११औँ पटकको अनसनमा रहेकी गंगामाया भन्छिन् : ‘खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ’
काठमाडौं। वीर अस्पतालको एउटा कोठा। सानो टेबुल छ। टेबुलमा गोरखाका नन्दप्रसाद अधिकारी र उनका छोरा कृष्णप्रसाद अधिकारीको तस्वीर छ। त्यही तस्वीरको अगाड हरेक विहान दीयो बल्छ।
आत्माको शान्तिको लागि, न्याय प्राप्तिका लागि। कोठाको भित्ताभरी मलाई न्याय खै भनेर लेखिएको छ। उनै बाबुछोराको तस्वीर छ। र नजिकैको बेडमा छिन् गंगामाया। गंगामाया मृतक कृष्णप्रसादकी ममतामयी आमा हुन्।
नन्दप्रसादकी जीवन संगिनी। तत्कालीन माओवादी जनयुद्धका बेला छोरा कृष्ण प्रसादलाई मारियो। बिना कसुर छोराको ज्यान गएपछि गंगामाया दम्पत्तिले आमरण अनसनको घोषणा गरे।
आजभन्दा १६ वर्ष पहिला गरिएको घोषणाकै कारण ६ वर्ष अघि नन्दप्रसादको अनसनकै क्रममा ज्यान गयो। उनको शव अहिले पनि काठमाडौंको महाराजगञ्ज स्थित शव गृहमा राखिएको छ। दिवंगत भएका छोराको न्यायका लागि वीर अस्पताको एउटा बेडमा गंगामायाको संघर्ष र अनसनरत आन्दोलन जारी छ।
छोरा छोरीको प्रगतिमा रमाउने उमेरमा गंगामाया छोरामाथि भएको अन्याएका विरुद्धमा लडिरहेकी छिन्। उनले छोराको न्यायका लागि आफूलाई समेत बलिदानी दिने सोच बनाइरहेकी छन्। ‘मेरो पनि मृत्यु न्याय माग्दा माग्दै हुन्छ जस्तो छ,’ नसुनिने स्वरमा उनले भनिन्। १६ वर्षदेखि छोराको न्यायका लागि अनसनमा बसेकी गंगामायाले ६ वर्षअघि श्रीमान पनि गुमाइन्।
‘छोराको हत्यारालाई कारवाही गर्न श्रीमान श्रीमती नै अनसनमा बसेका थियौं। उहाँले पनि छोडेर जानु भयो,’ गंगामायाका शब्दहरु अस्पष्ट त थिए नै त्यतिकै कारुणिक पनि। नेपालमा ‘न्याय नपाए गोरखा जानु’ भन्ने उखान प्रचलित छ। तर, गोरखा भुजेलकी गंगामाया न्यायको लागि १२औँ पटक र आज ५९औँ दिनको अनसनमा छिन्। वर्षको हिसाबले पनि विगत १६ वर्षदेखि उनी न्यायको लागि भौतारिएकी छिन्।
उनले आत्मा शान्तिका लागि बत्तिबाले पनि न्यायको बत्तिलाई सल्काउन सकिनन्। १६ वर्षसम्म धेरै सरकार फेरिए उनको जीवनशैली र दैनिकी फेरिएन। धेरै न्यायमूर्तिको पदमा हेरफेर भयो, उनको मुद्दामा हेरफेर भएन। उनको दैनिकी वीर अस्पतालको शैया नै बन्यो। २०६१ साल जेठ १४ गते चितवनको रत्ननगरमा कृष्णप्रसादको हत्या भएको थियो।
तत्कालीन माओवादीले हत्याको जिम्मा लिएको छ। २०७० चैत ३० गते छविलाल पौडेल, जानुका पौडेल, पर्शुराम पौडेल र भिष्मराज पौडेल बिरुद्ध चितवन जिल्ला अदातलमा किटानी जाहेरी दिइयो। उक्त मुद्दा बिचारधिन छ। सर्वोच्च अदालतले २०७२ पुष ६ गते मुख्य आरोपी छविलाल पौेडेललाई पुर्पक्षका लागी आदेश दिए पनि उनी पक्राउ परेका छैनन्।
‘न्याय पाउँछु कि भनेर यति धेरै वर्ष बिताएँ’, अस्पष्ट आवाजमा गंगामायाले भनिन्, ‘छोरा मारियो, श्रीमान पनि गुमाउनु परयो। अहिले एक्लै छु। केही पनि उपलब्धि भएन। मलाई पनि जिउँदो लाश बनाएका छन्। त्यो पनि बेवारिसे। मैले कानुनी राज्यमा छु भन्ने अनुभूति गर्न किहिले पाउने।’ छोरा र श्रीमानले न्याय पाएको दिन आफू कानुनी राज्यमा भएको अनुभूति हुने गंगामायाको बिचार छ।
‘सरकारले मानिसको जीवनको मूल्य सस्तो बनाएको छ।’ गंगामायाका यी शब्दहरु कानसम्म पुग्दै थिए। ‘म स्वास रहुन्जेल अनसनमै बस्छु। मेरो मृत्यु पनि अनसनमै होस्। मैले होरेकी छैन।’ सरकारले ११ पटकसम्म झुटो आश्वासन दिएको गंगामायाको बुझाइ छ। उनी आफ्ना श्रीमानको मृत्यु पनि सरकारको लापरवाहीका कारण भएको ठान्छिन्।
‘यो देशमा त मानवअधिकार पनि छैन झै लाग्छ।’ राजनीति संरक्षणमा मुद्दा फैसलामा ढिलाई भएको र पूर्वाग्रही ढंगबाट सरकारले दण्डहिनतालाई प्रश्रय दिइरहेको अधिकारीको बुझाई छ। ‘मुखमा अन्न नपरेको १० वर्ष भयो।’ गंगामायाले भनिन्, ‘खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ। मेरो जस्तो ठूलो चोट पीडा भोग्न र देख्न बाँकी अब केही छैन। छोराको हत्या भएपछि जीवनमा ठूलो बज्रपात भयो।’
‘अब मलाई कुनै आश्वासन चाहिदैन।’ आखामा आँशु लुकाउँदै गंगामायाले भनिन्, ‘अब कि मलाई न्याय चाहियो कि मृत्यु चाहियो। १२ औँ अनसनको अबधिमा नेपाल सरकारका गृह सचिव महेश्वर न्यौपाने ,काठमाडौँ जिल्ला प्रशासन प्रमुख कालीप्रसाद पराजुली, प्रहरी महानिरीक्षक शैलेश थापा । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगर सदस्यद्वय मिहिर ठाकुर र लिली थापा भेट्न आएका थिए।
Facebook Comment