एउटा ट्याक्सी जफत भएपछि बल्लतल्ल चलाउन पाएको अर्को ट्याक्सी आँखैअगाडि जल्दा…

डिसी नेपाल
२२ माघ २०७७ १५:०७

काठमाडौं। बिहीबार बिहानै राजधानीको गोंगबुमा जल्दै गरेको एउटा ट्याक्सीको फोटो सामाजिक संजालमा भाइरल भयो । नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालको क्रममा सम्भवतः उनैका कार्यकर्ताले जलाएको त्यो ट्याक्सीको तस्वीरसँगै धेरैले तर्क वितर्क गरे । केहीले आमहडतालको विरोध गरे कसैले समर्थन । तर, ट्याक्सीका चालक कुम्भ नारायण श्रेष्ठलाई भने न आमहडतालको समर्थन गर्नु छ न विरोध । बरु दुई गुटको सत्ताको लुछाचुँडीमा उनको ‘गरिखाने भाँडो’को सत्यानाश भएको छ । अब उनको परिवारको छाक टार्ने सहारा हराएको छ ।

कुम्भनारायण श्रेष्ठको घर धादिङको निलकण्ठ नगरपालिका साँखुमा हो। हाल उनको परिवार बिजुलीबजार काठमाडौंमा बस्दै आएको छ। उमेरले ४० कटिसकेका उनको परिवारमा २ छोरा, एक छोरी र श्रीमतीसहित ५ जना छन्। परिवारका सबैको आवश्यकता पूरा गर्ने माध्यम त्यही ट्याक्सी थियो जुन अहिले खरानी भइसकेको छ ।

उनले ट्याक्सी चलाउन थालेको १५ वर्ष भएछ । आफूलाई धेरै बोल्न नआउने बताउने उनले पारिवारिक समस्याका कारण पढ्न पाएनन्। केही काम पाइन्छ कि भनेर काठमाडौं आएका उनले ट्याक्सी चलाउन सिके र ट्याक्सी ड्राइभर बने। ट्याक्सी चलाएर जीवन गुजारा हुने भएपछि विदेश जाने मन भए पनि उनी नेपालमै ट्याक्सी चलाउन थाले।

छोरा छोरीको पढाई र परिवारका अन्य आवश्यकता जेनतेन चलिरहेको थियो। महिनामा ३० ३५ हजार कमाई हुने गर्थ्यो। जसले घरभाडा, छोराछोरीको स्कुल खर्च, खाना र नानाको बन्दोबस्त गर्थे।

यत्तिकैमा अचानक कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सरकारले लकडाउन गर्यो। महामारीले सबैतिर पारेको असर श्रेष्ठको परिवारमा नपर्ने कुरै भएन। घरमा छोरा छोरी साना छन् । उनले भने ‘श्रीमतीको जागिर छैन, सबै परिवार मेरै भरोसामा छ। मेरो सम्पति जायजेथा जे भने पनि ट्याक्सी नै हो। ट्याक्सीले नै खान बस्न दिइरहेको थियो।’

हेर्नुहोस् कुम्भनारायण श्रेष्ठसँग गरिएको भिडियो कुराकानी –

उनको हालसम्म बैंक खातासमेत छैन। दिनमा कमाएको खर्चले साँझ विहान खान बस्न चल्थ्यो। आजसम्म कमाएर बचत भएको पैसाले ट्याक्सी किन्ने उनको ठूलो धोको थियो। तर, ट्याक्सी किन्न पुग्ने पैसा थिएन । यही क्रममा एकजना साहुले उनको लागि लगानी गरिदिने भए । चिनेजानेका साहुसँग संंयुक्त लगानीमा उनले ट्याक्सी किनेर चलाउन थालेका थिए। धेरै लगानी साहुको थियो त्यसैले उनले दैनिक रुपमा साहुलाई किस्ता तिर्दै आएका थिए।

कारोना महामारीका कारण लकडाउन भयो, ट्याक्सी चल्न बन्द भयो, उनले किस्ता तिर्न सकेनन्। त्यसपछि ट्याक्सी पनि साहुले जफत गरे। फेरि पनि कतै ट्याक्सी पाइन्छ कि भनेर ट्याक्सीको खोजीमा निस्केका उनले मुस्किलले ट्याक्सी भेटे। लकडाउन हटिसकेको बेलामा नयाँ काम पाएपछि उनीमा फेरि आशा पलायो। र, उनले ट्याक्सी चलाउन थाले। नयाँ साहुको ट्याक्सी चलाउन लागेको त्यस्तै १९–२० दिन भएको थियो।

ट्याक्सी यसरी जलेको थियो

दिन उस्तै थियो, समय उस्तै थियो। समाचार पनि खासै नहेर्ने उनले एकाबिहानै ४ बजे ट्याक्सी निकाले र ट्रिपको खोजीमा निस्किए। बिहानको ६ बजेको थियो। एक ट्रिप सकेर अर्को ट्रिपमा निस्केका उनलाई गोंगबु नजिकै फेरि दुइ जना मान्छेले ट्याक्सीको लागि हात दिए र सोधे ‘दाई ट्याक्सी खाली छ ?’ चाबहिल जानु पर्ने ।’

बिहानको समय त्यो पनि अर्को ट्रिप पाएपछि उनले खुशी हुँदै ट्याक्सी खाली भएको र आफू जान तयार रहेको बताए। त्यसपछि उनी मिटर अन गर्नतर्फ लागे। त्यतिकैमा एकजनाले भित्र छिरेर ट्याक्सीमा पेट्रोल छर्किसकेको रहेछ। अर्कोले पछाडीबाट आगो लगाइसको थियो। आगो लागेको थाहा पाउने बित्तिकै उनले बेहोसमै हतार हतार सिट बेल्ट निकालेर आफू बच्न सफल भएको बताए। ‘उनीहरु दुवै जना गइहाले । नजिक हुनेले मोटरसाइकलमा गए भन्थे । मेरो मुटुले ठाउँ छोड्यो’ उनले भने ।

एकै छिनमा प्रहरी र आसपासका मान्छेहरु त आए तर त्यतिबेलासम्म उनको ट्याक्सी जलिसकेको थियो। अरुका गाडीहरु चलिरहेका थिए। ट्याक्सीको अगाडि रहेका कागजपत्र समेत झिक्न सकिएन। ती सबै जले। लाइसेन्स गोजीमै भएका कारण बच्यो।

पहिले आफू कसरी बच्ने भन्ने चिन्ता थियो, ट्याक्सी जलेसँगै चिन्ताका चाङ थुप्रिदै गए। ३०–३२ लाखको गाडी हो। साहुले के भन्लान्? अब के गर्ने हो? बल्ल बल्ल पाएको भाडाको ट्याक्सी एकाएक आफ्नै आँखाको अगाडि जल्यो। १५ वर्षसम्म ट्याक्सी चलाउँदा यस्तो समस्या देखेका थिएनन्। आज आफ्नै आँखा अगाडि आफ्नै ट्याक्सी जल्यो। त्यसपछि अरुले भनेको सुनेर श्रेष्ठले थाहा पाए – आज त नेपाल बन्द हो।

उनी भन्छन् ‘यदि बन्द थियो भने पनि मलाई एकपटक मौका दिनु पर्थ्यो। म सोझो मान्छे हुँ। म उनीहरुले भनेको मान्ने थिएँ। मलाई थाहा नै नदिएर एक्कासी ट्याक्सी जलाउँदा मेरो ट्याक्सी मात्रै जलेको छैन। मेरो रोजीरोटी समेत जलेको छ। यस्तो महंगी छ। छोरा छोरी घर परिवार पाल्ने आफूले जानेको सीप यही हो। ठूलो आपत थियो अर्को विपद आइलाग्यो।’

जिम्मा कसले लिने?

सरकारले बिहीबार निर्धक्क भएर आफ्नो पेशा व्यवसाय गर्न आम नागरिकलाई आग्रह गरेको थियो। गृह मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने बताएको थियो।

पीडीत भन्छन् ‘मेरो ट्याक्सी त जल्यो तर न आन्दोलनकारीले जिम्मा लिएका छन् न राज्यले सम्बोधन गरेको छ। नेताहरुका लागि यो ट्याक्सी ट्याक्सी मात्रै होला तर मेरा लागि सबथोक हो। जिम्मा लिनुप¥यो। राज्यले जिम्मा लिने हो वा पार्टीले। कि मैले राहत पाउनुप¥यो। म जस्तो दिनभरी काम गरेर बेलुकी परिवारको छाक टार्नेलाई गाडीमा नै राखेर जलाउन खोजेको थाहा पाउँदा मेरो श्रीमती र छोरा छोरीको मन कस्तो भयो होला ? म काम गरेर खाने मानिस हो। मलाई काम गरेर खाने साधन चाहियो। जसले दिए पनि मलाई क्षतिपूर्ति चाहियो। मलाई क्षतिपूर्ति पाउने वातावरण बनाइदिन सबैंसँग आग्रह गर्छु। होइन भने मेरी श्रीमती छोराछोरी कसरी पाल्ने मैले ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *