सोल्टी टेलिभिजनको प्रत्यक्ष प्रसारण

डिसी नेपाल
२२ फागुन २०७७ ६:५८

यो सोल्टी टेलिभिजन हो। म उन्नति सुवेदी तपार्इँहरुका सामु उपस्थित भएकी छु। अब म तपाईँहरुलाई विशेष कार्यक्रम देखाउन पशुपतिक्षेत्रतिर लैजाँदैछ। हाम्रा सम्वाददाता प्रगति बस्नेतसँग सम्पर्क गर्दैछु।

हलो प्रगति! मलाई सुन्दै हुनुहुन्छ? प्रगति! प्रगति बस्नेत! मलाई सुन्दै हुनुहुन्छ?

सुन्दैछु उन्नति सुन्दैछु। क्यामेराम्यान किरण नेवा पनि साथै हुनुहुन्छ। म अब तपाईँलाई पशुपतिक्षेत्रमा माग्नेहरुको जीवन्त तस्विर देखाउँदैछु हेर्दै जानुहोला।

दाइ! तपाईँको नाऊँ?

मागेर हिँड्नेकाे नाऊँ किन चाहियो तपाईँलाई?

हेर्नास्, हामी तपाईँले भोग्नु भएको दुखपीडाको कथा सोल्टी टेलिभिजनमा देखाउन र सुनाउन चाहन्छौं। अहिले सोल्टी टेलिभिजन हेर्ने सबैले तपाईँलाई पनि देखिराछन्। आफ्नाे दुखपीडा नलुकाइकन भन्नोस्।

मेरो नाऊँ लक्ष्मीनाथ हो।

कति भो यसरी माग्न थाल्नु भाको? यो पुसको जाडोमा पनि फाटेको गंजीमा थरथर काम्दै माग्नु हुन्छ? खै त, अस्ति मारवाडीले लाउन दिएको त्यो ओभरकोट? दिएको त मैलै पनि देखेकीे हुँ।

त्यो कोट फापेन मलाई। कोट लाएर मागेको त कसैलै पनि मलाई पैसा दिएनन्। अस्ति आधा पेटमै चित्त बुझाएँ। हिजो मारवाडीले खै त कोट लाएको भनी सोध्दै थियो। मैले पनि भएको कुरा भनिदिएँ। कोट फिर्ता माग्यो। राति लाएर सुत्ता न्यानो भएको पाएँ, अनि फिर्ता दिइन्।

घर कहाँ हो र को को छन् त परिवारमा?

को हुनु? अहिले एक्लै छु। घर त मलेखुमा थियो, पहाड मुनिको घर, तीन वर्षअघिको बर्षाको पहिरोले पुरिहाल्यो। घरअगाडि दुई रोपनी जति बारी थियो त्यो पनि पहिरोले पुर्यो। धन्न बाँचियो बेलैमा पहिरो आएको थाहा पाएकाले। त्यै बारीमा तरकारीको खेती गरेर जोइपोइ गुजारा गर्दै थियौं। बारी पनि रहेन, बनीबुतो गरेर खाऊँ भन्दा पनि कतै पाइएन। भोकभोकै मर्नुभन्दा माँगेरै खानुपर्ला भनी जोइपोइ काठमाण्डू आएका थियौं।

खोई त तपाईँकी श्रीमती?

सुकुलगुण्डोले उडाईहाल्यो नि। उ र म सँगसँगै मागेर हिड्थ्यौं। यताका सुकुलगुण्डा त हुन्, तरुनीले मागेको देखेपछि जिस्क्इाइहाल्ने। कोही यस्ती राम्री तरुनीले पनि माग्ने भनेर नानाथरी हाउभाउ देखाउने, कोही पैसा दिएको निहुँमा यता र उती छाम्ने। केही नलागेर मैले भैगो तँ अब नमाग् भनी जयबागेश्वरीमा भाडामा लिएको छिडीमै थन्क्याएँ।

मलाई बिहानदेखि बेलुकासम्म माग्दै ठिक्क। मौका छोपेर एउटा सुकुलगुण्डो पल्किहाले छ, मेरी जाहान कहाँ आउन। छिमेकीले भन्दा पो थाहा पाएँ। सुकुलगुण्डोले, हेर, त्यो मगन्तेसँग बसेर के हुन्छ तिमीलाई? सबैले मगन्तेकी स्वास्नी भन्ने त हुन। म तिमीलाई राम्रो लाउन दिन्छु, मीठोमीठो खान दिन्छु, विश्वास गर राम्रोसँग पाल्छु भन्दै फकाउँदो रहेछ। फकिई पनि हालिछ। एक दिन डेरामा आउँदा उ त सुकुलगुण्डोसँग हिँडिसकी, भन्ने कुरा छिमेकीले भन्दा पो थाहा पाएंँ।

जाोइपोइ मिलेर सडकको पेटीमा भएपनि तरकारीको व्यापार गरौंला भन्ने सूर थियो, जम्मा पारेको त्यो एक लाख रुपैयाँसमेत लिएर भागी। मेरी जहानलाई कसैले फकाएर लग्दा तँ कति मागेर हिँड्छस, तँलाई म पालिहाल्छु नि भनेर मलाई पनि फकाउन अहिलेसम्म कुनै स्वास्नीमान्छे आएका छैनन्। यस्तै रहेछ हजुर, यहाँको चलन।

धन्यवाद लक्ष्मीनाथ दाइ! हामीसँग कुरा गर्नु भएकोमा।

उन्नति! अब म तपाईँलाई मागेर बसेकी एउटी अन्धी केटीलाई देखाउँदैछु।

बहिनी! तपाईँको नाऊँ?

सुलोचना।

कति भो तपाईँ अन्धी भएकी?

जन्मदैकी अन्धी।

यो माग्ने ठाउँमा कसले ल्याउछ त तपाईँलाई?

लोग्नेले।

तपाईंको लोग्ने के गर्नु हुन्छ त?

ट्वाके मोरो मेरै कमाई खाएर बस्छ।

कसरी भो त योसँग तपार्इँको बिहे?

कसरी हुनु? बाबाआमा गरिब भएपछि यस्तै हुँदोरैछ। हामी मरेपछि यो अन्धी छोरीले के गर्ली भनेर बाबाआमा सधैं पीर गरिरहनु हुन्थ्यो। एक दिन यो ट्वाके मोरो हाम्रो घरमा आयो र म सुलोचनालाई राम्रोसँग पाल्छु, लाउनखान पनि राम्रोसँग दिन्छु, कुनै दुःख दिनेछैन भनी बाबाआमालाई चिप्लो बोलीले फास्लाङ फुस्लुङ पारिहाल्यो।

बाबाआमाले पनि अन्धी छोरीलाई माया गर्ने कोही त निस्क्यो भनी मख्ख परेर मोरोको जिम्मा मलाई लगाई हाल्नुभयो। पछि पो थाहा पाएँ मोरो त भारतमा घुमेर देश खाई शेष भइसकेको रहेछ। अरुलाई भीक मगाउन कसरी सकिन्छ भनेर उतैबाट सिकेर आएको रहेछ।

मैले दिनको हजार रुपैयाँ कमाउन सकिन भनें रक्सीले मातेको मोरो मलाई जगल्ट्याउन थालिहाल्छ। थपनाकी सासु छोरोतिरै लाग्छिन्। बिहान एघार बजेतिर मोरो मेरो कमाई खोस्न आइहाल्छ। कमाई मेरै खान्छ, मैलाई आधापेट खान दिन्छ। मोटाइस भने कसले दिन्छ तँलाई पैसा भन्छ। पेटभरी खान त भीक माग्दा कुनै दयालुले दिए मात्र हो। यही हो मेरो कथाब्यथा।

धन्यवाद सुलोचना बहिनी।

सुन्नुभो त उन्नति! अन्धी सुलोचनाको पीडा। अब म तपाईँलाई एउटा मिर्गौला पीडित व्यक्ति कहाँ लैजादैछु।

दाइ! तापाईँको नाऊँ?

दौलतराम माझी।

कति भो थलिनु भएको?

सारै थलिएको चार वर्ष भयो।

कहाँ उपचार गराई रहनु भएको छ?

महाराजगंज शिक्षण अस्पतालमा हप्तामा तीनपल्ट डाइलेसिस गराइरहेकोछु।

कहाँबाट आउनु भयो?

सिन्धुलीबाट।

के भन्छन् त डाक्टरले?

मिर्गौला फेर्नुपर्छ भन्छन्।

कसरी फेर्नु हुन्छ त?

श्रीमतीले दिन्छु भनेकी छ।

किन नफेर्नु भएको त?

फेर्न पनि त पैसा चाहिन्छ रे। आफूसँग केही छैन्। भएको पनि सकिगो। इ क्या पशुपतिमा आएर बिलौना गर्दै भीक मागिरहेको छु। औषधि र डाक्टरको खर्च जोड्दा तीन लाख जति लाग्छ रे। माग्दा दिनको मुस्किलले चार सय जति होला।

पहिले त राम्रै पैसा हुन्थ्यो थियो, अब घट्तै गइराछ। त्यै चार सयमा खानु पनि पर्यो, बस्नु पनि पर्यो, मेरो औषधि किन्नै पर्यो, छोराछोरी छन् तिनको लुगाफाटो र पढाई पनि हेर्नै पर्यो। जोगिने कुरै भएन। अनि कहाँबाट तीन लाख पुर्याउनु र फेर्नु मिर्गौला? दिनका दिन थलिदैछु। म प्वाक्क मरेको दिन मेरी श्रीमती र छोराछोरीको बिल्लबाठ भैहाल्ने भो नि।

दौलतरामजी! तपाईँलाई सबैले सोल्टी टेलिभिजमा हेरिराछन् । धन्यवाद छ हामीसँग कुरा गर्नु भएकोमा।

दर्शकबृन्द! देखीहाल्नु भो माग्नेहरुको कथाब्यथा। देशले कहिलेसम्म माग्नेहरुको कथाब्यथा यसैगरी देखाई राख्ने हो, सुनाई राख्ने हो? भविष्यकै गर्भमा छ। अब म प्रगति बस्नेत तपाईँहरुलाई स्टुडियोतर्पm लैजादैँछु। प्रत्यक्ष प्रसारण हेरिदिनु भएकोमा, सुनिदिनु भएकोमा धन्यवाद।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *