सर्वोच्चको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को अस्तित्वसमेत संकटमा

डिसी नेपाल
२३ फागुन २०७७ १६:५४

काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्वामित्व ऋषिराम कट्टेलसँग नै रहने फैसला गरेपछि अब अहिलेको सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीको अस्तित्व त खारेज भएको छ नै अन्य दुई पार्टीको अस्तित्व पनि संकटमा परेको छ । निर्वाचन आयोगमा दर्ता रहेका दुई पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अस्तत्व समेत संकटमा परेको छ ।

निर्वाचन आयोगले २०७५ जेठ २३ मा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डअध्यक्ष रहेको नेकपा दर्ता गर्ने क्रममा त्यसअघि रहेका दुई पार्टीहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को दर्ता खारेज गरेको थियो । यी दुई पार्टीको दर्ता खारेज भएपछि यी दुवै नामबाट नयाँ पार्टी दर्ता भएका छन् । अब यी नयाँ दर्ता भएका पार्टीको अस्तित्व के हुने भन्ने अर्को संकटको स्थिति आएको छ ।

निर्वाचन आयोगको रेकर्डअनुसार आयोगमा २०७६ भदौ १५ मा दल दर्ता नम्बर १५३ मा नेकपा (माओवादी केन्द्र) दर्ता भएको छ । यस्तै आयोगमा २०७७ साउन २० मा (नेकपा एमाले) दर्ता भएको छ । नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता भएको पछिल्लो दल हो । तर, निर्वाचन आयोगले एकीकरणपछि बनेको नेकपाको दर्ता बदर गरी पुरानै एमाले र माओवादी केन्द्रको अवस्थामा फर्काइदिएपछि यी दुई दलको अस्तित्व संकटमा परेको छ ।

सर्वोच्चको आजको फैसलालाई आधार मान्ने हो भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पुरानो दर्ता कायम रहन्छ । यस्तोमा यी दुई दलको पुरानो दर्ता खारेज गर्ने निर्वाचन आयोगको निर्णय बदर हुन्छ । त्यस्तो हुँदा दर्ता भएका नयाँ एमाले र माओवादीको दर्ता अवैधानिक ठहर्छ । तर, यी दुई दल दर्ता हुने बेला यही नामका दल दर्ता नभएकोले उनीहरुले यसविरुद्ध कानुनी उपचार खोज्न सक्छन् । यस्तो भएमा यो गाँठो पनि सर्वोच्च अदालतले फुकाउनुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *