गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपतिको कार्यालयका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले बहस गर्नेछ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र सभामुखको तर्फबाट निजी कानुन व्यवसायीले पनि बहस गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *