एमाले र माओवादी ब्युँतिने फैसलाले ओली समूह खुशी, प्रचण्ड-माधव तनावमा

डिसी नेपाल
२४ फागुन २०७७ ९:१८

काठमाडौं। सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणपछि नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दर्ता खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि ओली समूहमा खुशीयाली आएको छ भने प्रचण्ड माधव समूह तनावमा परेको छ।

सर्वोच्चको फैसला लगत्तै ओली समूहको संसदीय दलको बैठक बस्यो। बैठकमा प्रधानमन्त्री तथा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको फैसलाको स्वागत गर्दै अब तत्कालिन एमाले केन्द्रीय कमिटीको बैठक बोलाउने बताएर आफ्नो खुशी जाहेर गरे।

उता प्रचण्ड माधव समूहले सर्वोच्चको फैसलापछि तत्काल कानुन व्यवसायीसँग छलफल गर्यो र अदालतको फैसला राजनीतिक र अनपेक्षित रहेको प्रतिक्रिया दियो। सो समूहले सोमबार आफ्नो समूहको स्थायी कमिटीको बैठक बोलाएको छ। सो समूह सर्वोच्चको फैसलामाथि पुनःविचार गराउन निवेदन दिने तयारीमा छ।

सर्वोच्चको फैसलापछि प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठले दिएका प्रतिक्रियाले पनि सो समूह तनावमा परेको पुष्टि हुन्छ। सो समूहका नेताहरुले अदालतको फैसलालाई राजनीतिक फैसला भनी टिप्पणी गरेका छन्।

तर, ओली समूहका नेताहरु भने खुशी भएका छन्। आइतबार साँझ देशभर सो समूहका नेता कार्यकर्ताले दीपावलीसमेत गरेका छन्। अदालतको फैसलासँगै ओली नेतृत्वको सरकार अलपमतमा परे पनि तत्कालिन एमालेमा ओली समूह निकै मजबुत रहेकाले ओली समूह खुशी भएको हो।

तर, फैसलापछि प्रचण्ड तत्कालिन माओवादी केन्द्रको अध्यक्ष बन्ने र माधव नेपाल ओलीसँगै एमालेमा फर्किनुपर्ने अवस्था आएकाले प्रचण्ड र माधव नेपालको सहकार्यसमेत संकटमा पर्ने भएपछि यो समूह तनामा परेको हो। त्यसमाथि ओलीले नेता नेपाललगायतलाई कारबाही गर्ने सम्भावना पनि बलियो रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *