खेललाई सबै नेपालीले आफ्नो जीवनको अभिन्न अङ्ग बनाउनुपर्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेलकूद क्षेत्रको विकासमा सरकारको सहयोगी भूमिका रहने बताएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले आज आयोजना गरेको ‘खेलकूदसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले सरकारले खेलकूद क्षेत्रलाई चलायमान बनाउन योजनाबद्ध ढङ्गले काम गरिरहेको बताए ।
यस वर्ष कोरोना भाइरसको महामारीका कारण खेलकूदमा अरु वर्षभन्दा न्यून बजेट उपलब्ध गराइएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले आगामी वर्ष आवश्यक बजेट उपलब्ध गराइने आश्वासन दिए । नेपालले गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा उल्लेख्य उपलब्धि हासिल गरेकामा खुशी व्यक्त गर्दैै आगामी प्रतियोगितामा पनि नेपाली खेलाडीले देशको गौरव बढाउँदै जाने विश्वास व्यक्त गरे। हालै नेपाली टोलीले विश्वको दोस्रो अग्लो हिमाल केटु को सफल आरोहण गरी कीर्तिमान कायम गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालीले हार्न नजानेको बताए ।
खेललाई सबै नेपालीले आफ्नो जीवनको अभिन्न अङ्ग बनाउनुपर्ने प्रधानमन्त्री ओलीले सुझाव दिए । जहिले पनि स्वर्ण पदक नै प्राप्त गर्ने गरी प्रतियोगितामा भाग लिन उनले खेलाडीसँग आग्रह गरे। खेलाडीलाई सफलता दिलाउन प्रशिक्षक र सम्म्बन्धित खेल सङ्घको अहं भूमिका रहेको जनाउँदै प्रधानमन्त्री ओलीले न्यून स्रोत साधन भए पनि नेपालले खेलकूद क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्दै गएको बताए ।
प्रधानमन्त्री ओलीले कुनै पनि प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा भेदभाव नगर्न र उत्कृष्ट खेलाडी छनोटमा जोड दिन प्रशिक्षक तथा खेल पदाधिकारीलाई सुझाव दिए । “खेलकूदको खर्चलाई बेकारको ठान्नु हुँदैन, खेलकूद पनि उत्पादक क्षेत्र हो, खेलकूदमा गरिएको लगानी खेर जाँदैन, यसले देशकै गौरव बढाउँछ”, उनले भने । नेपालको भूगोलअनुसारका खेल अघि बढाउन तथा परम्परागत र मौलिक खेलको अन्तरराष्ट्रियकरण गर्न जरुरी रहेको उनको भनाइ थियो ।
अहिले सातै प्रदेशमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको र आगामी दिनमा थप योजना अघि बढाइने उनले आश्वासन दिए । केही ठाउँमा कामको जस कसले लिने भन्ने विवाद खडा गरेका कारण पूर्वाधार निर्माण समयमै सम्पन्न हुन नसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
कार्यक्रममा सहभागी खेलाडी, प्रशिक्षक र पदाधिकारीको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अस्थायी र करारमा काम गर्दै आएका कर्मचारी तथा दुई दशकदेखि एउटै तहमा काम गर्दै आएका कर्मचारीको समस्या समाधानका लागि प्रतिवेदन पेश गर्न युवा तथा खेलकूदमन्त्री दावा लामा तामाङलाई निर्देशन दिए । खेलकूदमा सम्बन्धित मन्त्री र पदाधिकारीले आआफ्ना मान्छे भर्ना गर्दा पनि समस्या आउने गरेको उनको भनाइ थियो । मूलपानीमा निर्माणाधीन क्रिकेट मैदान चाँडै सम्पन्न गर्न सरकारले पहल गर्ने प्रधानमन्त्री ओलीले आश्वासन दिए । यस्तै राष्ट्रिय खेल भलिबलको विकासका लागि राजधानीमा सुविधासम्पन्न कभर्ड हल निर्माण गर्न जग्गा तथा भौतिक पूर्वाधार निर्माणको काम दुई वर्षभित्र सम्पन्न गरिने उनले बताए ।
सो अवसरमा युवा तथा खेलकूदमन्त्री तामाङले खेलकूदको विकासका लागि आफूले सक्दो पहल गर्ने तथा खेलाडी, प्रशिक्षक, सङ्घका पदाधिकारी र कर्मचारीसित छलफल गरी योजना अगाडि बढाइने जानकारी दिए । अन्तरक्रियाको प्रारम्भमा राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले सरकारले खेलकूदमा लगानी बढाउनुपर्ने र त्यसले परिणाम पनि राम्रो दिने जनाउँदै नेपालको खेलकूदको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । उनले हरेक जनताका बीचमा खेलकूद पुर्याउनु आवश्यक छ भन्दै सरकारले भौतिक पूर्वाधार, तालीमलगायत विषयमा लगानी गर्नु आवश्यक रहेको बताए । अन्तरक्रिया कार्यक्रममा खेलाडी, प्रशिक्षक, विभिन्न खेल सङ्घका पदाधिकारी तथा खेलप्रेमीको उल्लेख्य सहभागिता थियो ।
Facebook Comment