तीन वर्षका कामको फेहरिस्त लगाउँदै प्रधानमन्त्रीले भने- यो मोटामोटी मात्र हो

तर्कबहादुर थापा
३ फागुन २०७७ १५:०३

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व सम्हालेको १ हजार ९६ दिनको फेहरिस्त सुनाएका छन्। आफूले सरकारको नेतृत्व सम्हालेपछि सरकारले गरेका कामको विवरण सुनाउँदै अन्त्यमा भने, ‘यो पूर्ण विवरण होइन, यो मोटामोटी मात्र हो।’

२०७२ साल बैशाख १२ गते गएको भूकम्पबाट क्षति भएको देशको प्रमुख प्रशासकीय भवन पुनःनिर्माणपछि उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ३ वर्षको अवधिमा सरकारद्वारा सम्पादित कार्यहरुको बेलिबिस्तार लगाए। आफूले सरकारको नेतृत्व सम्हालेको दिन पारेर फागनु ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘नेकपाको शीर्ष तहमा रहेका केही नेताहरुको अतृप्त आकाङ्क्षा र कुण्ठाको बाछिटा ब्यवस्थापिककामा नपरोस भन्नेमा म हरदम सतर्क रहेकै हुँ।’

उनले वर्षदिन यता समयभन्दा पहिला निर्वाचन गर्न नपरोस भन्नका लागि पनि आफू अनेकौं लाञ्छना सहेर बसेको र परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको दाबी गरे। उनले भने, ‘आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री विरुद्ध फौजदारी अभियोग वितरण गरी पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सके विस्थापन गर्ने स्थितिलाई परिवर्तन गर्ने प्रयत्न मैले गत पुस ५ गते दिसँसो २ बजेसम्म नै जारी राखेँ।’

प्रतिनिधिसभा विघटन गर्नुअघि धेरै पटक सोचेको प्रधानमन्त्रीले बताएका छन्। बैकल्पिक सरकारको सम्भावना नरहेकाले पनि प्रतिनिधिसभा विघटन गर्नु परेको प्रधानमन्त्रीको भनाइ थियो। उनले भने, ‘फेरि केही वर्ष अघिको झैं जोडघटाउ र ६–८ महिनामा सरकार परिवर्तनको अनियन्त्रित शृङ्खला शुरु हुने निश्चित थियो।’

गत निर्वाचनमा जनतालाई स्थिर सरकारको बचन दिएको सम्झिँदै प्रधानमन्त्री ओलीले भने, ‘मैले जनतालाई दिएको बचन सम्झिएँ। अनि पहिला भएका विश्वास, अविस्वास, समिकरणका खेल सम्झिएँ, राष्ट्रप्रति जिम्मेवार हुँदै जनतालाई नयाँ जनमतको लागि अनुरोध गरेँ।’

निर्वाचनमा पराजित भएकाहरुले माथिमाथि जान खोज्नु, प्रधानमन्त्री बन्न खोज्नु प्रतिगम भएको भन्दै ओलीले लोकतन्त्रमा जनताको अभिमत लिन खोज्नु कसरी प्रतिगम भन्दै प्रतिप्रश्न गरेका थिए। तीन वर्षमा भएका कामहरु प्रधानमन्त्री ओलीले आफ्नो तीन वर्षे कार्यकालमा संविधान र संघीयताको कार्यान्वयन मख्य उपलब्धि भएको बताए।

उनले पहिलो वर्षको कार्यभारलाई राज्यको संरचनागत व्यवस्थापन र समृद्धिको आधारवर्ष मानेको पनि स्मरण गरे। पहिलो वर्षमा २५ कानून, ४ दर्जन बढी नियमावली, ३ दर्जन बढी निर्देशिका, कार्यविधि र मापदण्ड निर्माण भएको ओलीले जानकारी दिए। उनका अनुसार सरकारले दोस्रो वर्षमा थप ३० नयाँ कानून र तेस्रो वर्षमा थप ३४ कानून निर्माण भएका छन्।

समग्रमा सरकारले तीन वर्षमा ८९ नयाँ कानून निर्माण गरेको छ। सरकारले यस अवधिमा रानीपोखरी, धरहरा, निजी आवास, सरकारी निकायका भवन, सुरक्षा निकायका भवन, विद्यालय भवन, स्वास्थ्य संस्थाका भवन, दरवार हाईस्कूल, पुरातात्विक सम्पदाहरु, जोखिमयुक्र बस्तीको पुनर्निर्मामाण, भूमिहीनहरुलाई जग्गा खरिदको लागि अनुदान, सिंहदरवारको मोहोडा, बसन्तपुर दरबार क्षेत्र, बबरमहल, केशरमहल र काष्ठमण्डप निर्माण गरेको छ।

ओलीले ७२ जिल्लामा सडक कालोपत्रे भएको र ७२४ गाउँपालिकाको केन्द्रमा सडक पुगेको जानकारी दिए। तुईन विस्थापित, राप्ती सडकपुल, सुरुङमार्ग, र तीन वर्षको अवधिमा १ हजार ४ सय २३ झोलुङ्गेपुल निर्माण गरिएको जानकारी दिए।

उनले भने, ‘तथ्यले भन्छ प्रत्येक दिन कम्तीमा ५ किलोमिटर सडक कालोपत्रे भए, हरेकदिन १ भन्दा बढी झोलुङ्गेपुल बने, हरेक दोस्रोदिनमा कम्तिमा १ सडकपुल बने र हरेक तेस्रो दिनमा १ ग्रामिण सडकपुलको निर्माण भयो।’

प्रधानमन्त्री ओलीले सुशासनका लागि डिजिटल नेपाल, भ्रष्टाचारका छिद्र टाल्न र सेवाग्राही जनतालाई छरितो सेवा उपलब्ध गराउन डिजिटल प्लेटफर्मलाई सुदृढ गरिएको जानकारी दिए।

उनले हेलो सरकार, नेपाली पोर्ट, अनुगमन पोर्टल, पब्लिक एक्सेस मोडल, नागरिक एप्स, राष्ट्रिय परिचय पत्र, अनलाइन श्रम स्वीकृति प्रणाली, विद्युतीय भुक्तानी प्रणली र मानवस्तु अनुगमन प्रणाली लगायतका डिजिटल प्लेटफर्म बनाएको बताए। उनले आफ्नो कार्यकालमा विदेश नीति पनि सुध्रिएको दाबी गरे। उनले भने, ‘नेपालको नारा नै छ सबैसँग मित्रता, छैन कसैसँग शत्रुता।’

यस अवधिमा थप १२ मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए। कोरोना महामारीका कारण सगरमाथा संवाद सुरु हुन नसकेको पनि ओलीले जानकारी दिए।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्रीले भनेका भने, ‘बैशाख १७ गते ४ प्रदेशका ४० जिल्ला र २७ गते ३ प्रदेशका ३७ जिल्लामा निर्वाचन हुन्छ। म जोड दिएर भन्न चाहन्छु निर्वाचन हुन्छ। बैशाखमा हुने निर्वाचनबाट अस्थिरताको खेती गर्न चाहानेहरुको दाउपेच चकनाचुर हुनेछ।’

प्रधानमन्त्री ओलीले  सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *