मशाल जुलुसपछि मदिरापान अनि दुर्घटना, नेता वाग्लेसँगै मदिरा पिउने २ जना पक्राउ
काठमाडौं । नेकपा नेपाल–दाहाल समूहका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले मृत फेला परेपछि प्रहरीले दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
बुधबार साँझ मसाल जुलुशमा सहभागी भएका वाग्लेसहित तीन जना स्थानीय विवेक होटलमा बसेर मदिरा सेवन गरेको र त्यसपछि उनी मोटरसाइकल चढेर हिँडेको थाह पाएपछि दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ शुरु गरेको हो ।
स्थानीय विवेक होटलमा हरिश्चन्द्र महत्तो र महेन्द्र महत्तोसहित वाग्ले पनि वसेर मदिरा सेवन गरेको भन्ने थाह पाएपछि इलाका प्रहरी कार्यालय वरहथवाले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
बुधबार ९ बजे सर्लाहीको बरहथवा नगरपालिका ९ मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डिएसपी उद्धबसिंह भाटले उनको मृत्यु मोटरसाइकल दूर्घटनामा भएको हुनसक्ने आशंका गरेका थिए ।
त्यही क्रममा बुधबार साँझको कार्यक्रम सकेर हिडेका तीन जनाले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ । वाग्ले नै मदिरा सेवन गरेको हो होइन भन्ने बारेमा पोष्टमार्टम गर्न पठाइएको र महत्तोद्धयले भने मदिरा सेवन गरेको पुष्टि भैसकेको प्रहरीले जनाएको छ ।
‘स्थानीय होटलमा मदिरा सेवन गरेको भन्ने खुलेपछि दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ शुरु गरिएको छ मृतकको भने पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ’, प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले भने । वाग्लेका साथीहरु पक्राउ परेपछि प्रहरीले अत्याधिक मदिरा सेवन गरेको र त्यही क्रममा मोटरसाइकल दूर्घटनामा परेको हुनसक्ने आशंका गरेको छ ।
मोटरसाइकल लडेको र हेल्मेट टाउकोमा भएका कारण तीब्र गतिमा मोटरसाइकल दूर्घटना भएको आशंका गरिएको छ । ‘वाग्ले सवार ज १० प ३२०६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा शव फेला परेको हो,’ इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डिएसपी उद्धबसिंह भाटले ।
उनी बुधबार साँझ मसाल जुलुशमा सहभागी भएर फर्केका थिए । वाग्लेको आँखाको छेउमा सामान्य निलडाम जस्तो देखिए पनि शरीरका अन्य भागमा कुनै चोटपटक नदेखिएको डिएसपी भाटले बताए ।
Facebook Comment