प्रचण्ड–नेपाल समूहले सडकमा गएर मांसहारी आन्दोलन गर्न थाले–मन्त्री रायमाझी

डिसी नेपाल
१ फागुन २०७७ १५:४०

काठमाडौं। उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड–नेपाल समूहले सडकमा गएर मांसहारी आन्दोलन गर्न थालेको आरोप लगाएका छन्। दुई चोइटामा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले शनिबार लुम्बिनी प्रदेशमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै रायमाझीले यस्तो बताएका हुन्।

उनले प्रचण्ड नेपाल समूहलाई सडकमा गएर ढुंगा मुढा गर्दै मांसहारी आन्दोलन गर्न थालेको आरोप लगाए। उनीहरुसँग कुनै विचार सिद्धान्त नभएको र निश्चित पद र प्रतिष्ठाको लागि मात्रै उनीहरु सडकमा ढुंगा मुढा गरिरहेको उनको भनाई छ।

उनले भने “पार्टीमा सुरुदेखि नै आन्तरिक विरोध खडा गरियो। त्यो आन्तरिक विवाद पद प्रतिष्ठासँग मात्रै जोडिएको थियो। हामी सधैँ पार्टी एकताको पक्षमा छौँ। उहाँहरु सडकमा गएर सडक छाप हुनुभयो। साथीहरुले गुट उपगुट खडा गरेर सधैँ सरकारलाई काम गर्न दिनु भएन। पद र प्रतिष्ठाको लागि अवरोध सिर्जना गरी नै रहनुभयो।”

यस्तै मन्त्री रायमाझीले प्रचण्डले दुई दुई पटक प्रधानमन्त्री हुँदा पनि जनआन्दोलनका घाइते, बेपत्ता र बेपत्ता परिवारको राहतका लागि केही गर्न नसकेको बताए। उनले जनआन्दोलन र मधेस आन्दोलनको रक्षाको जिम्मेवारी प्रधानमन्त्री ओली नेतृत्वको सरकारले लिने प्रतिबद्धता ब्यक्त गरे।

प्रचण्ड नेपाल पक्षले व्यापक रुपमा झुटको खेती गरिरहेको आरोप लगाउँदै उनले ओली पक्षमा आउने नेता कार्यकर्ताको स‌ंख्या बढिरहेको बताए। केही दिन अघि काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका मन्त्रीहरु नै आफूतिर आउन लागेको बताएका थिए। त्यही अभिव्यक्तिलाई लक्षित गर्दै मन्त्री रायमाझीले उता होइन बरु यता आउने नेता कार्यकर्ताको लर्को लागिरहेको दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *