विश्व टेनिस टुरको एकलतर्फ भारतका दहिया र बेल्जियमकी लाम्ब्रेच च्याम्पियन

डिसी नेपाल
२४ माघ २०७७ २१:२८

काठमाडौं । आईटीफ विश्व टेनिस टुर–जे ५ को पहिलो सर्किटअन्तर्गत भारतका दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेच च्याम्पियन बनेका छन् ।

ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा पुरुष एकलतर्फको फाइनल खेलमा भारतीय खेलाडी दहियाले स्पेनका तोमस क्युसदा पेरेजलाई ६–२ र ६–२ अङ्कले पराजित गरे । महिला एकलतर्फ भने बेल्जियमकी लाम्ब्रेचले आफनै देशकी रोमाने लोङग्युभिल्लेलाई ६–० र ६–३ अङ्कले हराइन् ।

नेपाल टेनिस सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा एकल तथा डबल्सतर्फ प्रतिस्पर्धा भएको थियो । महिला डबल्समा नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभा विजेता बनेका छन् । पुरुष डबल्सतर्फ भारतका आर्यन लक्ष्मनन् र आर्यन शाह च्याम्पियन भएका छन् । उक्त स्पर्धामा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी उपविजेतामै सिमित रहयो ।

विजेता खेलाडीलाई आयोजक नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मल्ललगायतले पुरस्कृत गरे । प्रतयोगिता छ दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा नेपाल, भारत, अमेरिका, क्यानाडा, स्पेन, फ्रान्स, बेल्जियम, फिनल्यान्ड र जर्मनीका गरी ६४ खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिताका निर्देशक अजय विष्टले जानकारी दिए ।

आइटीएफ विश्व टेनिस टुर–जे ५ अन्तर्गत सर्किट दुईका खेल सोमबारदेखि सञ्चालन हुने आयोजक सङ्घले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *