करिया : दास मोचनको अनौठो इतिहास
राणाकालमा दासदासीका सबैभन्दा ठूला व्यापारी पाल्पाका बडाहाकिम खड्ग शमशेर रहेछन्। त्यो बेला उनका खोरमा बिव्रmीका लागि जम्मा गरिएका दासदासीको संख्या सरदर छ हजारदेखि आठ हजारसम्म अटुट हुँदोरहेछ।
वि.सं. १९५८ मा देव शमशेरले आफू प्रधानमन्त्री भएलगत्तै खड्ग शमशेरलाई अनुरोध गरेका रहेछन्, ‘दाज्यै, दासदासी प्रथा उन्मूलन गर्न लागेको छु। तपाईंले सहयोग गर्नु प-यो।’
त्यो बेला उनले देवलाई सम्मति दिएका रहेछन्। तर पछि उनैले आफ्नो खोरमा भएका दासदासीहरुको लागत लिनका लागि काठमाडौंबाट खटिएका कर्मचारीलाई कुटेर लखेटेका रहेछन्।
०००
दासप्रथा उन्मूलनका समयमा ४० वर्षसम्मको दासको मूल्य रू १४० र सोही उमेरकी दासीको मूल्य रू १६० सम्म रहेछ। १२ वर्षभन्दा मुनिका बालबालिका बेचबिखन गर्न नपाइने कानुन जङ्गबहादुरले जारी गराएका भए पनि आमाबाट छुटाएर नावालख शिशुहरु पनि बेचिँदा रहेछन्। १२ वर्षमुनिका बालबालिकामा छोरा भए रू २५ र छोरी भए रू ३० अधिकतम् मूल्य रहेछ।
तर मदेसीमूलका दासहरु त्योभन्दा आधा दाममा पनि पाइने रहेछन्। वि.सं. १९७७ मा लामो खडेरी परेर भोकमरीको स्थिति उत्पन्न भएपछि बाँच्नका लागि कतिपय बाबुआमाले आफ्नै छोराछोरी पनि बेचेका रहेछन्। डुम, चमार, दुसाध जातकाहरु पेट भर्न पाइने आशमा आफैं पनि मालिककहाँ आउने रहेछन्। कतिपयले अछुत भनेर किन्न अस्वीकार गर्ने हुँदा बेच्नुअघि तिनलाई कुर्मी, अहिर या कोइरी जातको हुँ भन्न लगाइँदो रहेछ।
०००
श्री ३ प्रधानमन्त्री चन्द्र शमशेरले वि.सं. १९८१ माघ १४ गते करिया प्रथा उन्मूलन गर्ने घोषणा गरे। तर उनलाई करियामोचन गर्न उप्रेरित गर्ने ब्यक्तिचाहिँ त्यो बेलाका सुब्बा राममणि आ.दी. रहेछन्। राममणि पुत्र केशवमणि आ.दी..द्वारा लिखित ‘तडपन या राममणिको आर्यत्व’ नामक कृतिमा राममणिले चन्द्र शमशेरलाई अनुरोध गरेको मिति (सन् १९२३ मार्च ४) र अनुरोध गर्दाका बखत बुझाएको करियाहरुबारेको विवरणको हस्तलिपि नै प्रकाशित छ।
०००
वि.सं. १९८१ माघ १४ गते टुडिखेलमा जम्मा गरिएका भाइभारदार, साहुमहाजनहरुसहितको सभामा करियामोचनको घोषणा गर्दा चन्द्र शमशेरले गरेको भाषणको खेस्रा तयार गर्ने व्यक्ति पनि सुब्बा राममणि नै रहेछन्।
सातगाउँका दनुवारहरुलाई लक्षित गरेर यति कडा लालमोहर जारी गर्ने उनले आफू र आफ्ना भाइभारदारहरुकहाँ भएका करियाहरुलाईचाहिँ मुक्त गर्न किन आवश्यक ठानेनन्? युद्धमा पराजित राज्यका कारिन्दा, सिपाहीहरुलाई दास बनाउन उनैले किन प्रोत्साहित गरे?
उनको खेस्राका आधारमा अङ्ग्रेजीप्रति तयार गर्ने काम केशर समशेर र बबर समसेरको निगरानीमा हरिबाबु नाममा त्रिचन्द्र कलेजमा पढाउने बङ्गाली प्रोफेसरले गरेका रहेछन्। त्यसको नेपाली अनुवाद उनै राममणिका काइला भाइ यज्ञमणिबाट भएको रहेछ।
०००
करियामोचनको श्रेय चन्द्र शमशेरले पाए पनि यो प्रयास गर्ने प्रधानमन्त्री उनी पहिलोचाहिँ होइन रहेछन्। वि.सं. १९५८ मा देव शमशेरले प्रधानमन्त्री भएलगत्तै यो घोषणा गर्दा कास्की लमजुङका करियाधनीहरुले ठूलै विद्रोह गरेका रहेछन्। त्यसलाई समेत निहुँ बनाई चन्द्रसहितका भाइहरुले देव शमशेरमाथि असक्षमको बात लगाएर धनकुटा लघारेका रहेछन्।
त्यसअघि वि.सं. १८९६ मा काजी रणजङ्ग पाण्डे र चौतारिया पुष्कर शाहको संयुक्त मुख्तियारीकालमा पनि करियामोचनको प्रयास गरेको इतिहास भेटियो। तर उनीहरुको कार्यकाल लामो नभएकाले यसले मूर्त रुप लिन नपाएको देखियो।
०००
दासप्रथा उन्मूलनको इतिहास खोतल्दा हामी विश्वमा बेलायतीहरुभन्दा अगाडि रहेको तथ्य पाइयो। बेलायतीहरुले सन् १८३४ अर्थात् वि.सं. १८९१ मा दास प्रथा उन्मूलन गरेका हुन्। नेपालका राजा पृथ्वीनारायण शाहले त्योभन्दा ६१ वर्षअघि अर्थात् वि.सं. १८३० मा गोरखा सातगाउँका दनुवारहरुका नाममा लालमोहर जारी गरी करिया राख्न निषेध गरेको प्रमाण भेटिएको छ।
‘….तिमीहरुले प्रजालाई धन् रीन् दिँदै दोबरियो तेबरियो भन्दै प्रजालाई छेकथुन गर्दै प्रजाका छोराछोरीलाई बाधा पनि लिन्छौ. सकस गरी तेलमोल गरी कमाराकमारी तुल्याउँदा रह्याछौ, तस्कारण प्रजाछेउ जस्जस् छेउ रीन दियाको छ त्यस रूपैयाँको व्याज कसैले लिनु पाउँदैन, साउ मात्र लेउ ब्याज लिनु छैन। थिचोमिचो गरी बाधा लिन्या तेल हाली ह्यामासी कमाराकमारी तुल्याउन्यालाई डंडाइ पाउला….’ उक्त लालमोहरमा उल्लेख छ।
तर आश्चर्यलाग्दो कुरा– सातगाउँका दनुवारहरुलाई लक्षित गरेर यति कडा लालमोहर जारी गर्ने उनले आफू र आफ्ना भाइभारदारहरुकहाँ भएका करियाहरुलाईचाहिँ मुक्त गर्न किन आवश्यक ठानेनन्? युद्धमा पराजित राज्यका कारिन्दा, सिपाहीहरुलाई दास बनाउन उनैले किन प्रोत्साहित गरे?
०००
आफूकहाँ भएका करिया मुक्त गरिदिएवापत् मूल्य लिन चाहने करियाधनीहरुलाई भुक्तानी दिनका लागि भनेर प्रधानमन्त्री चन्द्र शमशेरले पशुपतिनाथ मन्दिरको ढुकुटीबाट ३६ लाख ७० हजार रूपैयाँ निकालेका रहेछन् तर करिया मालिकहरुलाई भुक्तानी दिँदा जम्मा ५१ हजार सात सय ८२ रूपैयाँ मात्रै खर्च भएको रहेछ।
बाँकी रकम अनियमितता गरेको विषयमा ‘पयोनियर’ पत्रिकाले १९ अगष्ट १९२६ को अङ्कमा समाचार छापेको रहेछ। त्यो पाप प्रायश्चितका लागि उनले शिवपुराणको आयोजना गरी साङ्गेमा आफ्नो शरीरको तौल बराबर अर्थात् साढे सतसट्ठी सेर सुन तुलादान गरेका रहेछन्। पशुपतिनाथ मन्दिरको जिर्णोद्धार गराएछन्। भारतका रामेश्वरम्, काशी, मथुरा आदिका मन्दिरहरुमा पनि मनग्ये दान दिएका रहेछन्।
०००
करिया अमलेखको घोषणामा दाम लिन इच्छुकहरुलाई उचित दाम दिने भनिएको थियो। त्यसअनुसार १३ वर्षसम्मका दासको रू १५, दासीको रू २० अनि १४ देखि ४० वर्षको दासको रू ६५ र दासीको रू १०० मोल तोकियो। त्यस्तै ४० देखि ६० वर्षको दासको रू ३०, दासीको रू ५० अनि ६० वर्षभन्दा माथिका दासको रू ३१ र दासीको ४१ रूपियाँ मात्रै दिने घोषणा गरियो।
मालिकहरुको अत्याचार सहन नसकेर पूर्वीभेगबाट भागेका करियाहरुलाई गल्लावालाहरुले बाटोबाटै फकाइफुल्याई आफ्नो पञ्जामा पार्ने रहेछन्। राम्रो कमाइ हुने काम दिलाउने आश्वासन दिँदै, उनीहरुको खाने र बाटा खर्च समेत आफैंले ब्यहोर्दै पूर्वोत्तर भारतका कोइलाखानीमा लगेर बेचिदिने रहेछन्। भुटानमा बाटो खनिँदै गरेका ठाउँमा लगेर बेच्ने गरेको पनि पाइयो। एउटा नर्कबाट उम्केर हिँडेकाहरु झनै चर्को नारकीय जीवन बिताउन विवश बनेका रहेछन्।
त्यो दररेट प्रचलित मूल्यको आधा मात्रै थियो। यद्यपि भुक्तानी दिने बेलामा ऐनमा उल्लेख भएको आधा दाम पनि दिइएनछ। डोरमा खटिएका लप्टन, सुब्बाहरुले १४–१५ वर्षकालाई १२ वर्षमुनिको अनि ५० वर्ष हाराहारीकालाई ६० वर्षभन्दा माथिको हो भन्दै जिम्वाल, मुखियाहरुलाई दिउँसै डाँडिदिएका रहेछन्।
०००
मुक्त गरिएका करियाहरुलाई त्यो बेलाको भिक्षाखोरीमा लगेर बसाइएको कुरा धेरैलाई थाहा छ। काठमाडौंका नेवारी मूलका करियाहरुलाई चाहिँ थापाथली दरबारभन्दा पूर्व–दक्षिण तर्फको टुकुचा किनारमा बसोबास गराइएको रहेछ । करियाहरु बसेकाले त्यो ठाउँ कालान्तरमा कुरियागाउँ भनेर चिनिएको रहेछ। काठमाडौंमा भएका मधेसी मूलका करियाहरुलाई भने उनीहरुकै थातथलोमा लगेर यत्तिकै छाडिएको रहेछ।
०००
मालिकहरुको अत्याचार सहन नसकेर पूर्वीभेगबाट भागेका करियाहरुलाई गल्लावालाहरुले बाटोबाटै फकाइफुल्याई आफ्नो पञ्जामा पार्ने रहेछन्। राम्रो कमाइ हुने काम दिलाउने आश्वासन दिँदै, उनीहरुको खाने र बाटा खर्च समेत आफैंले ब्यहोर्दै पूर्वोत्तर भारतका कोइलाखानीमा लगेर बेचिदिने रहेछन्। भुटानमा बाटो खनिँदै गरेका ठाउँमा लगेर बेच्ने गरेको पनि पाइयो। एउटा नर्कबाट उम्केर हिँडेकाहरु झनै चर्को नारकीय जीवन बिताउन विवश बनेका रहेछन्।
यसबारेमा जानकारी पाएपछि चन्द्र शमशेरले कम्पनी सरकारलाई पत्राचार गरेर तिनलाई दासत्वबाट मुक्त गराएका रहेछन्। स्वदेश फिर्ता ल्याउन खोज्दा पहिलेका मालिकले फेरि दास बनाउन सक्ने भएका कारण आउन नमानेपछि चन्द्र शमशेरले वि.सं. १९७८ मा एउटा ऐन जारी गरेका रहेछन्। जसमा भागेको तीन वर्षपछि फर्केर मालिकको पैसा तिरेमा मुक्त हुनसक्ने तथा दस वर्षपछि फर्केमा स्वतः मुक्त हुने अर्थात् पूर्वमालिकले दास बनाउन नपाउने व्यवस्था गरिएको रहेछ।
०००
राणाहरुका दरबारमा धेरैजनाबाट भोग्या बनाइएका दासीहरुले बिदामा बाहिर निस्केका बेला आफूले चिनेका जोकोही पुरmषलाई देख्नासाथ ‘ऊ मेरो पोई’ भन्ने रहेछन्। त्यो बेलाको चलनअनुसार एउटा पतिबाट मात्र भोगिएकी स्त्री स्वास्नी, दुईजनाबाट भोगिएकी फुँडी हुने रहिछ। धेरैजनाबाट भोग्या बनाइएकीलाई रण्डी भन्दारहेछन्। त्यस्ता स्त्रीहरुले मरेपछि स्वर्ग जान पाउँदैनन्। तर उनीहरुले एक हजार जनाभन्दा बढीलाई आफूले पोई भने भने स्वर्गको बाटो छेकिन्न भन्ने विश्वास रहेछ।
०००
माथि उल्लेख गरिएका सन्दर्भहरु पछिल्लो लकडाउनका समयमा ‘करिया’ नामक उपन्यास लेख्ने सन्दर्भमा फेला परेका रोचक खालका केही सन्दर्भ हुन्। सय वर्षअघिको इतिहास खोतल्ने सिलसिलामा भेटिएका कतिपय घटनाहरुले यतिबेला मेरो माथिङ्गल साँच्चिकै रन्थन्याइरहेछन्।
गएको वर्षको चैत्रबाट कोरोना महामारीका कारण गृहबन्दी बन्नु परेपछि धेरैको दैनिकी खलबलियो। व्यापार व्यवसाय चौपट भयो। धेरैको रोजगारी गुम्यो। आर्थिक तनावका कारण मानसिक सन्तुलन खलबलियो। यही कारण यो अवधिमा दुई हजारभन्दा बढीले त आत्महत्या नै गरे। म आफैँ पनि बीचका केही महिना मानसिक तनावकै अवस्थाबाट गुजिैएँ।
तर मैले सुरुदेखि नै गृहबन्दीको अवस्थालाई सिर्जनात्मक बनाउने कोसिसमा लागेको थिएँ। सुरुको डेढ महिना झापाको सुरुङ्गामा बसेर त्यहाँ चारपटक प्रधानपञ्च निर्वाचित गणेशप्रसाद पोखरेलको संस्मरण ‘रैतीको इतिहास’ लेख्ने काम सम्पन्न गरेँ।
पृथ्वीनारायण शाहलाई चौदण्डी, विजयपुरसहितको किरात इलाका विजय गर्न अनुरोध गर्नका लागि चौदण्डी राज्यको माटो लिएर वि.सं. १८२९ मा भाइ (काकाका छोरा) त्रिलोचन पोखरेलसँगै नुवाकोट पुगेका, लडाइँका बेला सिपाहीहरुलाई बेतन बाँड्न भनी पटकपटक गरी ११ हजार ५१ रूपैयाँ उपलब्ध गराउने खार्पाली हरिनन्द पोखरेल र उनका वंशजहरुले पाएको कहरको इतिहास लेख्नु चानचुने काम थिएन।
मेरो व्यक्तिगत अनुभवमा देशकै सबैभन्दा चलाख मानिसहरु बसोबास भएको ठाउँ हो झापाको सुरुङ्गा। त्यसमाथि ०२८ सालभन्दा अघिदेखि चिनिएका कम्युनिष्ट–काङ्ग्रेसहरुको बसोबास भएको ठाउँ। त्यस्तो ठाउँमा चार–चारपटक प्रधानपञ्च जित्नु मामुली मानिसको बुताको कुरा हुँदै होइन।
रोचकचाहिँ के छ भने उनै गणेशप्रसादका छोरा राजेन्द्रप्रसाद पोखरेल हाल नेकपाका तर्फबाट त्यही ठाउँमा मेयर छन्।
लकडाउन खुकुलो भएको समयमा काठमाडौं आएर करियामोचनका बारेमा लेखिएका पुस्तकहरुको अध्ययन सुरु गरेँ। खासमा मलाई करियाहरुबारे ऐतिहासिक आख्यान लेख्ने हुटहुटी अग्रज स्रष्टा मदनमणि दीक्षितको मेरी माता नामक कृतिले दिएको थियो।
त्यसमा एक ठाउँमा लेखिएको छ– ‘म सानो छँदा पूर्व एक नम्बर घर भएका एकजना हवल्दार हाम्रो घरमा डेरा बस्थे। उनकी लक्ष्मा नामकी किशोरी छोरी भीम समसेरको टंगाल दरबारमा सुसारे थिई। ऊ पद्म शमशेर आदि गरिएकी राणाजीहरुकी उपभोग्या थिई।
एकपटक बिदामा बाबुआमा भेट्न आएका बेला मेरी माताले उसलाई आफ्ना पतिको कामवासना पूरा गरिदिन भन्नुभयो। तर उसले मानिन। त्यसपछि मेरी माताले रिसाएर उसका जगल्टामा समाती एक थप्पड लगाइदिनु भयो।….’
यो अंश पढेपछि निकै दिनसम्म मेरो माथिङ्गल रन्थनिएको थियो। एकेडमीद्वारा प्रकाशित ‘नेपालको इतिहासका विविधपक्ष’ पुस्तकभित्रको चित्तरञ्जन नेपालीद्वारा लिखित ‘करिया मोचनको इतिहास’ सन्दर्भ पढेर यसबारेमा आख्यान लेख्नका लागि प्रारम्भिक खाका बनाएको थिएँ । तर व्यवसायिक कार्यव्यस्तता र त्यसबीचमा आइलागेको पितृशोकका कारण थाती रहेको थियो।
‘रैतीको इतिहास’ टिपोट गराउने सिलसिलामा गणेशप्रसाद पोखरेलले बताएका करियाहरुबारेका रोचक घटनाहरु बताउनु भएपछि विस्मृतिमा पुग्न लागेको करिया विषयको आख्यान लेखनले कति पायो।
राममणि आ.दीको ‘पुराना सम्झना’, केशवमणि आ.दी.द्वारा लिखित ‘तडपन या राममणिको आर्यत्व’, ‘श्री ३ महाराज चन्द्र शमशेर जङ्ग बहादुर राणाको स्पीच’, त्यसै पुस्तकभित्रको डा. राजेश गौतमको ‘पुस्तक परिचय’ खण्ड पढेपछि मेरो लेखनले गति लियो।
केही काल्पनिक र केही वास्तविक पात्रहरुको संयोजन गर्दै उपन्यास लेख्न सुरु गरेँ। परिवेशका लागि तत्कालीन पूर्व दुई नम्बर रामेछापलाई रोजेँ। तर पात्रका संवादमा त्यो समयको बोलचाल भाषा उतार्न साँच्चिकै मुस्किल भयो। सुब्बा कृष्णलाल अधिकारीले जेलमा छँदा लेखेको भनिएको कृति ‘धर्मकुमारी शिक्षा’ र रोचक घिमिरेद्वारा सम्पादित ‘साम्बभक्त सुवेदी : सृजना र सम्झना’भित्र समेटिएका सुवेदीका रचनाहरु छिचोलेपछि त्यसको समाधान निस्कियो।
त्यो बेलाको आर्थिक सामाजिक स्थिति पर्गेल्न सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’, टुकराज मिश्रको उपन्यास ‘रिडी र राँची (हाँस्दै–रूँदै)’, राममणि आ.दी.को संस्मरण ‘प्राचीन संस्मरण’, बालकृष्ण समको आत्मकथा ‘मेरो कविताको आराधन’, केशवराज पिडालीको ‘एकादेशकी महारानी’, इतिहासकार पुरूषोत्तम समसेर जबराको ‘श्री ३ हरुको तथ्य वृत्तान्त’, प्रा.डा. माधवप्रसाद पोखरेल र डा. सुमन ढकालद्वारा सम्पादित ‘जनकलाल शर्माका संस्मरणहरु’, जगदीश घिमिरेको ‘सकस’, नारायण ढकालको ‘प्रेतकल्प’ आदिको सहारा लिएँ।
ऐतिहासिक उपन्यास भएकाले काल्पनिकतासँगै थुप्रै तथ्यहरु समेटिएका छन्। एउटा पनि गलत कुरा नपरोस् भनेर तात्कालीन नायब बडागुरmज्यू हेमराज पाण्डेका नाति प्रकाश ए. राज, वीर समसेरका वंशज महेश राणा, रामेछापका पूर्वसांसद देवशङ्कर पौडेल, साहित्यकार रोचक घिमिरे आदिको सहयोग लिएको छु।
अन्ततः उपन्यास तयार भयो। तर त्यतिबेला करियाहरुमाथि गरिएका अत्याचारका सन्दर्भहरु सम्झेपिच्छे मेरो मन बाउँडिएर आउँछ। तल्लोवर्गले भोगेका कहरका दृष्टान्त कतै न कतै लिपिबद्ध हुनुपर्छ भन्ने हुटहुटीले जन्माएको मेरो यो कृति कस्तो बन्यो म आफैँलाई थाहा छैन। यद्यपि आफ्नो बुताले भ्याएसम्म सक्दो न्याय गर्ने कोसिस गरेको छु। यद्यपि पाठकको प्रतिव्रिmया कस्तो आउला भन्ने कुराले यतिबेला मलाई साँच्चिकै बेचैन बनाइरहेछ।
Facebook Comment