सही विचारले नै पार्टी अगाडि बढ्छ : अध्यक्ष दाहाल

डिसी नेपाल
२३ माघ २०७७ २२:५१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष प्रचण्डले जनपक्षीय पार्टीको विकासका लागि विचार, नीति र कार्यदिशामा नै सही हुनुपर्ने बताएका छन् ।

ललितपुरमा आज आयोजना गरिएको जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “एउटा पार्टी राम्रो हुँदै जान्छ वा नराम्रो हुँदै जान्छ । विकास गर्दै जान्छ वा ओरालो लाग्दै जान्छ भन्ने कुरा त्यो पार्टीले लिने विचार, राजनीतिक नीति र कार्यदिशामाथि भर पर्छ ।”

पूर्व प्रधानमन्त्री दाहालले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको भनाइ स्मरण गर्दै सही विचार भए पार्टी नभए पनि पाटी बनाउने प्रक्रिया अगाडि बढ्ने र जनताले साथ दिने भनाइ व्यक्त गरे ।

पार्टी एकताको केही समयपछि नै केही नेतामा व्यक्तिवाद देखिएको बताउँँदै उनले पार्टी एकता भएदेखि नै सहमति र समझदारी कायम गराउन नचाहेको र व्यक्तिवाद लाद्न खोजिएकाले समस्या भएको बताए ।

पार्टीमा सहमति र समझदारीको कुरा गर्ने बित्तिकै केही नेताले पार्टी फुट्ने धम्की दिने गरेको स्मरण गर्दै उनले कम्युनिष्टविरोधी प्रवृत्तिविरुद्ध सङ्घर्ष शुरु भएको धारणा राखे ।

व्यक्तिवाद र महत्वाकाङ्क्षाका कारण जनताले सङ्घर्ष गरेर ल्याएको कारण उपलब्धि धरापमा परेको र मुलुक अँध्यारो सुरुङमा जाने खतरा रहेकाले आफूहरु जनतामाझ आएको उनले बताए ।

अध्यक्ष दाहालले ७० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य आफूहरुसँग रहेकाले आफूहरु नै आधिकारीक नेकपा भएको र निर्वाचन आयोगमा पनि दाबी गरिएको जानकारी दिए । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य पम्फा भुसालले जनताको विश्वास जित्ने कुरा नै महत्वपूर्ण भएकाले आफूहरु जनतामा आएको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *