गोठबाटै गाई चोरी गरि काटेर खानेहरु फरार, खोजी कार्य जारी

डिसी नेपाल
२१ माघ २०७७ २३:१२

कार्भे। काभ्रेको मण्डन देउपुर नगरपालिकामा गोठबाटै गाई चोरी गरि काटेर खाएको खुलासा भएकोछ। सो गाउँपालिकाको वडा नं ४ हाँडिखोलास्थित शम्भु धितालको गोठबाट राति ढोका फोरेर लुटेराहरुले गाई चोरी लगेका थिए।

गत माघ १० गते रातको समयमा बाँधेर राखिएको दुई गाईमध्ये एक गाई चोरी भएपछि खोजी गर्दा दुई दिन पछि घरभन्दा करिब २ किलोमिटर टाढा बारीको पाटामा काटेर खाएको भेटिएको हो। स्थानीय बासिन्दा, वडा सदस्य र सिपाघाट प्रहरी चौकीबाट खटिएका प्रहरीको टोलीले गाईको छाला र पुच्छर फेला पारेका थिए। खोजी गर्दै जाँदा स्थानीयले गाईको टाउको पनि फेला पारेको गाईपालक कृषक धितालले जानकारी दिए।

गाई चोरी र हत्यामा संलग्नको पहिचान भइनसकेको र खोजी कार्य जारी रहेको प्रहरी चौकी देउपुरका प्रहरी सहायक निरीक्षक तारामणि श्रेष्ठले जानकारी दिए। यद्यपी घटनामा शंकास्पद युवाहरु पहिचान गरिएको र उनीहरु फरार रहेकाले खोजी कार्य जारी रहेको उनको भनाइ छ।

कृषक धिताल भने प्रहरीले अनुसन्धान र कारवाहीमा उदासिनता देखाएकोले घटना सेलाउने हो कि भन्ने चिन्ता गर्छन्। बारम्बार प्रहरीलाई शंकास्पद व्यक्तिको जानकारी दिँदा पनि प्रहरीले किटानी जाहेरी दिन र गाई काट्दै गरेको प्रमाण दिन भनेकोले न्याय पाउने विषयमा शंका उत्पन्न गराएको धितालको भनाइ छ।

‘रातको समयमा बास बसेको गाईलाई ढोका फुटाएर चोरी गरेर शंकास्पद व्यक्तिको घर नजिकैको बारीको पाटामा काटेर खाएपछिको आफ्नो गाईको पुच्छर, छाला र टाउको पहिचान गरेर प्रहरीलाई बताउँदा पनि प्रमाण पुगेन भन्नुको अर्थ के हो ? लामो समयदेखि आफ्ना बालबच्चा पालेझैं, हामीले देवी मानेर पालेको गाईलाई गोठबाटै चोरेर लगेर काटेर खान्छन्, तर पनि न्याय माग्दा डराउनुपर्ने परिस्थिति छ’, उनले भने, ‘यो कस्तो बिडम्बना ?’ नगरपालिका, प्रहरी प्रशासन समक्ष जाँदा पनि सुनुवाइ नभएकोले साह्रै दुःख लागेको छिमेकीहरु बताउँछन्।

गलत प्रवृत्तिको विकास हुँदै गएको र कारवाही नहुँदा अपराधिहरुको मनोबल बढ्ने हुनाले गाउँले झनै त्रसित अवस्थामा रहेको स्थानीय शम्भु चौलागाईले बताए।

चौलागाईं भन्छन्, ‘हामी सबैले मिलेर खोज्दा छाला, पुच्छर, टाउको लगायतका अंग भेटेको हो। प्रहरीले फोटो समेत खिचेर लगेको छ। तर आज आएर अनुसन्धानमा तदारुकता नदेखाउनुले प्रशासनको पनि स्वार्थ मिसिएको हुनसक्छ। हाम्रो गौमातालाई काटेर खानेलाई कारवाहीको माग गर्दा डराउनुपर्ने परिस्थिति देखिनु विडम्बना हो। यो चोरीको मात्र केस हैन गौ हत्या पनि भएकाले कानुन अनुसार कारबाहिको माग गरेका छौं। न्याय नपाए आगामी जस्तोसुकै कदम चाल्न गाउँले तयार रहेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *