विदेश भ्रमणका लागि ४० वर्षमुनिका महिलालाई अनिवार्य वडाको सिफारिस
काठमाडौं। अब विदेश भ्रमण जाँदा ४० वर्षभन्दा मुनिका महिलालाई अनिवार्य वडाको सिफारिस चाहिने भएको छ। मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा भएकालाई उद्धार गर्न नसकिएको, औषधी उपचार नपाएर बिजोग भएको अवस्थालाई मध्यनजर गर्दै अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको हो।
विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भीसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव तीन दिनअघि गृह मन्त्रालयमा पठाएको छ। नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य हुनुपर्ने छ।
गृहको कानुन शाखामा आवश्यक छलफल भई कार्यविधि चाँडै लागू हुने विभागका सूचना अधिकारी टेकनारायण पौडेलले बताए। उनका अनुसार ४० वर्षमुनिका महिला एक्लै भ्रमणमा जाँदा वडा कार्यालय र परिवारको सहमति लिएर मात्र जानु पर्ने छ। कतिपय महिलाहरू परिवारको सहमतिबेगर पनि हिड्ने गरेकाले त्यसलाई कडाइ गर्न पारिवारिक सहमति खोजिएको पौडेलले बताए।
त्यसैगरी, विदेश जाने महिलाका लागि १५ लाखसम्मको निर्जीवन दुर्घटना बिमा अनिवार्य बनाउनुपर्ने छ। महिलाहरूको लागि भीसा, पासपोर्ट, टु वे टिकट, होटल बुकिङलगायत अनिवार्य थियो। तर, त्यसरी गएर उतै काम खोज्ने र नयाँ भीसा बनाएर काम गर्ने गरेको र उतै काम गरेर बस्दा कहाँ बस्ने, के गर्ने भन्ने सुनिश्चितता नभएर महिलाहरु अप्ठ्यारोमा परेका धेरै घटनाहरु भएको पौडेलले बताए।
उनका अनुसार त्यसरी काममा जाने महिलाहरू बेचबिखनको जोखिममा परेको, दुर्घटनामा परे उपचार नपाएको, समस्यामा पर्दा उद्धार गर्न नसकेको अवस्था रहेको बताए। उनीहरुलाई कम्तिमा पनि उद्धार गर्न सकियोस भनेर कार्यविधि अद्यावधिक गरिन लागिएको पौडेलको भनाइ छ।
Facebook Comment