संसद अधिवेशनः सभामुख सापकोटाले नेम्वाङसँग मागे सुझाव

डिसी नेपाल
२३ फागुन २०७७ १०:१४

काठमाडौं। पुनःस्थापित प्रतिनिधिसभाको सातौं अधिवेशन आइतबार शुरु हुँदैछ। सत्तारुढ दलको विवादका कारण यो अधिवेशन कसरी अगाडि बढ्छ भन्ने चासोको विषय बनिरहेका बेला सभामुख सापकोटाले पूर्वसभामुख सुवास नेम्वाङसँग परामर्श गरेका छन्।

संसद सचिवालयलाई आइतबार बैठकमा सबैभन्दा टाउको दुखाइएको विषय नेकपा संसदीय दलको नेता र प्रमुख सचेतक तथा सत्ता र प्रतिपक्षको विषय हुनेछ।

अहिले नेकपाका दुई संसदीय दलका नेता, दुई प्रमुख सचेतक र एक पक्ष सत्ता र अर्को पक्ष प्रतिपक्षीको भूमिकामा छ। तर, नेकपाको विभाजनलाई कानुनी मान्यता नपाएकाले कसरी मिलाउने भन्ने तनाव सचिवालयलाई परेको छ।

यसरी विषय पेचिलो बनेपछि सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका पूर्व सभामुख नेम्वाङसँग परामर्श गरेका हुन्। नेम्वाङलाई शनिबार साँझ सभामुख सापकोटाले फोन गरेका थिए।

नेम्वाङले डिसी नेपालसँग भने, ‘मसँग फोनमा कुरा भएको छ। मैले संविधान, नियम कानुनअनुसार चल्नुपर्ने सुझाव दिएको छु।’ आइतबारको बैठकमा खासै महत्वपूर्ण विषय अगाडि नबढ्ने संकेत आफूले पाएको उनले बताए।

यसैबीच बैठक बस्नुअघि बस्ने कार्य व्यवस्था समितिको बैठकमा यो समाचार तयार पार्दासम्म ओली समूहका प्रमुख सचेतक विशाल भट्टराईलाई निम्ता आएको छैन। डिसी नेपालसँग भट्टराईले भने, ‘अहिलेसम्म बैठकमा मलाई बोलाइएको छैन।’ उता सभामुख सापकोटाले भट्टराईलाई भेट्नसमेत नमानेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *