प्रचण्ड-नेपाल समूहद्वारा प्रधानमन्त्री ओलीलाई कारबाही गरिएकोबारे संसद्‍ सचिवालयलाई जानकारी

डिसी नेपाल
२० फागुन २०७७ १८:२१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै हटाएकोबारे संसद् सचिवालयलाई जानकारी गराएको छ ।

बिहिबार प्रमुख सचेतक देव गुरुङसहित सुरेन्द्र पाण्डे, पम्फा भुसाललगायत नेताहरू सिंहदरबारस्थित संघीय संसद् सचिवालय पुगेर संसदीय दलका नेता ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएका हुन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयलाई पत्र पठाउँदै प्रधानमन्त्री ओली पार्टी सदस्य नै नरहेकाले संसदीय दलको नेताका रुपमा रहन नसक्ने भन्दै संसदीय दलको नेताका नाममा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेका छन् ।

पत्रमा प्रचण्डले  १९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको उल्लेख गरेका छन् । ‘उहाँ पार्टी सदस्य नै नरहनु भएको संसदीय दलको नेताका रुपमा रहन नसक्ने पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छु ।’ पत्रमा भनिएको छ, ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निश्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’

पार्टीका कुनै सदस्यलाई निश्कासनको कारबाही बोर्डको सिफारिसमा केन्द्रीय कमिटीले गर्नसक्ने संसदीय दलको विधानसमेत रहेका भन्दै पार्टी केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको पत्रमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *